ad ad

राजनीति


बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

नेपालखबर
फागुन १०, २०८० बिहिबार ११:५९, काठमाडौँ

सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनाको विषयमा सांसदहरूले उठाएको विषयको जवाफ दिन रुलिङ गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने माग राख्दै अवरोध गरेका थिए। 

बालकुमारी घटनामा सरकारको छानबिन प्रतिवेदनले नै दोषी देखाएको भन्दै तत्काल पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ। त्यसबारे गत फागुन ६ गते बसेको बैठकमा नै सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराएका थिए। 

उनले सोही ध्यानाकर्षण सम्झाउँदै संसद्मा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

प्रतिपक्षी दलहरूको विरोधपछि सभामुख घिमिरेले एमाले, रास्वपा र राप्रपाका सांसदलाई बोल्न समय दिएका थिए। 

एमाले सांसद रघुजी पन्तले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरे। 

त्यस्तै, रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि बालकुमारी घटना सामान्य नभएको भन्दै दोषी देखिएका मन्त्रीलाई कारबाही गर्न माग गरे। राप्रपाका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि सोही विषय उठाएका थिए। 

त्यसपछि सभामुख घिमिरेले बैठक सुरु गर्न लाग्दा पनि प्रतिपक्षी सांसदले अवरोध गरेका थिए। 

उनीहरूको विरोध लगातार कायम गरेपछि सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेया समयमा उठेका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरे। 

लगत्तै अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .