ad ad

राजनीति


मधेस प्रदेशमा कसले लेला एमालेको नेतृत्व?

राजकिशोर र सुमन प्रवल दाबेदार
मधेस प्रदेशमा कसले लेला एमालेको नेतृत्व?

सागर न्यौपाने
असोज १५, २०८० सोमबार २१:२८, काठमाडौँ

चारवटा प्रदेशमा चुनावबाटै नेतृत्व चयन भएको नेकपा एमालेको मधेश प्रदेशका नेताहरु पनि प्रतिस्पर्धा गरेरै नेतृत्व लिने मुडमा देखिएका छन्।

पहिलो पटक प्रदेश संरचनाको अधिवेशन गरिरहेको एमालेले आन्तरिक लोकतन्त्रका लागि निर्वाचनमा जाने विकल्प खुला गरेपछि मधेश प्रदेशमा पनि त्यसको दबाब परेको नेताहरु बताउँछन्। 

असोज २४ र २५ गते जनकपुरमा तय भएको पहिलो अधिवेशनबाट मधेश प्रदेशको नेतृत्वमा आउन पाँचजना नेताले रुचि देखाएका छन्।

८ जिल्ला रहेको मधेश प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट धमाधम भइरहेको त्यहाँका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए।  

उनका अनुसार प्रतिनिधि टुंगिएपछि मात्रै आकांक्षीले नाम सार्वजनिक गर्ने योजना बनाएका छन्। त्यसपछि मात्रै मत माग्न पाउने नियम बनाइएको छ।

‘आज (सोमबार) ५ बजेसम्म १३६ वटा स्थानीय तह, २३ जनसंगठन, ८ जिल्ला र ८ प्रदेश विभागबाट चयन भएका प्रतिनिधिको नाम आइसक्छ,’ शर्माले नेपालखबररसँग भने, ‘एक हजार २५ जति प्रतिनिधि होलान्, भोलि (मंगलबार) दिउँसो सबै टुंगो गरेर विवरण अपडेट गर्छाैँ।’

प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न एमाले सचिव योगेश भट्टराईले जोड गरिरहेका छन्। इन्चार्जसमेत रहेका उनी माथिदेखि तलसम्म पार्टी संगठन एक रहेको सन्देश दिने कोसिसमा छन्। 

उता कोशी प्रदेश इन्चार्ज भए पनि पार्टी सचिव रघुवीर महासेठसमेत मधेशमा सहमतिमै नेतृत्व छान्नुपर्ने लबिइङमा देखिए छन्। यद्यपि, जिल्ला तहका नेताहरुमा अहिलेबाटै प्रष्ट दुई धार देखिएको छ।

प्रदेश अध्यक्षलाई पोलिटव्युरोसरहको मान्यता दिइएको छ। त्यहीकारण पोलिटव्युरोमै रहेका नेताहरुलाई उठाउनुपर्ने पक्षमा देखिएको धार र नयाँ नेतृत्व विकास गरेर अवसर दिनुपर्ने नेता/कार्यकर्ताको मत बलियो रहेको प्रचार विभाग प्रमुख शर्माले बताए।

पोलिटव्युरोबाट सप्तरीका सुमन प्याकुरेल र बाराका पुरुषोत्तम पौडेलको नाम चर्चा छ। तर पूर्वमन्त्रीसमेत रहेका पौडेलले सहमति नभए चुनावमा उम्मेदवार नहुने बताएका छन्।

नयाँलाई नेतृत्व विकास गर्नुपर्छ भन्ने पक्षमा राजकिशोर यादव र रेवती पन्त छन्।

यादवले धनुषा जिल्ला कमिटीमा दुई पटकसम्म अध्यक्ष भएर काम गरिसकेका छन्। 

‘उहाँहरु दुवै दोस्रो पुस्ताका नेताहरु हुनुहुन्छ,’ शर्माले थपे, ‘दुवैजना अध्यक्ष केपी शर्मा ओलीसँग सिधै सम्पर्कमा रहनुहुन्छ।’

औपचारिक रुपमा नाम सार्वजनिक नगरे पनि चुनावको भित्रभित्रै तयारी तीव्र पारिसकेको एमाले नेता सत्यनारायण मण्डलले बताए।

एमालेले प्रदेशको कुनै पनि पदमा जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने नियम बनाएकाले मधेश प्रदेशको नेतृत्वका दाबेदारमध्ये धेरैजना रोकिएको उनले जानकारी दिए।

मधेश प्रदेशका वर्तमान अध्यक्ष रामऔतार साहले जनप्रतिनिधि भएकै कारण अध्यक्ष पदमा लड्न पाएनन्। 

उनी २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा सिराहाको सुखीपुर नगरपालिकाका प्रमुख  बनेका छन्। 

चर्चामा रहेकामध्ये राजकिशोर यादव र विचारी यादवकै पक्षमा सर्वसम्मत गराउने प्रयासमा इन्चार्ज योगेश लागेका छन्।

‘माथिबाट सर्वसम्मत चयन गर्न निर्देशन छ,’ उनले भने, ‘यहाँको अवस्था हेरेर नेतृत्वको चाहनाअनुसार चयन गर्ने कोसिसमा छौँ।’

एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झाले मधेश प्रदेशको नेतृत्वमा पहाडी र मधेस अनुहार नहेर्ने बताए।

‘अध्यक्ष केपी ओलीले बनाएको मधेशको क्रेज जोगाउने नेताको खोजी यसपटक अधिवेशनमा हुन्छ,’ झाले नेपालखबरसँग भने, ‘संगठन बनाउनसक्ने, नेता कार्यकर्तालाई सन्तुलन बनाएर लिड गर्ने नेता छानिन्छन्। एमालेलाई मधेशमा ऊर्जावान नेतृत्व चाहिएको छ। मधेशी र पहाडी भन्ने कुरै उठ्दैन।’

एमाले नेता सत्यनारायण मण्डल भने लुम्बिनी, बागमती, कोशी र कर्णालीको चुनावले मधेश पनि सर्वसम्मत सम्भावना कम देख्छन्।

‘विगतमा नेतृत्व छान्दा मधेशमा झमेला भएको हो, यसपटक त अध्यक्षलाई पोलिटव्युरोको मान्यता दिइएको छ,’ मण्डलले थपे, ‘यो त दुई नम्बर प्रदेश हो नि। कहाँ सजिलै चयन हुन देलान र?’

राजकिशोर कि सुमन?
नेताहरुका अनुसार मधेश प्रदेशमा राजकिशोर यादव र सुमन प्याकुरेलबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुन सक्छ।

यादव धनुषा जिल्ला अध्यक्ष भइसकेका नेता हुन्। सप्तरीका प्याकुरेल अहिले पार्टी पोलिटव्युरो सदस्य छन्।

यदि चुनावै हुँदा यी दुई नेताबीच प्रतिस्पर्धा हुनसक्ने नेताहरुको भनाइ छ। 

केन्द्रीय सदस्य झाले पहाड र मधेश नभएर नेतृत्वको कार्यशैली हेर्नुपर्ने बताउनुको पनि कारण यही हो।

सप्तरीकै भए पनि प्याकुरेल पडाडिया समुदायको प्रतिनिधित्व गर्छन्। यस्तै धनुषाका यादव राजनीतिको माथिल्लो सिँढी चढ्न खोजिरहेका छन्।

जिल्ला तहमै रहेका उनलाई एकैपटक पोलिटव्युरो बन्ने अवसर भएकाले चुनावमै गएर पनि नेतृत्व लिने चाहना रहेको नेताहरुले बताए।

त्यसबाहेक केन्द्रीय नेताहरुसँग पहुँचमा रहेकाले पनि यादव र प्याकुरेल दुवै चुनावमै जानसक्ने सम्भावना छ।

तर अहिले पनि सर्वसम्मत अध्यक्ष बन्न दुवैले प्रयास गरिरहेका छन्। त्यसबाहेक अधिवेशनको दिनसम्म थप आकांक्षी थपिन सक्छन्। 

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समर्थन गरेका नेताबीच चुनावी प्रतिस्पर्धा भयो।

बागमतीमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओलीले सबै शक्ति लगाएर आफूले समर्थन गरेको कैलाश ढुङ्गेललाई जिताएको एमालेवृत्तमा चर्चा भइरहेको छ।

कोशीमा पनि अध्यक्ष ओलीले घनश्याम ढकाललाई समर्थन गरेका छन्। उता अर्का प्रतिस्पर्धी विनोद ढकालको पक्षमा स्थायी कमिटी सदस्य भीम आचार्य लगायत नेता छन्। 

कर्णालीमा पनि अध्यक्ष ओलीसहित महासचिव पोखरेलको समर्थन कालिकोटका मीनबहादुर शाहीलाई छ। उता, स्थायी कमिटी सदस्य यामलाल कँडेलसहितका नेताले सल्यानका गुलावजंग शाहलाई समर्थन गरेका छन्।

यही अवस्थामा मधेश प्रदेशको चुनावमा पनि केन्द्रीय नेताले कुनलाई अघि सार्छन्, त्यो हेर्न बाँकी छ।

केही प्रदेशमा चुनावमा गएर लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिसकेकाले मधेसमा सर्वसम्मत भइहाल्ने सम्भावना ज्यादै न्यून रहेको नेताहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .