राजनीति


नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति

नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति

नेपालखबर
माघ २५, २०७६ शनिबार ११:२५,

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताएकी छन्।

काठमाडौँ उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार निर्माणमा प्रत्यक्ष संलग्न सरकारी उच्च अधिकृत र जनप्रतिनिधिलाई सम्बोधन गर्दै उनले सुनेकोभन्दा सम्पदा निर्माणमा प्रगति देखेर आफू धेरै उत्साहित भएको प्रतिक्रिया दिइन्।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माण शुरुआत गर्न प्रारम्भमा ढिलाइ भएको प्रसंग स्मरण गर्दै राष्ट्रपतिले भनिन्, ‘समस्या समाधान गरेर अहिले ठिक ढङ्गले निर्माण कार्य अघि बढिरहेको छ, यस कार्यमा संलग्न सबैमा धन्यावाद भन्न चाहन्छु।’

ऐतिहासिक सम्पदा भनेका हाम्रा सम्पत्ति हुन्, विभिन्न समयमा बन्ने सम्पदा भावी पुस्तालाई इतिहाससम्बन्धी जानकारी गराउन हामीले जस्ताको त्यस्तै रुपमा हस्तान्तरण गर्नुपर्छ भन्दै उनले नयाँ पुस्तालाई सभ्य, सदाचारयुक्त, अनुशासित र न्यायपूर्ण समाज निर्माणमा प्रेरित गर्न भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणको आवश्यकता औँल्याइन्।

पूँजी र प्रविधिको सीमितताका बाबजूद सरकारले त्यस्ता सम्पदाको संरक्षण गर्न गम्भीर भएर सुझबुझ ढंगबाट योजना बनाएर काम गरिरहेको छ। ‘हरेक कालखण्डको इतिहास लेख्दै राख्दै जाने हो, अरुको इतिहास मेटेर आफ्नो इतिहास लेख्ने होइन, पुत्रशोकमा परेकी आमाका इतिहास रानीपोखरीसंग जोडिएको छ, जति कठोर भए पनि इतिहास भनेको इतिहासै हो, त्यो भावी पुस्ताले थाहा पाउनुपर्छ, हिजोका शालिक ढालेर नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैन’, राष्ट्रपति भण्डारीले भनिन्।

रानीपोखरी निर्माणको इतिहास र मर्मलाई आत्मसात गरी बाँकी काम अघि बढाउन उनले सुझाब दिइन्। सम्पदा निर्माणमा मुलुकभित्रका श्रम, सीप र सामग्रीलाई उच्चतम प्राथमिकता दिएर काम गर्न सुझाव दिँदै राष्ट्रपति भण्डारीले मुलुकभित्रका विद्यालयका बीचमा दरबार हाइस्कुल नमूनाकै रुपमा निर्माण भएको भनी सह्राना गरे।

प्रकृति र संस्कृतिमाथि अन्याय गर्ने कोशिस भएमा अनेकौ चुनौती आउनसक्नेतर्फ सचेत रहन सुझाव दिँदै उनले स्वदेशमै उपलब्ध साधनस्रोतको प्रयोगले बढ्दै गएमा व्यपार घाटा न्यून गर्न योगदान मिल्ने र मौलिकतालाई जोगाउन योगदान पुग्नेतर्फ ध्यानाकर्षण गराए।

राष्टपति भण्डारीले भने, ‘हामीले कल्पना गरेको सभ्य, अनुशासित र न्यायपूर्ण समाज हो, किसान मजदूर, ग्रामीण क्षेत्रका जनताको मनोविज्ञानलाई बुझी कर्तव्य र जिम्मेवारीमा रहेर काम गर्न मेरो तपाईहरुलाई आग्रह छ।’

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माणका लागि नयाँ सोचका साथ अवधारणाअघि बढाउन लागिएको जानकारी दिए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणपछि प्राकृतिक छटाले परिपूर्ण हाम्रा गाउँवस्ती, विद्यालय र ऐतिहासिक धरोहरका रुपमा रहेका सम्पदा सुन्दर देखिएको बताए।

उनले भने, ‘भूकम्पपछिको पुनःनिर्माणसगैँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणलाई नयाँ ढंगबाट अघि बढाउने कोशिस गरिएको छ।’ सो अवसरमा रानीपोखरी, जमल, रत्नपार्कक्षेत्रलाई अत्याधुनिक र रमणीयस्थलका रुपमा विकास गर्न अघि सारिएको सोचसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad