राजनीति


ओलीको टिप्पणी : सरकार पूरै असफल भइसक्यो, गठबन्धनलाई लाज नहुने रहेछ

ओलीको टिप्पणी : सरकार पूरै असफल भइसक्यो, गठबन्धनलाई लाज नहुने रहेछ

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १४:१, बागलुङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै असफल भइसकेको बताएका छन्। अनेक असफलता भोग्दा पनि गठबन्धनलाई लज्जाबोध नभएको उनले बताए।

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राअन्तर्गत बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताए। 

यस अवस्थाबाट देशको रक्षा गर्नुपर्ने ओलीले बताए। ‘यस अवस्थाको रक्षा नेकपा एमालेले गर्छ’, ओलीले सन्देश सभाका क्रममा भने।

सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्दै देशको स्वाधीनता पनि कमजोर बनाएको ओलीले बताए।

अहिलेको सरकार देशको भूमिबारे बोल्न नसक्ने अवस्थामा रहेको उनले बताए। ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भने।

अहिलेको सरकार चरम असफल भएको ओलीले बताए। ‘कसरी बसिरहेको छ सरकार, अचम्म लाग्दो कुरो छ’, उनले भने। 

अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रसहित अघि बढाउन आवश्यक रहेको उनले बताए। ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, उनले भने। 

एमाले विकासको पर्याय भएको ओलीले दाबी गरे। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार बनेपछि नेपालमा आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रममार्फत विकासको सुरुवात भएको उनले बताए।

नेपालमा सुरुङ मार्गको अवधारणा नै एमालेले ल्याएको उनले बताए। अब नेपालको कुनै पनि भाग दुर्गम हुन नसक्ने ओलीले प्रष्ट पारे।

चटकेहरुले अनेक चटक गर्न सक्ने भन्दै उनले त्यसको भर नपर्न आग्रह गरे। एमाले गलत ढङ्गले होइन सही हिसाबले राजनीति र देशको विकास, समृद्धिका काममा लाग्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको उनले बताए।

एमालेले आफ्नो स्वार्थका लागि राष्ट्रियताको विषयलाई कहिल्यै पनि दाउमा नराख्ने उनले बताएका छन्। 

झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको छ। एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतलाई बागलुङमा स्वागत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .