ad ad

राजनीति


धेरै बोल्दिनँ, काम गरेर देखाउने मान्छे हुँ : देउवा

धेरै बोल्दिनँ, काम गरेर देखाउने मान्छे हुँ : देउवा

नेपालखबर
मंसिर १६, २०८० शनिबार २०:६, बुटवल

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भाषणमा भन्दा पनि काममा विश्वास गर्ने मान्छे भएको बताएका छन्।

नेपाली कांग्रेस लुम्बिनीको अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन अब भाषण नचल्ने र काम गर्नुपर्ने बताए।

सभापति देउवाले आफूभन्दा अघि बोल्ने कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीसहित पार्टीका अन्य नेताले समेत पार्टी एकताबद्ध नभएको, गुट र उपगुट बनेको, कार्यकर्तामा निराशा छाएको भनेपछि जवाफमा देउवाले पार्टी भाषणले नचल्ने र काम गरेर देखाउनु पर्ने बताएका हुन्।

‘चन्द्र भण्डारीजीले भनिसक्नु भयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन,’ उनले भने, ‘पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषण अनुसार काम पनि गर्नुहोला।’

आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको देउवाको दाबी छ।

‘म त कम बोल्ने मान्छे हुँ, थाहै छ,’ उनले भने, ‘कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ?’

देउवाले पार्टी एकताबद्ध र बलियो भएर अघि बढ्ने विश्वास पनि व्यक्त गरे।

देउवाले लुम्बिनी बुद्ध जन्मेको स्थान भएको र बुद्धकै उपदेश विश्वभर फैलिएको भन्दै उनले बुद्धकै स्थलमा भएको लुम्बिनी प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे।

सम्मेलनमा प्रदेशका सात सय ५० बढी प्रतिनिधिको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्मेलनमा सहभागिता छ।

सम्मेलनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .