त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाको प्रस्ताव अघि सारेको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार विद्यार्थी संगठनहरुसँगको बैठकमा निर्वाचनको कार्यतालिकाको प्रस्ताव राखेको हो ।
बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राविसंघ लगायतका संगठनले प्रस्तावित स्ववियु निर्वाचन तालिकाको स्वागत गरेको बैठकमा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले बताए।
त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिएको गौतमले बताए।
बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगा बहादुर थापाले जानकारी दिएका थिए।
अदालतको आदेशको आधारमा पनि निर्वाचनको विकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त रेक्टर शिवलाल भुसालले बताए।
त्रिविका निमित्त रेक्टर भुसालको अध्यक्षतामा बसेको बैठकमा नेविसंघ र विप्लव निकट क्रान्तिकारी बाहेक सबै संगठनको सहभागिता रहेको थियोे।
बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ , अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियोे।


प्रतिक्रिया