ad ad

राजनीति


कोइरालाले कोशीबाट देउवालाई दिएको धक्का

कोइरालाले कोशीबाट देउवालाई दिएको धक्का

सागर न्यौपाने
असोज २६, २०८० शुक्रबार २१:१२, काठमाडौँ

कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले तनावमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार दिनभर दौडधुप गरे।

कोशीमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका लागि अघि सारेका बेला कांगे्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीले नेकपा एमालेसँग मिलेर सो पदमा दाबी गरेपछि राजनीति नयाँ मोडमा पुगेको देउवाको विश्लेषण छ। 

यसले गठबन्धनमै फाटो ल्याउन सक्ने भय देउवालाई छ। यही विषय मिलाउन देउवाले शुक्रबार दिनभर प्रयास गरे।

सुरुमा उनले कार्कीको नाम फिर्ता गराउन खोजे। 

त्यसो नभए कार्कीबाहेकका अन्य कुनै सांसदलाई दिएर भए पनि देउवा कोशीमा कांग्रेसलाई फुटबाट जोगाउन चाहन्थे। 

तर, उनको प्रयास सफल भएन। शेखर कोइराला कार्कीलाई पछि हटाउन तयार भएनन्। बरु केन्द्रमै चुनौती दिन कोइराला तयार भए।

त्यही भएर उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै गएनन्। कोशीकै विषयमा छलफल गर्न बसेको बैठकमा शेखर कोइराला नै नगएपछि कुनै निर्णयमा नपुगी स्थगित भयो।

उता, शुक्रबार ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका प्रदेश प्रमुख परशुराम खापुङले कार्की र आङ्बोको पक्षमा हस्ताक्षर गरेका सांसदहरुलाई शनिबार दिउँसोसम्म उपस्थित भएर सनाखत गर्न समय दिएका छन्।

रातभरिमा कुनै फेरबदल नभए कार्कीलाई मुख्यमन्त्री बन्नबाट देउवाले रोक्न सक्ने छैनन्। किनकि उनीसँग स्पष्ट बहुमत छ। कार्कीको पक्षमा खुलेका ४७ सांसद शुक्रबार पनि प्रदेश प्रमुखकहाँ पुगेका थिए।
 
गठबन्धनले निर्णय गरेपछि बिहीबार अपरान्ह आङ्बोले ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गरे।

त्यसको एक घण्टापछि एमालेका ३९ सांसदले कार्कीलाई समर्थन दिए। शेखर पक्षका ८ सांसद पनि कार्कीकै पक्षमा खुले। ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख खापुङकोमा पुगे र मुख्यमन्त्री बनाउन दाबी गरे।

बिहीबार साँझ एकाएक बदलिएको कोशी राजनीतिले गठबन्धन दलका नेतालाई तनाव दियो। शुक्रबार बिहानैदेखि कांग्रेस सभापति देउवाले आफूनिकट नेतासँग संवाद गरे।

अनि महामन्त्री विश्वप्रकाश शर्मासहितका नेतासँग कोशी प्रदेशमा उत्पन्न समस्या समाधानको उपाय खोज्न सल्लाह लिए। अनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न शेखरसहित बालुवाटार पुगे। 

कार्कीबाहेक शेखर पक्षका जो नेतालाई अघि सारे पनि मुख्यमन्त्रीमा सहमति गर्ने प्रस्ताव गरे।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एकजुट हुन सुझाव दिए।

‘यदि माओवादी केन्द्रकै मुख्यमन्त्री दाबी गरिएकोले कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना भएको हो भने अर्काे मान्छे अघि सारेर भएपनि साझा नाम अघि बढाउनू,’ प्रचण्डको प्रस्ताव उधृत गर्दै विश्वकर्माले भने।

प्रचण्डको प्रस्तावमा सहमति जनाउँदै सभापति देउवाले कार्कीबाहेक अर्काे नाम अघि सार्न कोइराला पक्षसँग प्रस्ताव राखे।

‘केदार कार्कीबाहेक तपाईंकै पक्षका अर्काे नाम दिनुस् न त, जसको नाम दिनुहुन्छ, गठबन्धनले समर्थन गर्छ,’ देउवाले कोइरालालाई भने, ‘यो गठबन्धनमा समस्या आउन दिने काम नगरौँ।’

प्रधानमन्त्री र देउवा दुवैको प्रस्तावलाई कोइरालाले अस्वीकार गरे।

‘कोशीमा केदार कार्कीलाई पछि हटाउने कुरा स्वीकार गर्न सक्दिनँ,’ कोइरालाले जवाफ दिए।

कांग्रेसले गठबन्धन जसरी पनि जोगाउन सबै उपायबारे छलफल गर्ने विश्वकर्माले बताए।

‘गठबन्धन जसरी पनि जोगाउनुपर्छ, हामी यो भत्किने अवस्था उत्पन्न दिन्नौँ भनेर सभापतिजीले कार्यसम्पादन समितिको बैठकमा भन्नुभयो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले थपे, ‘अब गठबन्धनलाई निरन्तरता दिने उपायको खोजी हुन्छ। भोलि शेखरजीसहित बैठक बसेर निकास निकाल्छौँ।’

‘अहिले नै हतार नगरी निर्णय गर्ने पक्षमा हामी पुग्यौं, यसमा सुझबुझ आवश्यक देखियो, त्यही भएर भोलिसम्म पर्खन्छौँ।’

देउवाले पार्टी विभाजन हुन नदिने र गठबन्धन पनि जोगाउने उपाय निकाल्ने बताएका छन्।

‘कांग्रेसकै बहुमत सांसद आङ्बोको पक्षमा र ८ जना एमालेसँग मिल्न जानु राम्रो होइन, यसले पार्टीमै समस्या ल्याउँछ। यो भोलि समाधान हुन्छ,’ विश्वकर्माले भने।

देउवाले पेलेकै कारण कोइरालाले आफ्नो प्रभाव रहेको कोशीबाट विद्रोह गरेको नेताहरु दाबी गर्छन्।

कोशीमा मुख्यमन्त्री दाबी गरेका केदार कार्कीले भने– ‘यो केन्द्रलाई धक्का पनि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .