राजनीति


प्रचण्डको ‘दुबई–गोलमेच’ मा मोदीलाई पनि निम्तो, राष्ट्रसंघका महासचिवको सहभागिता पक्का

प्रचण्डको ‘दुबई–गोलमेच’ मा मोदीलाई पनि निम्तो, राष्ट्रसंघका महासचिवको सहभागिता पक्का

नेपालखबर
मंसिर १३, २०८० बुधबार १६:५१, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुने संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले छुट्टै गोलमेच बैठक (राउण्ड टेबल मिटिङ) गर्ने भएका छन्। 

सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस र राष्ट्र संघअन्तर्गत अति कम विकसित र भूपरिवेष्ठित मुलुक हेर्ने संयुक्त राष्ट्र संघकी उपमहासचिव रावाव फतिमा सहभागी हुने पक्का भएको छ। 

स्रोतका अनुसार, आफ्नो अग्रसरतामा हुने गोलमेच बैठकमा सहभागिताका लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएका छन्। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री मोदीले नै गर्दैछन्। 

भारत मात्र होइन, चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने शीर्ष नेतालाई पनि प्रधानमन्त्री प्रचण्डले सो गोलमेच बैठकमा निम्त्याएका छन्। दक्षिण एसियाली मुलुकका सबै नेतृत्वकर्ताले प्रधानमन्त्री प्रचण्डको निम्तो पाएका छन्। 

कोप–२८ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने कार्यक्रम भने छैन। चीनको तर्फबाट कोप–२८ मा उपप्रधानमन्त्री दिङ छुइसियाङ र वातावरण मामिला सम्बन्धी वार्ताकार सिई जेन्हुवा सहभागी हुने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि कोप–२८ मा सहभागी हुने सम्भावना कम छ।

जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानमा ऐक्यवद्दताका लागि प्रधानमन्त्री प्रचण्डले कोप–२८ को क्रममा पर्वतीय मुलुकहरुको छुट्टै ‘साइड लाइन’ बैठक आयोजना गर्न लागेका हुन्। 

गोलमेच बैठकमा मध्य एसियाली पर्वतीय मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभले सहभागी हुने संकेत दिएका छन्।  

‘किर्सिग राष्ट्रपति जापारोभबाट सकारात्मक संकेत प्राप्त भएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘अन्य केही पर्वतीय मुलुकको नेतृत्वकर्ताहरुले पनि सो गोलमेचमा सहभागिता जनाउने छन्।’

जलवायु परिवर्तनबाट पीडित मुलुकहरुको दबाब बढाउने, जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल गर्ने र एजेण्डामा ऐक्यबद्धताका लागि नेपालले कोप–२८ का क्रममा पर्वतीय मुलुकहरुको छुट्टै गोलमेच बैठक आयोजना गर्न लागेको हो। 

सो गोलमेच सम्मेलन शनिबार (१६ मंसिर) बिहान सम्मेलन हलको १२ नम्बर कोठामा हुने बताइएको छ। बिहान ९ बजेदेखि सुरु हुने गोलमेचमा साढे १ बजेसम्म चल्नेछ। त्यसमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन पनि गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .