नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बुधबार काठमाडौंमा शुरु हुँदा बैठकस्थलमा केहि भिन्न गतिबिधिहरु देखिए।
४४१ सदस्यीय केन्द्रीय कमिटीका सबैजना पार्टीकाे केन्द्रीय कार्यालयमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा राखिएको बैठकमा देशभरबाट सदस्यहरु आइपुगेका थिए।
तत्कालिन नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र) एकिकृत भएको २० महिनाको बीचमा औपचारिकताका लागि एकपटक केन्द्रीय कमिटी बैठक राखिएकाे भएपनि सदस्यहरुबीच नै छलफल तथा अन्तरक्रिया हुनेगरि कुनै बैठक आयोजना गरिएको थिएन। त्यसैले पूर्व–एमाले र पूर्वमाओवादी नेताहरु आपसमा पर्याप्त घुलमिल नै हुन नपाएको बताउँछन्, जुन बुधबारको बैठकस्थलमा प्रष्टै झल्किन्थ्यो।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका केन्द्रीय सदस्यहरु बैठकस्थलमा आइपुगेपछि पनि धेरै नेताहरुसँग चिनजान नै नभएको जस्तो देखिन्थे।
उनीहरु नचिनेकाहरुसँग परिचय गर्ने भन्दा पनि चिनेकै नेताको खोजिगर्दै हिंडिरहेका देखिन्थे। बैठकस्थलमा अरु नेताहरुको भिड नै भएपनि निकट वा पुराना साथीलाई फोन गरेरै ‘खोई त तपाईं कहाँनेर’ भनी सोधिरहेका देखिन्थे।
कैयौं सदस्यहरुले मेलामा आफ्ना साथीहरु खोजिरहेजस्ता देखिन्थे भने केहि सदस्यहरु चाहिँ साथीबाट छुटेर अलमलिए जस्ता।
उद्घाटन सम्बोधन चलिरहेका बेला बैठकस्थल प्रवेश गरेका नेकपा केन्द्रीय सदस्य राजेन्द्र राई, केहि पर रहेका माधब ढुङ्गेल बसेको ठाउँ खोज्दै त्यतै लम्किए। उनी एक दर्जन बढी केन्द्रीय सदस्यहरु पार गरेर ढुङ्गेल बसेको ठाउँसम्म पुगेका थिए।
झापाकी नेता धर्मशिला चापागाइले आफूले बैठकस्थलमा आएकामध्ये ६० प्रतिशत मात्रै नेतालाई चिनेको स्वीकार गरिन।
‘मैले पूर्व माओवादीतर्फका सबै नेता चिनेपनि एमालेका भने कमै नेतामात्रै चिनेको रहेछु,’ नेपालखबरसँग उनले भनिन्।’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि धेरै समयको अन्तरालपछि बैठक बसेकोले थुप्रै नयाँ अनुहार चिन्न कठिन भइरहेको बताइरहेका थिए।
एमसीसी चर्काउने तयारी
अमेरिकी आर्थिक सहयोग प्राप्त गर्ने मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे देशभर बहस जारी छ। यो विषयमा सबैभन्दा बढि बहस र विवाद सत्तारुढ नेकपाभित्रै चर्केको छ। त्यो झल्को बैठकस्थलमा पनि देखिन्थ्यो।
बढि निकट सदस्यहरु समूह समूहमा बसेर छलफल भइरहेकाे थियाे र अधिकांशले एमसीसीकै बारेमा कुराकानी गरिरहेका देखिन्थे।
कैयौं सदस्यहरु यो विषयमाथि गम्भीररुपमा बहस गर्नैपर्ने अडान लिने मनस्थितिमा देखिन्थे।
उद्घाटन सत्रमैं प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे भ्रम नराख्न आग्रह गर्दै संसदबाट सो सम्झौतालाई अनुमोदन गरेर जानुपर्ने बताए पनि सदस्यहरु त्यसबारे कडा बहस गर्ने तयारी गरिरहेका देखिन्थे।
पूर्वमन्त्री तथा सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङले एमसीसी सम्झौतालाई संसदबाट पास गराउने विषयमा आफूले धारणा राख्ने बताए।
‘एक्लाएक्लै कुरा राख्न त नपाइएला तर, हामीले समूहगत रुपमा कुरा राख्न पायौं भने पनि त्यसबारेमा गम्भीर कुरा उठाउनेछौं’ तामाङले भने।
स्थायी समिति सदस्य लीलामणि पोखरेलले पनि एमसीसीको बारेमा पार्टीमा निर्णय नगरी संसदबाट पारित गर्न नहुने अडान दाेहाेर्याए।
केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पनि एमसीसी पास गरेर जानैपर्ने बाध्यता नभएको बताइन। ‘विवादमा परेको विषयमा यतिधेरै ढिँपी गर्नुहुँदैन। केन्द्रीय सदस्यहरुको सुझावलाई ख्याल गर्नुपर्छ,’ उनले भनिन।
बैठकस्थलमा भेटिएका थप केही सदस्यहरुले पनि एमसीसीको विषयलाई छुट्टै एजेण्डाका रुपमा छलफल गरेरै निचोड निकाल्नुपर्ने बताइरहेका थिए।
त्यसैगरि सीमाको विषय र पोलिटब्युरो गठन पनि छुट्टाछुट्टै एजेन्डाका रुपमा छलफल हुनुपर्ने अन्य केहि सदस्यहरुले बताइरहेका थिए।
मन्त्रीसँग नेताहरुको कानेखुशी
केहि केन्द्रीय सदस्यहरुले बैठकमा सहभागी मन्त्रीहरुलाई भेटेर आफ्ना केहि माग वा कुराहरु राख्ने मौकाको रुपमा सदुपयोग गरिरहेका देखिन्थे।
भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालसँग केशब बडालले सहकारीका विषयमा, उद्योगमन्त्री लेखराज भट्टसँग प्रदेश २ का नेताहरुले उखु किसानको भुक्तानीको विषयमा कुरा राखिरहेका थिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कर्णाली प्रदेशका मुख्यमन्त्री लगायतको समूहले, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्थायी समिति सदस्य जनार्दन शर्माबीच लामै समय अन्तरंग कुरा भइरहेको थियो।
शिवमाया वरिपरि भीड
हालै उपसभामुखबाट राजिनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकस्थलमा धेरैकाे ध्यान खिचेकी थिइन्।

धेरैबेरसम्म उनकाे वरिपरि बधाई दिनेहरुको भीड लागिरहेको थियो। उपसभामुख भएपछि पार्टीसँगको आवद्धता तोडेकी उनलाई पुनः केन्द्रीय सदस्य मनोनयन गरिएकोमा सदस्यहरुले बधाई दिइरहेका थिए।
राष्ट्रिय सभामगृहको हलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सकिएपछि हलबाहिर तुम्बाहाङ्फेलाई देख्नेवित्तिकै केन्द्रीय सदस्य रामकुमारी झाक्री लगायतले हात मिलाएर बधाई दिए। उनी हासिन मात्र। उनी नेताहरुबाट पटकपटक घेरामा परिरहेकी थिइन्। मिडियामा पनि अन्तर्वार्ता दिन उनलाई भ्याई नभ्याई थियो।
केन्द्रीय समितिको बैठकको दोस्रो सत्र सुरु भएर प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन वितरण गर्ने कार्य चलिरँदा उनी भने बैठक स्थलबाहिरको हलमा कुराकानीमै व्यस्त देखिन्थिन।
फागुन २६ गते बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजिनामा गर्न आग्रह गरेपनि उनले अस्वीकार गरेकी थिइन। तुम्बाहाङ्फेले माघ ६ गते संसदमा सम्बोधन गर्दै राजिनामा दिएकी थिइन। दुई अध्यक्षले राजिनामा दिन आग्रह गर्दा पनि केहि दिन पद नछाडेर उनी चर्चामा रहेकी थिइन्।
सदस्यहरु अनुपस्थित
दुई अध्यक्षहरुले सम्बोधन गर्ने उद्घाटन सत्रमैं २० जनाभन्दा बढी केन्द्रीय सदस्यहरु अनुपस्थित रहे।
सबै नेताहरुका लागि छुट्टाछुट्टै डेस्क व्यवस्था गरिएको थियो। वर्णानुक्रमअनुसार राखिएको समूह डेस्कमा दर्ता गरेर मात्रै बैठकस्थल प्रवेश गर्न दिने व्यवस्था मिलाइएको थियाे। तर २० जनाभन्दा बढी नेताहरु आइनपुगेको व्यवस्थापनमा खटिएका एक नेताले बताए।
४–५ जना सदस्य प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहँदा मात्र आइपुगेका थिए भने बाँकी सदस्यहरु अनुपस्थित नै रहे।
प्रधानमन्त्रीको सम्बोधनमा नेताहरुकै अविश्वास
प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरुको डेढघण्टासम्म फेहरिस्त प्रस्तुत गरिरहँदा सीमित सदस्यहरुले मात्र ध्यानपूर्वक प्रधानमन्त्रीको कुरा सुनिरहेका देखिन्थे।
हलमा उपस्थित अधिकांश नेताहरुले सरकारले प्रचार गरेपनि सो अनुसार काम नभएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको सम्बोधन सुनिरहेका केहि सदस्यहरुले महत्वपूर्ण लागेको कुरा टिपेका थिए। अन्यले चासो नै नदेखाएको जस्तो देखिन्थ्यो।
मार्क्स, लेनिनको फोटो गायब
बैठकमा राखिएको व्यानरमा मार्क्स र लेनिनको तस्बिर हटाइएकोमा धेरै सदस्यले अस्वभाविकरुपमा लिए। कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँगै मदन भण्डारीको तस्बिर राखेको भएपनि नेपालका कम्युनिष्टले समेत मार्गदर्शक नेताका रुपमा लिएका मार्क्स र लेनिनको तस्बिर व्यानरमा नअटाएकोमा आपत्ती जनाएका थिए।
Shares

प्रतिक्रिया