ad ad

राजनीति


चुनाव सकिएको नौ महिनापछि नै ‘मिसन ०८४’ मा किन जुटे यी दल

मध्यावधि निर्वाचनको तयारी हो?
चुनाव सकिएको नौ महिनापछि नै ‘मिसन ०८४’ मा किन जुटे यी दल

फाइल तस्बिर


सागर न्यौपाने
भदौ १८, २०८० सोमबार २१:१५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत असारमै आगामी चुनावको तयारी थालेको घोषणा गरे।

‘मिसन ०८४ भनेको एमालेको एकल बहुमतको अवस्था हो, आजैदेखि, सबेरैबाट हामीले त्यसको तयारी सुरु गर्नुपर्छ,’ ओलीले असार अन्तिम साता पार्टीको एक कार्यक्रममा भनेका थिए, ‘अन्तिमतिर चुनावको बेला दुईचार वटा ब्यानर बोकेर मात्रै हुँदैन। चुनावको बेला बाटाबाटा हिँड्ने, अनि यसो झ्यालतिर हेर्ने ल है, दिदीभाइ, दाइ, नमस्ते भोट दिनुस् भनेर हुन्छ?’

त्यसयता उनले विभिन्न कार्यक्रममा बुढ्यौलीका बाबजुद आफू जोस नघटनाई काममा खट्ने बताउँदै आएका छन्।

‘घट्ने होइन अब बढ्दै जान्छ यो, यो मिसन ०८४ हो। रातदिन हामी काममा खट्छौं। मभन्दा धेरै पाका साथीहरु खटिरहनुभएको छ,’ उनले भनेका छन्। 

चुनावलगत्तै नै मिसन ग्रासरुट थालेको एमालेले केन्द्रीय सदस्यहरुलाई जिल्ला र पालिकामा समेत खटाएको छ। 

एमालेले ५ फागुनदेखि वैशाख पहिलो हप्तासम्म ग्रासरुट अभियान चलाएको थियो।

त्यो अभियान सकेलगत्तै केन्द्रीय सदस्यसम्मका नेताहरुलाई अन्तरजिल्लाका विभिन्न पालिकामा इन्चार्ज बनाएर खटाएको छ।

सदस्यता नवीकरण, सदस्यता वितरण र संगठन सुदृढीकरण गर्दै आगामी चुनावमा स्थिति बलियो बनाउने गरी एमाले पंक्ति खटिएको छ।

एमाले मात्र होइन, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शनिबार (१६ भदौ) एक कार्यक्रम गरेर तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ। 

सत्ता साझेदार नेपाली कांग्रेसले असोजदेखि समुदायमा कांग्रेस अभियान सुरु गर्ने तयारी गरेको छ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) पनि ‘मिसन ०८४’ भन्दै संगठन विस्तार र नयाँ सदस्यता वितरणलाई तीव्रता दिएको छ। 

स्थानीय तहको चुनाव भएको १५ महिना र प्रदेश तथा प्रतिनिधि सभा चुनाव भएको ९ महिना बित्दा दलहरु आउँदो चुनावमा केन्द्रित भइसकेका छन्। 

संसदीय राजनीतिमा लामो अनुभव बोकेका एमाले, कांग्रेस र माओवादीले २०७९ को चुनावमा ठूलो धक्का खाएका थिए। उनीहरुले क्षति व्यहोर्दा अप्रत्यासित रुपमा नयाँ दल संसदीय राजनीतिमा उदाएका छन्। 

यहीकारण खतरा महसुस गरेका तीन वटै पुराना दलहरु चार वर्षपछि (२०८४) मा हुने चुनावको तयारीमा जोडतोडले लागिसकेका छन्। 

यसअघि चुनाव नजिकै आइसकेपछि मात्र दलहरु तात्ने गर्थे। यो पटक भने तिनले चुनाव आउनुभन्दा ४ वर्षअघिदेखि नै चुनावकेन्द्रित कार्यक्रम अघि सारेका छन्। 

माओवादी केन्द्रले जनतासँग जोडिन भन्दै ३ महिने अभियान सुरु गरेको छ। अभियानमा सबै केन्द्रीय सदस्यलाई अन्तरजिल्लामा खटाएको छ। 

‘जनजनमा माओवादी, मनमनमा माओवादी’ नारासहित हरेक गाउँबस्ती र जनताको घरघर पुग्ने लक्ष्यसहित माओवादीले यो अभियान थालेको हो। माओवादीले जनताका समस्या समाधान गर्न टोल टोलमा खटिन सकुर्लर नै पठाएको छ।

‘जुन स्थानमा जे समस्या छ, त्यही काम नेताहरुले जनपरिचालनसहित गर्ने हो,’ माओवादीको सकुर्लरमा उल्लेख छ। 

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्नेगरी ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान चलाएको बताए। 

सरकारमा रहँदा सुशासनको पक्षमा गरेका कामले जनताको विश्वास जितेको माओवादीको दाबी छ। यही दाबीसहित माओवादी अभियानमा जुटेको हो।

‘एकथरी मान्छेहरु यो सरकार, गठबन्धनसँग र मुख्यतः प्रधानमन्त्रीसँग अत्तालिएका छन्,’ १६ भदौमा काठमाडौंको चन्द्रागिरि–२ घट्टेडाँडामा जनतासँग अभियान उद्घाटन गर्दै प्रचण्डले भने, ‘यो अभियानले माओवादी फेरि ६४ तिर फर्किने भयो। ०८४ मा पुग्दा देशको शक्तिशाली पार्टी हुने भयो भनेर अरु आतंकित छन्।’ 

माओवादीले तीन महिने अभियानमा सबै जनताका घरघर पुग्ने लक्ष्य राखेको छ।

प्रचण्डले चुनावकै बेलाजस्तै मत माग्न पनि नेता कार्यकर्तालाई चन्द्रागिरिमा निर्देशन दिए।

‘नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्न सक्छ। माओवादीकै नेतृत्वमा समृद्ध नेपाल सम्भव छ’, उनले भने, ‘जनतासँग भन्न सक्नुपर्छ– हाम्रा गल्ती कमजोरीमा आत्मालोचित हुन चाहन्छौँ। सुध्रिन चाहन्छौँ। त्यसका लागि अभियानसहित तपाईंहरूको घरदैलोमा छौँ।’

कांग्रेसले असोज १५ देखि लोकप्रिय कार्यक्रम बनाएर जनताको घरदैलो पुग्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालखबरलाई जानकारी दिए। जनतालाई कांग्रेससँग जोड्ने प्रयास रहेको उनको भनाइ छ। 

‘संगठन सुदृढीकरणका लागि इन्डोर कार्यक्रम गर्ने, प्रशिक्षण, संगठन विस्तार र सदस्यता अभियान चलाउँछौँ,’ विश्वकर्माले भने, ‘आगामी असोज १५ गतेदखि समुदायमा कांग्रेस अभियान सुरु गर्छौँ।’

‘यो जनतामा पुग्ने माध्यम भयो। समुदायमा कांग्रेसमा संगठनका कामभन्दा जनताको सेवामा खटिन्छौँ, जनताको घर– घर पुगेर घर बनाइदिन सघाउँछौँ, बाढीले बगाएको, पहिरोले क्षति गरेको भए घर बनाउन सहयोग गर्छाैँ। कोही बिरामी भए अस्पताल लैजान्छौँ। यसका लागि हामी कांग्रेसको स्थानीय तहको पार्टी कमिटी र केन्द्रीय प्रतिनिधिसहित खटिन्छौँ।’

उनका अनुसार देशभरका ७५३ स्थानीय तह र ६७४३ वडासम्म केन्द्रीय नेतालाई परिचालन गर्ने योजना छ। 

‘हामी अहिलेदेखि नै जनतामा जान्छौँ, तर अरु जस्तो मिसन या अभियान घोषणा गर्दैनौँ, जनताका समस्या समाधान गर्दै उनीहरुसँग जोडिएर जान्छौँ। हाम्रा लागि जनताको काम नै मिसन हो,’ उनले थपे।

त्यसो त कांग्रेस नेता शेखर कोइराला देशव्यापी अभियानमै छन्, जो पार्टीलाई ०८४ को चुनाव जिताउने मात्रै होइन त्यसअघि नै कांग्रेसको सभापति बन्ने लक्ष्य राखेर दौडाहामा छन्। त्यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि चुनाव लक्षित अभियानमै छन्। 

कांग्रेसले आगामी चुनावको तयारीका लागि सरकार र पार्टी दुवैबाट काम गर्ने योजना बनाएको छ। मास बेस्ड पार्टी भनेर चिनिने कांग्रेसले सरकारको मुख्य साझेदार रहेकै बेला जनतातिर फर्कने योजना बनाएको हो। 

प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘तलबाट जनताको समस्या हाम्रो पार्टीले हल गर्न सके त्यहीँ गर्छाैँ, नसक्ने समस्या समाधानका लागि सरकारलाई भन्छौँ, सरकारलाई जनमुखी, निष्पक्ष र पारदर्शी बनाउन सके कांग्रेसको चुनाव तयारी त्यही हुन्छ।’

गत चुनावमा अनपेक्षित रुपमा २१ सिट जितेको रास्वपा पनि सदस्यता वितरण गर्दै संगठन बढाउन खटिएको छ।

रास्वपाले देशव्यापी संगठन विस्तार गरिरहेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

‘अहिले हामी ०८४ को चुनावमा केन्द्रित छौँ,’ अर्यालले नेपालखबरसँग भने, ‘त्यसकै लागि देशव्यापी अभियान जारी छ।’

रास्वपाले वडातहसम्म पुग्ने लक्ष्य लिएर २५० बढी स्थानीय तहमा पालिका भेला सकाएको संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 

उनका अनुसार कर्णालीबाहेक ६ वटै प्रदेशमा प्रशिक्षण सकिएको छ।

‘हाम्रो चुनाव मिसन ०८४ हो, त्यसकै लागि संगठन विस्तार र पार्टी निर्माणमा लागेका छौँ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘एकचरण पार्टी निर्माण सकेपछि चुनावी अभियान थाल्छौँ।’

०८४ को चुनावको लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि तयारी गरिरहेको छ। 

उक्त दलले आफ्ना जनप्रतिनिधिले कस्तो काम गरेका छन् भनेर परीक्षण पनि गरिरहेको छ। जनसंगठन र नयाँ सदस्यता थपेर मधेशमा पहिलो दल हुने लक्ष्यसहित फिल्डमा खटिएको जनमत अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले बताए। 

यसरी दलहरु चुनाव आउन वर्षौँ बाँकी रहँदै किन चुनावी कार्यक्रममा होमिए त?

प्रमुख पार्टीका केही नेता र राजनीतिक विश्लेषकहरू के ठान्छन् भने कुनै पनि पार्टीको बहुमत नरहेको अस्थिर राजनीतिक अवस्थामा पार्टीरू सधैं चुनावका लागि तयार भएर बस्नुपर्छ। यसो भनिरहँदा उनीहरू गठबन्धन सरकारहरू असफल हुँदै गए भने कुनै पनि बेला मध्यावधी निर्वाचन हुन सक्ने संकेत गर्छन्।

अहिले ‘मिसन ०८४’ भनिए पनि प्रमुख पार्टीहरूको तयारी हेर्दा त्यसअघि नै मध्यावधी निर्वाचन भएको अवस्थाका लागि पनि उनीहरू तयार हुँदै गरेका देखिन्छन्। 

राजनीतिशास्त्री प्रा. कृष्ण खनाल भने अहिलेका पार्टीहरुको अवस्था विश्लेषण गर्नै नसक्ने रहेको बताउँछन्।

‘यी पार्टीहरुले कहाँ के गरिरहेका छन् यसै भन्न गाह्रो छ,’ उनले भने, ‘उनीहरुको तयारी हेर्दा प्रोपोगान्डा जस्तो मात्रै देखिन्छ। वास्तविकता अहिले नै भन्न हतार हुन्छ।’

नेताहरु भने आउँदो चुनावमा दलहरुमाथि आउनसक्ने संकटलाई हेरेर तयारी थालिएको संकेत गर्छन्।

स्थानीय तहको चुनावमार्फत उदाएका हर्क साम्पाङ र बालेन्द्र शाह तथा प्रतिनिधि सभामा जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतका कारण पनि आफ्नो अस्तित्व जोगाउन पुराना संसदवादी दलहरु जनतातिर फर्किन थालेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .