सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशको नाम र राजधानी तोक्न आफूहरुले सहजीकरण मात्रै गरेको बताएका छन्।
शनिबार नुवाकोटमा आयोजित प्रथम पञ्चकन्या चेयरमेन भलिबल प्रतियोजिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेकपाको प्रदेश कमिटी र प्रदेश सरकारको अनुरोधमा पार्टी केन्द्रले नाम र राजधानीका विषयमा सहजीकरण गरेको बताए। प्रदेशको राजधानी किन मकवानपुर भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्। प्रदेशको स्थायी राजधानीका लागि नुवाकोट पनि चर्चामा रहे पनि नेकपाको सचिवालय बैठकले राजधानी र नाम सिफारिस गरेपछि त्यसको विरोध हुँदै आएको थियो।
‘पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो प्रदेश नाम राख्न र राजधानी तोक्न तपाईंहरुले सहयोग गरिदिनु पर्यो भन्यो भने पार्टी नेतृत्वसमक्ष तोक्नुपर्ने नैतिक जिम्मेवारी आउँदो रहेछ’, उनले भने, ‘हामी सकेसम्म हाम्ले तोक्न नपरोस् भन्ने चाहन्थ्यौँ।’
उनले अन्य प्रदेशको नाम र राजधानी पनि प्रदेश सरकारले नै तोकेको बताए। ‘कर्णाली हाम्ले तोकेको होइन्, सुर्खेत राजधानी हाम्ले तोकेको होइन्, सुदूरपश्चिम नाम र गोदावारी राजधानी र गण्डकी नाम र पोखरा राजधानी हाम्ले तोकेको होइन्’, उनले भने, ‘यहाँ पनि प्रदेशले नै तोकोस् भन्ने हाम्रो चाहना थियो। तर प्रदेशको पार्टी कमिटी र प्रदेश सरकारले हाम्रो अलि जटिल भयो, टुंग्याइदिनु पर्यो भनेपछि हामीले सहजीकरण गरेको हो।’ उनले धेरै जनप्रतिनिधिलाई नराम्रो लागे पनि विकल्प नभएका कारण आफूहरुले तोकेको बताए।
उनले केन्द्रीय राजधानी सार्ने कुरा आएको विषयमा राजीतिक नेतृत्व छलफल समेत भएको र भइरहेको जानकारी दिए। ‘केन्द्रीय राजधानी नै सार्ने कुरा त अहिले भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन थालेको, एकचोटि टुंगिइसकेको ठाउँ यताउता गर्दा देशैभरि फेरि अराजकता फैलिने हो कि? अन्यौल सिर्जना हुने हो कि? भनेर अहिले जहाँ छ त्यही राखौँ भनेको मात्रै हो’, उनले भने। उनले केन्द्रको राजधानी सार्ने विषयमा छलफल भइरहेको भन्दै प्रदेशको राजधानी पनि सार्न सकिने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधानले परिवर्तन गर्न संशोधन गर्न सकिने विकल्प भने कायमै राखेको बताए। ‘सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताबाहेक अरु सबै चीज परिवर्तन गर्न सकिन्छ भनेर हामीले भनेकै छौँ’, उनले भने, ‘त्यसैले अहिले एउटा के तर्क आएको छ भने भोलि यी अहिले रहेको संरचना परिवर्तन हुनसक्छ।’
उनले नुवाकोटका जनताको भावनालाई कदर गर्ने बताए। उनले आफूले सोचेजस्तो नभइ सम्झौता गर्दै जाँदा भिन्ने खालको संघीयता आएको बताए।
Shares

प्रतिक्रिया