ad ad

राजनीति


एकपछि अर्को एमाले नेता चारित्रिक विवादमा, कारबाहीका लागि मागियो सुझाव

एकपछि अर्को एमाले नेता चारित्रिक विवादमा, कारबाहीका लागि मागियो सुझाव

नेपालखबर
फागुन ९, २०८० बुधबार २०:२८, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी छलफल मंगलबारदेखि पार्टी मुख्यालय, ललितपुरमा जारी छ।

बैठकको सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राखेका थिए। त्यस क्रममा उनले वर्ष २०८१ लाई पार्टी शुद्धीकरण वर्ष मनाउन प्रस्ताव गरेका थिए। नेता–कार्यकर्ताहरूमा विचलन देखिएकाले शुद्धीकरण अभियान नै चलाउनुपर्ने आवश्यकता पनि उनले दर्शाएका थिए।

‘पार्टीका कतिपय नेता, कार्यकर्ता र जनप्रतिनिधिको आचरण र व्यवहारमा गम्भीर विचलन देखा परेका छन्, ’ उनको भनाइ थियो, ‘प्रश्नहरू सामाजिक सञ्जाल, मिडिया र जनताको लेभलबाट उठेका छन्। यसमा कडाइ नहुँदा यो व्यवहार बढ्यो। जिम्मेवार नेताकार्यकर्ता र जनप्रतिनिधिहरू आर्थिक लेनदेन, सार्वजनिक र व्यक्तिगत ठगी काण्ड, चारित्रिक रूपमा विभिन्न काण्डमा परेका समाचार आइरहेका छन्। खानपिन र उठबसमा पनि अनुशासनहीनता बढेको छ।’

पछिल्ला केही वर्षयता पार्टीका नेता कार्यकर्ताको आचरणको विषय ओझेल पर्दा व्यक्तिका कारण पार्टीले प्रश्नको सामना गर्नु परिरहेको र पार्टी शुद्धीकरणको अभियान निर्ममतापूर्वक लैजानुपर्ने उनको भनाइ थियो। यस्ता आचरणगत र व्यवहारगत विचलन भएकालाई कारबाहीको प्रक्रियामा जानुपर्ने धारणा पनि उनले राखेका थिए।

पार्टी अध्यक्षको प्रस्तुतिपछि एमाले बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुद्दीकरणबारे अवधारणा प्रस्तुत गरेका छन्। उनले विचारमा स्पष्टता, सुदृढ संगठन, कम्युनिष्ट आचरण र प्रभावकारी जनशैलीको आवश्यकता औँल्याए।

पोखरेलले प्रस्तुत गरेको पार्टी शुद्धीकरण र सुदृढीकरणको अवधारणामा लेखिएको छ, ‘पार्टीमा समस्या कहाँ रहेका छन्? सच्याउनुपर्ने/सुधार गर्नुपर्ने विषयहरू केके हुन्? पार्टीको प्रभावकारिताका लागि केके गरिनुपर्छ? देखापरिरहेका समस्यालाई चिन्हित गर्ने र समाधान गर्ने सम्बन्धमा सिंगो नेतृत्वपंक्ति यी विषयमा एक ठाउँमा उभिनुपर्ने र एउटै आवाजमा बोल्नुपर्ने आवश्यकता छ।’

उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमै शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको प्रसंग पनि स्मरण गराएका छन्।

महाधिवेशनमा मुख्यगरी दुईटा कुरामा केन्द्रित रही त्यो अभियान सञ्चालन गर्ने कुरा गरिएको भन्दै उनले लेखेका छन्-

क) गुटबन्दी, भ्रष्टता र सांस्कृतिक विचलनका विरूद्ध पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने।

ख) पार्टीको प्रचार कार्यलाई चुस्त, प्रभावकारी र गुणस्तरीय बनाउने।

पोखरेलले अध्ययन र प्रशिक्षणको कमीका कारण पार्टीले अवलम्बन गरेका सिद्धान्त, नीति र कार्यक्रम अध्ययन र सही बुझाइ र कार्यान्वयन गर्न नसकिएको अवधारणापत्रमा उल्लेख गरेका छन्। वैचारिक कामको अभावमा अवसरवाद र संगठनात्मक अराजकता तथा अनुशासनहीनता मौलाएको उनले भनेका छन्।

यस्तै उनले पार्टी सदस्यतामा मापदण्ड पालनामा समस्या, ठूला आकारका कमिटी, तिनको सञ्चालनमा समस्या, वैधानिक व्यवस्थाअनुसार अधिवेशन गर्ने समस्या, दक्षिणपन्थी अवसरवाद, संगठनात्मक अराजकता र गुटबन्दीको समस्या पनि औँल्याएका छन्।

मापदण्डविपरीत कमिटीहरू बन्नु, पार्टी काम र कार्यकर्ताहरूको मूल्याङ्कनको समस्या, पहिचानको मुद्दामा समस्या अनि आदर्श र व्यवहारबीचको अन्तर्विरोध पनि समस्याका रूपमा उल्लेख गरेका छन्।

अहिले देखापरिरहेका र व्यावहारिक हिसाबले नै हल गरिनुपर्ने समस्याहरूको सूचीमा भने निम्न ६ वटा बुँदा उल्लेख गरेका छन्–

क) वैचारिक स्पष्टता (बुझाइ र गराइमा एकरूपताको समस्या),

ख) पार्टी कमिटीहरूलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने समस्या,

ग) पार्टी सदस्यता वितरण गर्ने, विस्तार र गुणस्तरमा वृद्धि गर्ने कुरामा समस्या,

घ) पार्टी प्रवेश गराउने कुरालाई व्यवस्थित बनाइनुपर्ने,

ङ) पारदर्शिता, असल आचरण, स्वच्छता र जनशैलीको विकास,

(च) जनसम्पर्क/जनसम्बन्धलाई विस्तार गर्नुपर्ने कुरामा समस्या।

समस्याको प्राथमिकताका आधारमा छलफल गरिनुपर्ने भन्दै उनले कमिटी प्रणालीलाई मजबुत बनाउनुपर्ने, सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित बनाउनुपर्ने, जनसम्बन्धलाई नयाँ स्तरमा विकास र विस्तार गर्नुपर्ने, पार्टी प्रवेशलाई व्यवस्थित र अभिलेखबद्ध बनाउनुपर्नेलगायतका प्रसंग उल्लेख गरी पाँचौँ बुँदामा पारदर्शी जीवनशैली, स्वच्छता र असल आचरण तथा जीवनशैलीको अवलम्बनका बारेमा केन्द्रीय सदस्यहरूसँग सुझाव मागेका छन्।

त्यस क्रममा उनले प्रश्न गरेका छन्–

  • नेता, कार्यकर्ताहरूको जीवनशैलीका बारेमा केही भन्नु छ?
  • नेता, कार्यकर्ताहरूको जीवनको स्वच्छताबारे के-कस्ता कुराहरू उठ्ने गरेका छन्?
  • नेता, कार्यकर्ताहरूमा कस्ता-कस्ता खराब आचरणहरू देखिएका छन्? त्यस कारणबाट जनतामा परेको प्रभाव वा असर के छ? त्यसलाई सच्याउन के-के गर्नुपर्ला?
  • खराब आचरण र चरित्र भएका नेता-कार्यकर्ताहरूलाई कस्तो कारबाही गरिनुपर्छ?

उनले पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको आवश्यकता रहेको बताउँदै केन्द्रीय कमिटी बैठकमा खुलस्त छलफल गरी सुझाव दिन आग्रह गरेका छन्।

बैठकका सहभागी सदस्यहरूको प्रस्तुतिपछि त्यसमा आधारित भएर शुद्धीकरण/सुदृढीकरणका लागि स्थायी कमिटी या सचिवालयले ठोस योजना प्रस्तुत गर्ने उनको भनाइ छ।

बझाङका ऐन महर, जुम्लाका सुरतबहादुर शाही, मुगुका मोहन बानियाँ, एमाले कर्णाली प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष गुलाबजंग शाह, कालिकोटका कुर्मराज शाही मात्र होइन, भक्तपुरका महेश बस्नेतलगायत चारित्रिकरूपमा विवादित भएका छन्।

कतिपय नेताका काण्ड बाहिर छताछुल्ल भएका छन् भने केहीका विरुद्ध पार्टी नेतृत्वसमक्ष उजुरी पुगेका छन्। यी बग्रेल्ती घटनाहरूपछि एमाले अध्यक्ष ओली पनि आक्रोशित छन्। त्यसैले शुद्धीकरण अभियान चलाउनुपर्ने प्रस्ताव राखेका छन्।

यो बैठकपछि एमालेले शुद्धीकरणका लागि कस्तो योजना बनाउँछ, त्यो भने प्रतीक्षाकै विषय छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .