ad ad

राजनीति


पदाधिकारी बैठक छाडेर बालुवाटार पुगेका देउवाले गरे प्रचण्ड र माधवसँग वार्ता

पदाधिकारी बैठक छाडेर बालुवाटार पुगेका देउवाले गरे प्रचण्ड र माधवसँग वार्ता

फाइल तस्बिर


सागर न्यौपाने
फागुन ७, २०८० सोमबार २२:५०, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्ने प्रतिवेदनलाई लिएर सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीचको विवाद दुई दिनदेखि चलिरहेको छ।

सोमबार सभापति देउवाले गोदवारीमा महासमिति बैठक उद्घाटन गर्न जानुअघि नै महामन्त्री थापालाई मनाउने कोसिस गरेका थिए।

तर, आगामी निर्वाचनमा चुनावी गठबन्धनसहितका विषयलाई लिएर आफूले सांगठनिक प्रतिवेदनमा उल्लेख गरेको कुरा संशोधन नगर्ने पक्षमा छन्। बरु सभापति देउवाको सुझाव पनि आफूले महासमिति बैठकमा राखिदिने तर सांगठनिक प्रतिवेदनमा दायाँबायाँ गर्न नसक्ने अडानमा यथावत् छन्।

गगनको प्रतिवेदनलाई लिएर सभापति देउवाले बूढानीलकण्डमा आइतबार बिहान र साँझ दुई पटक संवाद गरे। तर महामन्त्री थापाले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने कुरा सांगठनिक प्रतिवेदनबाट नहटाउने अडान सोमबार गोदावरी जाँदा र त्यहाँबाट फिर्ता पनि राखिरहे।

उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदनमा ती कुरा राख्ने भन्दा पनि आफ्नो धारणाका रुपमा गोदावरी लैजान सुझाएका थिए। देउवासँग आइतबार र सोमबार भएका चरण चरणका छलफलबाट गगन टसमस भएनन्।

यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धनलाई टिकाएरै लैजाने निष्कर्षमा रहेका देउवाले गोदावरीमा भाषण गर्दै चुनावी तालमेलका कुरा त्यहीबेला गरौँला भन्दै अहिलेललाई गठबन्धन तलमाथि नहुने जवाफ गगनलाई दिए।

यति भनेर फर्किएपछि देउवाले लगत्तै बूढानीलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाए। 

सोमबार साँझको बैठकमा पनि सहमति जुट्न नसकेपछि सभापति देउवा कोसीमा माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बूढानीलकण्ठबाट बालुवाटार सोझिए।

पार्टी पदाधिकारी र पूुर्वपदाधिकारीहरूको बैठक चल्दै गर्दा उपसभापति पूर्णबहादुर खड्कासहित उनी बालुवाटार पुगेका थिए।

गठबन्धन गर्दा कांग्रेसले माओवादीलाई पटक पटक धोका भएको भनेर चिढिएका प्रचण्ड महामन्त्री गगन थापाको प्रतिवेदनलाई लिएर सशंकित भएको अवस्थामा देउवा बालुवाटार पुगेका हुन्।

बालुवाटारमा देउवा र खड्का मात्रै पगेका थिएनन्। गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आइसकेका थिए। 

कांग्रेस बैठक थाती राखेर बालुवाटार छिरेका देउवाले त्यहाँ प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन तलमाथि नहुने कुरामा आश्वस्त पारेको स्रोतले जनाएको छ। 

गठबन्धनका नेताहरूले यसअघि पनि संकट परेका बेला भेट्ने गरेका थिए। यस पटक महासमिति बैठकमा दस्तावेजलाई लिएर कांग्रेसमा गम्भीर किचलो देखिँदा त्यसका बाछिटा गठबन्धनमा पनि पर्ने चिन्ता छ। 

यस्तोमा देउवा र नेपालसमेत जुटेर प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पार्ने प्रयास गरेको स्रोतले जनाएको छ। 

‘संकट परेका बेला भेट्नुपर्छ भन्ने गठबन्धनका नेताहरूको मान्यता हो’, अध्यक्ष नेपालनिकट स्रोतले भन्यो, ‘कोसी प्रदेशमा कांग्रेसको भूमिकालाई लिएर प्रचण्ड रुष्ट भएका बेला गठबन्धनका शीर्ष नेताहरू जुट्दै शंका आशंका मेट्ने काम गरेका छन्।’

गठबन्धनका तीन शीर्ष नेतासहितको यो बैठकमा सत्ता गठबन्धन टिकाउने, सरकार बलियो बनाउने र मन्त्री फिर्ताको विषयमा पनि कुरा भएको स्रोतले जनाएको छ।

कांग्रेस महामन्त्री थापको प्रतिवेदनलाई लिएर पनि बालुवाटारमा कुरा भएको दाबी ती नेताले गरेका छन्। 

‘शीर्ष नेताहरूको निष्कर्ष भनेको थापाको प्रतिवेदनमा उल्लेखित कुराले गठबन्धनलाई असर गर्दैन भन्ने रह्यो’, उनले भने, ‘गगनको प्रतिवेदन महासमिति बैठकमा पेश हुँदैमा पनि गठबन्धनको एकता तत्काल तलमाथि पर्ने वा संकट आउन सक्ने भन्ने होइन। सबै नेताहरू यो कुरामा कन्भिन्स हुनु हुन्छ।’

यद्यपि बैठकमा नेताहरूले महासमितिमा लैजाने सांगठनिक प्रतिवेदनबारे मंगलबार बिहानसम्म फेरि मनाउने प्रयास गर्न पनि सभापति देउवालाई सुझाएका छन्। 

कांग्रेस महासमिति बैठकमा उपभापति पूर्णबहादुर खड्काको नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयबारे प्रतिवेदन पेश गर्दैछन्। तर कांग्रेसका चर्को विवाद भने महामन्त्री थापाको प्रतिवेदनले जन्माएको छ। जुन अहिले सत्ता गठबन्धनमा पनि प्रवेश गरेको छ।

खड्का र शर्माको प्रतिवेदनमा समस्या नदेखेका देउवाले थापाको प्रतिवेदमा राखिएका केही विषयबस्तु संशोधन गर्न निर्देशन दिएका थिए। तर, थापा अहिलेसम्म तयार छैनन्। थापा आफ्नो अडानबाट टसमस नहुँदा यसले सत्ता गठबन्धनमा पनि प्रवेश पाएको हो।

शनिबार, आइतबार र सोमबार बिहान भएको छलफलमा थापाले संशोधन नगरी सोझै हलमा प्रतिवेदन लैजाने अडान छाडेनन्। 

सोमबार उद्घाटन भएको महासमिति बैठकको मंगलबारदेखि बन्दसत्र सुरु हुँदैछ। सभापति देउवाले चुनावी गठबन्धन गर्ने-नगर्ने निर्णय अहिले गर्न नहुने बताउँदै परिस्थिति अनुसार निर्णय हुने बताएका थिए। तर गगन भने २०८४ को चुनावमा कांग्रेस एक्लै जानुपर्ने कुरालाई महासमितिमा लैजाने कुरामा अड्डी कसेर बसेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .