राजनीति


सभामुख सापकोटा : सन्तुलनका पाँच सूत्र

सभामुख सापकोटा : सन्तुलनका पाँच सूत्र

सागर न्यौपाने
माघ १२, २०७६ आइतबार १२:२६,

सत्तारुढ नेकपाभित्रै डेढ महिनादेखिको रस्साकस्सीपछि मुलुकको पाँचौँ वरियताको संवैधानिक पद सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।

एक्ला उम्मेदवार सापकोटा आइतबारको चुनावी प्रक्रियाबाट निर्विरोध निर्वाचित भए। उनले माघ १४ गते मंगलबार संसद बैठकको पहिलो अध्यक्षता गर्नेछन्।

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेपछि माघ ७ गते नै सापकोटा निर्विरोध निर्वाचित हुने निश्चित भएको थियो।

सभामुख चयनको प्रक्रिया सुरु गर्न पुस ४ गतेदेखि बोलाइएको संसद् बैठक नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा झण्डै एक महिनासम्म पटकपटक सूचना टाँस गरेर स्थगित गरिएको थियो।

सापकोटाका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले मिहिनेती शिक्षकका रुपमा क्रियाशील सापकोटाले संसदलाई राम्ररी सञ्चालन गर्ने सम्भावना देखेर नेकपाले उनलाई अघि सारेको बताए।

संवैधानिक प्रावधान अनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएकोले नेकपाले सभामुख लिएर उपसभामुख छोडेको हो। उपसभामुखमा चासो देखाइरहेको कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन र उनलाई सर्वसम्मत सभामुख बन्ने सौभाग्य प्राप्त भयो।

त्यसो त उनले सभामुख बन्न अनेक बाधा पन्छाउनुपर्‍यो। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुँदा सापकोटा सभामुख बन्लान् कि नबन्लान भन्ने दुविधा माघ ५ गतेसम्म कायमै थियो। ओली र प्रचण्डबीच सहमति भएपछि उनका लागि सभामुखको बाटो खुलेको थियो।

तर, सर्वाेच्च अदालतमा विचाराधीन द्वन्द्वकालीन मुद्दा पनि उनको बाधक बन्न सक्थ्यो। त्यसमाथि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ १० गते दायर गरेको रिट निवेदनले उनको बाटो छेक्नसक्ने आशंका पनि गरिएको थियो। तर, सापकोटाको मुद्दाको सुनुवाइका लागि इजलास तोकिएका न्यायाधीस हरिप्रसाद फुयालले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि आइतबार सापकोटालाई सभामुख कुनै बाधा परेन।

निर्वाचित भएलगत्तै सभामुख सापकोटाले सभामुखका रुपमा तटस्थ र सन्तुलित भूमिका निर्वाह गर्ने बताए। यसअघिका सभामुख कृष्णबहादुर महराले संसदमा तटस्थता कायम राख्न नसकेको आरोप खेपेका थिए। यस्तो अवस्थामा सदनको नेतृत्व गर्ने पदभार लिएका सापकोटाका अघिल्तिर थुप्रै चुनौती छन्। उनले संसदमा सन्तुलन कायम राख्न यी विषयलाई ख्याल गर्नुपर्ने देखिन्छः

पारदर्शिता र जवाफदेहिता
पूर्वसभामुख सुवास नेम्वाङले पारदर्शिता र जेवाफदेहिता स्थापित गर्न योग्य भएकै कारण सभामुख पदमा उनलाई अघि सारिएको बताए। ‘संसदमा सांसदहरुप्रति मात्रै होइन सबै दलहरुबीचमा त्यो जिम्मेवारी उहाँले राम्रोसँग पूरा गर्नुहुनेछ,’ नेम्वाङले भने।

तर, त्यो सापकोटाका लागि सहज भने हुने छैन। सरकारद्वारा प्रस्तावित अनेकौँ विधेयकले जनतामाझ असन्तुष्टि उत्पन्न गरिरहेका बेला कानुन निर्माणको कार्यलाई पारदर्शी बनाउन तथा लोकतान्त्रिक मूल्य मान्यतामा क्षय हुन नदिन उनले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

तटस्थ व्यवहार
नेताका रुपमा सापकोटा पार्टीको कार्यक्रम तथा नीतिलाई लागू गर्न खरो रुपमा प्रस्तुत हुँदै आएका थिए। तर, सभामुखका रुपमा सापकोटाले पार्टीभन्दा माथि उठेर सन्तुलित ढंगले काम गर्नुपर्ने पूर्वसभामुख दमननाथ ढुङ्गानाको राय छ।

‘सापकोटाले आफूलाई संसदको सभामुख सम्झनुपर्छ, यो पार्टी, ऊ पार्टी भन्ने व्यवहार गर्नु हुँदैन, नेपालखबरसँग ढुङ्गानाले भने, ‘हाउसको अध्यक्षले तटस्थ व्यवहार गर्न सक्नुपर्छ।’

सभामुखले दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को संयुक्त अध्यक्षता गर्ने भएकाले यसको मर्म ख्याल गरेर अघि बढ्न पनि ढुंगाना सुझाव दिन्छन्।

सांसदहरुमा विश्वासको वातावरण तयार पार्ने काम सभामुखको रहेकोले यसमा चनाखो हुनुपर्ने ढुङ्गानाले सुझाए। ‘असमान व्यवहार भएन, सांसदको आँखामा न्युट्रल छु भनेर मात्रै पुग्दैन त्यस्तो व्यवहार पनि गरेको देखिनुपर्छ,’ उनले भने।

विपक्षी दलको विश्वास
संसदमा विधिको पालना नहुने गरेको विपक्षीहरुको आरोप छ। यसमा विपक्षी दललाई विश्वासमा लिएर अघि बढ्ने चुनौती सापकोटासामु छ।

सभामुख निर्वाचन गराउने दिन संसदमा बोल्दै नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सापकोटालाई विधिको पालनामा गम्भीर हुन आग्रह गरे।

‘अहिले संसदमा विधिको शासन हराएको छ, तपाईंप्रति धेरैले अविश्वास गरिरहेको छन् तर, हामीले विश्वास गरेर सभामुखमा सहयोग गरेका छौं,’ रिजालले भने, ‘विगतभन्दा आगत राम्रो हुन्छ भन्ने विश्वास छ। कस्तो बनाउने तपाईंको हातमा छ।’

विधिको शासन र लोकतन्त्र ल्याउनकै लागि १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता गरिएको भन्दै रिजालले अहिले संविधान र लोकतन्त्रमाथि खतरा आउन सक्ने चिन्ता समाधान गर्ने जिम्मेवारी सापकोटाको काँधमा रहेको बताए।

‘शान्ति प्रक्रियामा देखिएका आम चिन्ता सम्बोधन गर्न तपाईंको भूमिका कस्तो हुन्छ, सोही आधारमा संसदमा हाम्रो भूमिका देखिनेछ, कांग्रेस तपाईँलाई सहयोग गरेर जान तयार छ,’ रिजालले भनेका थिए।

महराको विरासतबाट मुक्ति
कानुन निर्माण गर्ने थलोको संसदको नेतृत्व गर्ने सभामुखको आचरण पवित्र र स्वच्छ हुनुपर्छ। तर, यसअघिका सभामुख बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिन बाध्य भएका थिए। सापकोटा सभामुख बनेपछि बलात्कार आरोपितको स्थान हत्या आरोपितले लिएको भन्दै उनको आलोचना सुरु भइसकेको छ। सापकोटाले सभामुखको कुर्सीमा बसेर यो दाग मेटाउन सक्नुपर्नेछ।

आफ्नो आचरण र पदीय दायित्वलाई ख्याल नगर्दा जुनसुकै जोखिम पनि आउने भएकाले यसमा सापकोटासजग बन्नुपर्ने सुझाव दिन्छिन् पूर्वसभामुख ओनसरी घर्ती । ‘कानुन निर्माण गर्ने थलो भएकाले विवाद रहित सर्वमान्य कानुन बनाउने प्रयासमा सभामुखको भूमिका महत्वपूर्ण हुन्छ,’ उनी भन्छिन्।

राजनीतिक संस्कारको स्थापना
नेपालको संसद बेलाबखत कुस्तीको अखडा बन्ने गरेको छ। राजनीतिक संस्कारको अभावमा दलहरु आफूबीच रहेका असहमतिलाई संसदमै मुक्काबाजीमार्फत समाधान गर्न बाटोमा हिँडेको हामीले अनेकौँ पटक देखिसकेका छौँ। यस्ता अराजनीतिक गतिविधिले संसदको गरिमा र अन्तर्राष्ट्रिय छवि दुवै गिराउने गर्छ। सभामुख सापकोटाले संसदको मानमर्दन हुने यस्ता कार्य हुन नदिई दलहरुबीच संवाद कायम गर्न राजनीतिक संस्कारको स्थापना गर्नुपर्ने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad