ad ad

राजनीति


कोशीमा एमाले वा राप्रपासँग मिल्नैपर्ने गठबन्धनको निष्कर्ष

कोशीमा एमाले वा राप्रपासँग मिल्नैपर्ने गठबन्धनको निष्कर्ष

सागर न्यौपाने
असोज २३, २०८० मंगलबार २१:२, काठमाडौँ

गठबन्धन दलले कोशी प्रदेश सरकार निर्माणमा अन्य दलको साथ लिने भएका छन्। ९३ सदस्यीय कोशी प्रदेश सभामा यसअघि बनेका दुई वटै सरकारले विश्वासको मत लिन नसकेपछि सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ५ मा पुगेको छ।

सोही उपधाराअनुसार प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आगामी २६ गतेसम्म समय दिएका छन्। उपधारा ५ अनुसार प्रदेश सभाको कुनै सांसदले बहुमत पु¥याउन सके मुख्यमन्त्री बन्नेछन्। 

प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनका ४७ सांसद छन्।

एमालेका ४० र राप्रपाको ६ सांसद  छन्। गठबन्धनसँग प्रष्ट बहुमत छ।

तर, राप्रपा वा एमालेलाई सरकारमा ल्याएर टिकाउ सरकार बनाउन चाहेको कांग्रेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए। 

मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको पदाधिकारी बैठकले कोशीमा आफ्नै नेतृत्वमा सकार बनाउन पहल गर्ने निर्णय गरेको छ। 

‘गठबन्धनका ४७ सांसद लिएर मात्र सरकार बनाउँदा जोखिम भयो,’ राईले नेपालखबरसँग भने, ‘त्यही भएर यसपटक राप्रपालाई समेटेर सरकार बनाउने योजना अनुसार छलफल भइरहेको छ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डसँग मंगलबार सिंहदरबारमा भेट गरेका छन्। भेटमा कोशीमा सरकार गठनको विषयमा कुरा भएको छ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि लिङ्देनले छलफल गर्दैछन्। राप्रपाको समर्थन लिन सके सरकार अपर नहुने कांग्रेसको विश्लेषण छ। 

‘अहिलेको संकट टार्न पनि दलहरु एक भएर जानुपर्ने भएको हो,’ राईले थपे, ‘प्रदेशको राजनीतिमा प्रश्न उठ्यो। ढुक्कले सरकार चलाउन बहुमतभन्दा बढी सांसदको समर्थन आवश्यक देखियो।’

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले पनि ४७ सांसद लिएर गएको कोर्सले असफल भएको बताए।

‘४७ निकास होइन भन्ने प्रष्ट भइसकेकोले अब राप्रपा र एमालेलाई सहभागी गराउनुपर्छ,’ आङ्बोले भने, ‘गठबन्धनमै उनीहरुलाई सहभागी गराउने हो, त्यो भन्दा बाहिर जाँदैन।’

‘तर, कांग्रेसबाट कि माओवादीबाट भन्ने अझै निश्चित भइसकेको छैन।’

यसअघि गठबन्धनबाट कांग्रेसका उद्धब थापा असार २२ मा मुख्यमन्त्री बने।

उनले विश्वासको मत पाउन सकेनन्। 

सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर फेरि दोस्रो पटक मुख्यमन्त्री बन्दा पनि थापाले विश्वासको मत नपाएपछि सरकार गठन उपधारा ३ मा पुगेको थियो।

सो उपधारा अनुसार कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भए।

उनले पनि विश्वासको मत पाउन सकेनन् र राजीनामा दिए।

‘अब सरकार गठन उपधारा ५ अनुसार गर्नुपर्ने भएकोले सहयात्री दलसहित अन्य दलको सहयोग लिनुप¥यो,’ कांग्रेस प्रदेश सचेतक राईले भने। 

उनले राप्रपासँग मिलेर जाने सम्भावना बढी रहेको बताए।

‘कांग्रेस–एमाले वा एमाले–माओवादी मात्र मिलेर सरकार बन्दैन, गठबन्धन एकजुट छ,’ राईले ठोकुवा गरे, ‘कहीँ कसैले हल्लाउन नसक्नेगरी एकजुट छ।’ 

माओवादी संसदीय दलका नेता आङ्बोले नयाँ नेतालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउनुपर्ने बताए।

‘यही सरकार रह्यो भने जनतामा बरु मध्यावधि ठीक भन्ने अवस्था आउँछ, त्यही भएर नयाँ उम्मेदवार बनाएर अरु दललाई सहभागी गराएर लानुपर्छ,’ आङ्बोले भने। 

राप्रपाले अहिलेसम्म गठबन्धन उम्मेदवारलाई सहयोग गर्ने कि नगर्ने, खुलाएको छैन। राप्रपाले गठबन्धनलाई समर्थन दिए मात्र पनि कोशी सरकारले आरामदायी विश्वासको मत पाउँछ।

तर, राप्रपालाई कसरी सहभागी गराउने निश्चित भइसकेको छैन।

कोशी प्रदेश सभामा सभामुख रिक्त छ। सरकारमा सहभागी गराउने कि सभामुख दिएर समर्थन मात्र लिने भन्नेबारे गठबन्धन छलफलमा छ।

‘कोशी सरकार गठनका लागि शीर्ष तहमै संवाद भइरहेको छ, एकदुई दिनमा नतिजा देखिएला,’ कांग्रेस प्रमुख सचेतक राईले भने।

खेर जाने मत नदिने भन्दै एमालेका हिक्मत कार्कीलाई राप्रपाले विश्वासको मत नदिने बताएको थियो। त्यही भएर पनि राप्रपाको साथ पाइनेमा कांग्रेस आशावादी छ।

राईले भने, ‘प्रदेश सभाको स्थायित्वको लागि मिल्नैपर्छ, उहाँहरु सकारात्मक हुनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .