राजनीति


एमाले मुख्यालयबाट ओलीको प्रश्न : सुन तस्करी यो सरकारले नगराए अर्को कसले गरायो?

एमाले मुख्यालयबाट ओलीको प्रश्न : सुन तस्करी यो सरकारले नगराए अर्को कसले गरायो?

नेपालखबर
भदौ ४, २०८० सोमबार १९:१४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताएका छन्। 

एमाले मुख्यालयमा छक्कबहादुर लामालाई केन्द्रीय सदस्यको सपथ खुवाएपछि ओलीले यस्तो बताएका हुन्। 

‘यो सुन तस्करी वर्तमान सरकारले नगराएको भए कसले गरायो?,’ ओलीले प्रश्न गरे, ‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ। तपाईंको बुलाकी, ढुङग्री, मुन्द्री जाँच गर्छ। के त्यसमा किलोकिलो सुन हालेको हुन्छ? अनि एउटा आइटममा क्वीटल सुन आउँदा सजिलै पास हुन्छ, के–हो त्यो?’

यो सरकारका पालामै तीन हजार भन्दी बढी केजी सुन तस्करी भएको भन्दै त्यो कसरी सम्भव हुन्छ? भनेर सोधे।

‘त्यसका पछि को–छ? यहाँ सत्ता संरक्षित अन्तराष्ट्रिय गिरोह छ,’ ओलीले भने, ‘त्यही भएर हामीले निष्पक्ष छानबिन गर्न आयोग बनाऔँ भनेको हो। त्यही कुरा पर्दाफास होला भनेर सरकार मानेको छैन।’  

ओलीले एमालेलाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गरेको आरोप लगाए।

‘के सुन खानेहरुलाई डेमोक्रेसीको मतलब छ? तस्करहरुलाई डेमोक्रेसीको मतलब छ? हामीलाई छैन? यस्तो पनि हुन्छ,’ ओलीले भने, ‘तर, उनीहरु त्यस्तै कुरा गरिहेका छन्।  हामी देशलाई समृद्धिको दिशा अघि बढाउन खोजिरहेका छौँ।’ 

ओलीले अहिलेको सरकारलाई अनौठो सरकारको संज्ञा दिए। 

‘एउटा बाटोबाट एउटा आइटम देखाएर ल्याएको मात्रै एक क्वीन्टल सुन हुने रहेछ। विमानस्थल त ल्याउनै नसकिने ठाउँ हो नि? ब्रेक सु भनेर पनि ल्याएकै छ। सिग्रेट भनेर पनि ल्याएको छ,’ ओलीले भने, ‘जेमा पनि सुन ल्याएको छ। अनि अब सबैका फाइल खोलिन्छ भनेर त्यही सरकार हल्ला चलाउँछ।’ 

उनले माओवादीलाई एउटा डफ्फाको संज्ञा दिए।  ‘माओवादीको एउटा डफ्फा छ। त्यो डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो,’ उनले भने, ‘बदमासी काम गर्ने अनि हल्ला अर्कोतिर चलाइदिने। नेपालीहरु भनेका सोझो जातका छन्। हल्लाका पछि कुद्छन्। उनीहरुका मान्छेले प्रायोजित हल्ला चलाउँछन्।’ 

अहिले नेकपा (एमाले)ले संसद चल्न दिएन भनेर हल्ला चलाउने काम समेत माओवादीले गरेको भन्दै ओलीले असन्तुष्टि जनाए। 

‘हामीले त यो तस्करी रोक्नु पर्यो भनेको हो। विमानस्थलबाट त सियो पनि छिर्न सक्दैन। त्यस्तो ठाउँबाट क्वीन्टलका क्वीन्टल सुन कसरी छिरेर आउँछ? १ सय केजी सुन समातियो भनेको तपाईँ हामी सबैले सुन्यौँ नि,’ उनले भने, ‘अहिले त ६० केजीमा झरिसक्यो। २ सय डिग्री सेल्सियसमा पग्लिने सुन के त्यसै पग्लिएर सकियो त? देश लुट्ने काम भैरहेको छ।’  

ओलीले तस्करीमा कुरा नमिलेपछि बेलाबखत वर्तमान सरकारले सुन समात्ने गरेको बताए।

‘कहिले-कहिले केही नमिल्दा टक्रक्क समातिएको सुनको परिणाम त त्यत्रो छ भने कति सुन तस्करी भैरहेको होला?,’ उनले भने, ‘हामीले यस्तो अवस्थामा तस्करी रोकौँ, भ्रष्टाचार रोकौँ छानविन समिति बनाऔँ भन्दा सरकार छानविन समिति बनाउन तयार छैन।’ 

उनले आफूले भनेको निर्देशन मान्ने पुलिस राखेर छानबिन गर्ने षडयन्त्र सरकारले गरेको पनि आरोप लगाए। 

‘आफूले जे निर्देशन दियो त्यही मान्ने पुलिस राख्नुपर्ने, ती पुलिसले अलिकति मानेन् भने सरुवा गर्नुपर्ने, आफूले भनेको–भनेको पुलिस राख्नुपर्ने । यसरी कसरी छानविन हुन्छ?,’ उनले प्रश्न गरे, ‘एसपीको नेतृत्वमा छानविन समिति बनाएको छ। त्यसलाई त एसएसपीले यसो–यसो गर भनेर निर्देशन दिएपछि मानिहाल्छ नि?’ 

एमाले संसद चलाऔं, संसदमा राम्रो कामको छलफल होस् भन्ने पक्षमा रहेको भन्दै त्यो सम्भव नभएको बताए। 

‘संसद माओवादीको झुट, बेइमानी, फट्याइँका कारण अवरुद्ध भइरहेको छ। संसद माओवादीको बकवास गर्ने थलो भएको छ,’ उनले भने, ‘नचाहिने कुरा गर्ने थलो बनाएका छन्। संसद भनेको जनताको कुरा सुन्ने ठाउँ हो। देशका समस्या के छन्? देशको विकास कसरी गर्न सकिन्छ? भनेर छलफल गर्ने थलो हो संसद्।  त्यहाँ भलाद्मी जनप्रतिनिधि होइन अर्कै प्रकारका भेला भएको जस्तो देखिन्छ। तिनको शैली र व्यवहारले संसदलाई नै प्रदूषित बनाएको छ।’ 

संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै नदिएको पनि उनले बताए। ‘भ्रष्टाचारी, सुनतस्करीका बारेमा बोल्नै दिदैँन। साढे ९ केजी सुन गायव भएकोबारे बोल्नै दिँदैन। क्वीन्टल सुन ६१ किलोमा कसिरी झर्यो त्यो भन्दै दिदैँन,’ ओलीले भने, ‘यस्तो संसद सायद दुनियाँमा कतै छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .