ad ad

राजनीति


‘उपचार नपाएर’ बिते सुर्खेत जेल तोडेका चर्चित माओवादी नेता

गृहमन्त्री र पयर्टनमन्त्रीले विमान नपठाइदिएको परिवारको गुनासो
‘उपचार नपाएर’ बिते सुर्खेत जेल तोडेका चर्चित माओवादी नेता

सागर न्यौपाने
असोज ११, २०८० बिहिबार १७:२२, काठमाडौँ

२०५८ पुसको अन्तिम साता। देशमा संकटकाल थियो। 

सुर्खेत कारागारमा माओवादीका १५ नेताले खन्दै गरेको सुरुङ छिचोल्न केही मिटर मात्र बाँकी थियो। कात्तिकदेखि खन्न सुरु भएको सुरुङ छिचोलिए माओवादी नेताहरु भाग्न सक्थे।

जेलका माओवादीहरु उत्साहित थिए।

तर, त्यही दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकृष्ण भुर्तेल निरीक्षणमा आउन लागेको हल्ला कारागारमा फैलियो। माओवादी नेता अत्तालिए।

निरन्तर खन्न पाएको भए त्यही दिन (पुस मसान्तमै) सुरुङ खनेर निस्कन सकिन्थ्यो। तर, सीडीओ स्थलगत अवलोकनमा आउने भएपछि काम रोक्नुपर्‍यो। 

सीडीओ भुर्तेल आए। सुरुमै उनले जेलमा रहेका माओवादी नेतासँग कुरा गर्न थाले।

यसको तारतम्य कृष्ण बडुवालले लिए। किनकि सीडीओलाई अलमल्याउनु थियो।

कृष्ण सुर्खेत क्याम्पसमा आईएड अध्ययन गर्न आएका बेला माओवादी आरोपमा २०५६ फागुनमा पक्राउ परेका थिए।

सुर्खेत ‘जेल ब्रेक’का नेतृत्व गरेका झकबहादुर मल्लले नेपालखबरलाई सुनाएअनुसार सीडीओ जेलको मुख्य ढोकाबाट भित्र आएपछि सुरुङ खनेको स्थानमा नलगी अर्कै ठाउँमा चातुर्यपूर्वक लगेर अल्मलाउन मुख्य भूमिका कृष्ण बडुवालले खेले।

‘कृष्णजीले फिल्ड निरीक्षणमा आएका सीडीओ रामकृष्ण भुर्तेललाई जेलभित्रको पर्खाल लगाइएको भलिबल ग्राउन्ड पुर्‍याएर बहस गराई अल्झाउनुभयो,’ मल्लले सुनाए, ‘यो यति दुरदर्शी र सफल रणनीति थियो। त्यहाँ पुगेका सीडीओलाई उहाँले बहसमा केन्द्रित गराउनुभयो र अन्यत्र घुम्ने अवसर दिनुभएन।’

‘यदि सबैतिर घुमेको भए सुरुङ खनिएको चाल पाउँथ्यो, त्यसबेला सीडीओले जुनसुकै मुद्दा लगाउन सक्थ्यो, जेल सारिन्थ्यो होला, त्यसपछि के के हुन्थ्यो...’ मल्ल भन्छन्।

सीडीओ भुर्तेलले माओवादी नेतालाई सुरुमै आत्मसमर्पण गरे कैदमुक्त गरिदिने आश्वासन दिए। त्यसपछि यसबारे बसेर गफ गर्नुपर्छ भन्दै कृष्णले नै कैदीबन्दी भएको भन्दा अर्काे बाटोबाट सीडीओलाई भलिबल कोर्टतिर पुर्‍याएका थिए।

सीडीओलाई अलमल्याएकै कारण उनले सुरुङको भेउ पाउन नसकेको मल्ल बताउँछन्।

२०५८ माघ २ गते सुर्खेत कारागारभित्रको सुरुङ छिचोलियो।

बाहिर झम झम पानी दर्किरहेको थियो। कठ्यांग्रिने जाडोमा रातको १ बजे माओवादीका मल्ल, कृष्ण बडुवाल, विन्दमान विष्टसहित १५ नेता भाग्न सफल भए। त्यही सुरुङबाट अन्य कैदीपनि फरार भए। 

‘सुर्खेत जेल ब्रेक गर्न कृष्णजीको भूमिका निर्णायक थियो,’ मल्लले भने, ‘उहाँ असाध्यै राम्रो सांगठनिक क्षमता भएको, जनतासँग घुलमिल हुन सक्ने, मिजासिलो, पार्टी र कार्यक्रम सफल पार्नसक्ने नेता हुनुहुन्थ्यो।’

जेलबाट प्रहरी र सीडीओलाई छक्याएर निस्केका उनै बडुवालको बिहीबार बिहान निमोनियाका कारण निधन भयो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष बडुवालको भारतको लखनउमा निधन भएको हो। 

उनले समयमै उपचार नपाएको कारण ज्यान गएको उनका आफन्तहरु बताउँछन्। उनलाई समयमा अस्पताल पुर्‍याउन नपाइएको उनीहरुको भनाइ छ।

कृष्णका नातेदार डम्बर बडुवालका अनुसार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किरातीले समयमै विमान पठाएर सहजीकरण गरिदिएको भए उनको उपचार हुने थियो।

काठमाडौंमा उपचार गर्नको लागि ह्याम्स र ललितपुरको मेडिसिटी अस्पतालमा तयारी गर्दा सरकारबाट आवश्यक सहयोग नपाएको गुनासो उनीहरुले गरे। 

माओवादी प्रदेशका नेता भएकाले प्रदेशबाटै प्रतिनिधित्व गर्ने खगराज भट्टमार्फत् काठमाडौंमा गृहमन्त्री र पयर्टनमन्त्रीलाई विमान वा एयर एम्बुलेन्स पठाइदिन खबर गरे पनि मन्त्रीले वास्ता नगर्दा उनको ज्यान गएको डम्बर बताउँछन्।

के भएको हो? 
नेकपा माओवादीले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाइरहेको छ।  अभियानमा कृष्ण बडुवाललाई डोटी जिल्लाको जोरायल गाउँपालिका पर्‍यो। यो उनको ससुराली गाउँ पनि हो।

उनी पहिलो चरणमा अभियानमा खटिए। एक हप्ता बढी अभियानका क्रममा घरघर डुल्दा कृष्ण ९ वर्षअघि भयानक बस दुर्घटना भएको स्थानमा पुगे। जुन दुर्घटनामा उनले श्रीमती र छोरासहित २९ जनाको निधन भएको थियो। 

२०७१ असोज २० गते डोटीको जोरायलबाट काठमाडौं आउँदै गरेको बस छत्तिवनको कटकटेमा कच्ची सडकबाट तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।

अभियानकै क्रममा बिसन्चो भएपछि उनी कैलाली आफ्नो घर फर्किए।

‘पहाड हुँदै सामान्य ज्वरो आएको रहेछ,’ उनका आफन्त डम्बर बडुवालले नेपालखबरसँग भने, ‘त्यसपछि निम्स खानुभएको थियो। निको नभए पनि कैलालीको लम्कीमा सामान्य उपचार गराउनुभयो, छातीमा इन्फेक्सन छ भनेका रहेछन् डाक्टरले। उहाँ आराम गर्छु भनेर घर जानुभएको रहेछ।’

तर, आइतबार फेरि असजिलो भएपछि नेपालगञ्ज लगेर उपचार गरिएको थियो।

नेपालगञ्जमा पनि डाक्टरले छातीमा असर छ भनेका थिए। तर, गाह्रो नभएको भन्दै उनी घर फर्केका थिए।

‘गाह्रो भए फेरि आउँला भनेर कैलाली फर्कनुभएको रहेछ, त्यो दिन घरमै बस्नुभयो,’ डम्बरले थपे, ‘मंगलबार बिहानैदेखि उहाँलाई गाह्रो भयो।’

श्वासप्रश्वासमा समस्या भएपछि तत्काल कैलालीको लालरत्न अस्पताल लगिएको थियो। त्यहाँ उनलाई आईसीयूमा राखियो। तर, अवस्था निकै जटिल रहेको भनेपछि डाक्टरले अत्याधुनिक सेवा भएको अस्पताल लैजान सुझाव दिए।

मंगलबार साँझसम्म काठमाडौंमा ह्याम्स र मेडिसिटीमध्ये कुनै अस्पताल लैजाने भनेर दिनभर विमान कुरिरहे।

यता माओवादीका नेताहरुसँग प्रदेश कमिटीले छलफल गर्‍यो। एयर एम्बुलेन्समार्फत् काठमाडौं ल्याए सहज हुने अस्पतालको भनाइ थियो। त्यही भएर उनीहरु गृहमन्त्री श्रेष्ठ र पर्यटनमन्त्रीसँग विमान पठाइदिन आग्रह गरे।

तर, मन्त्रीले विमान पठाएनन्। 

त्यसपछि एम्बुलेन्समै भएपनि कृष्णलाई काठमाडौं ल्याउने तयारी भयो। तर, कृष्णको शरीरमा अक्सिजनको मात्रा झन् घट्न थाल्यो।

डम्बरले बताए अनुसार बर्दिया पुग्दानपुग्दै अक्सिजनको मात्रा घटेर ६० भन्दा तल झरिसकेको थियो।

नेपालगञ्ज पुग्नेबित्तिकै नेपालगञ्ज नर्सिङ होमको आईसीयूमा राखेर उनलाई काठमाडौं ल्याउने उपायमा फेरि नेताहरु जुटे।

श्री एयरलाइन्सको विमानले निकै माथिबाट उडान भर्ने भएकोले बिरामीलाई अक्सिजन कमी हुने भन्दै नचढाउन सुझाव दिएको डम्बरले बताए।

काठमाडौंबाट मन्त्रीहरुलाई एयर एम्बुलेन्स पठाउन आग्रह गर्दा उनीहरुले जवाफ दिएनन्।

‘उहाँलाई तत्काल भेन्टिलेरमा राखियो, त्यसपछि भारत लगेर उपचार गर्न भेन्टिलेटरसहितको डाक्टरको टिम लखनउ लाग्यो,’ डम्बरले भने, ‘इमर्जेन्सीमा पुर्‍याउनेबित्तिकै डाक्टरले उहाँको निधन भएको घोषणा गरेछ। यदि बेलुका नै भए पनि सरकारले कुनै विमानलाई अनुमति दिएको भए उहाँलाई बचाउन सकिन्थ्यो।’

बिरामी भएको ४८ घण्टामै यसरी ज्यानै जाने आवस्था आउँछ भन्ने कल्पनै नगरेको उनी बताउँछन्।

‘काठमाडौं ल्याउन सकेको भए उहाँको उपचारमा धेरै हदसम्म सहज हुन्थ्यो। तर, सकिएन। ४८ घण्टामै उहाँको ज्यानले हामीलाई झुक्यायो। गाह्रो भएपनि उहाँले सामान्य भएको बताउनुभयो,’ डम्बर भन्छन्।

कृष्णका भाइ जब्बज बडुवालको चार महिनाअघि निधन भएको थियो। उनी कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ५ मा रहेको जनज्योति माध्यामिक विद्यालय चौरीका प्रधानाध्यापक थिए। 

कृष्ण व्यवस्थापन समितिको अध्यक्ष थिए। भाइको निधनले उनी तनावमा रहेको डम्बर बताउँछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .