राजनीति


राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी नछाड्दा गठबन्धन तोड्न ‘ढोक्सा थाप्ने’ एमाले रणनीति

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी नछाड्दा गठबन्धन तोड्न ‘ढोक्सा थाप्ने’ एमाले रणनीति

सागर न्यौपाने
फागुन १५, २०८० मंगलबार २१:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रिय सभा अध्यक्ष नछोड्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब बढाएका छन्।

आगामी फागुन २९ गते तय भएको चुनाव आउन १३ दिन बाँकी हुँदा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई अडान नछोड्न नेताहरूले ध्यानाकर्षण गराएका हुन्।  

मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरूले नेतृत्वलाई उदार नबन्न खबरदारी नै गरे।

‘अध्यक्षलाई साथीहरूले खबरदारी गर्नुभयो,’ माओवादी सचिव दीनानाथ शर्माले भने, ‘हाम्रो अध्यक्ष एकदमै दिलदार हुनुहुन्छ। उहाँको उदारपन फेरि देखिनुभएन, अडानमा बस्नुपर्यो भनेर सबैले हलबाट भन्नुभयो।’

‘माओवादी राष्ट्रिय सभामा ठूलो दल हो, अब सहमति अनुसार प्रधानमन्त्री छोड्नैपर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थितिमा पुग्छौँ, त्यसो गर्नुहुँदैन,’ बैठकमा नेताहरूले उठाएको भनाइ उद्धृत गर्दै सचिव शर्माले थपे, ‘राष्ट्रिय सभा अध्यक्ष अनिवार्यरूपमा हामीले लिनैपर्छ।’

राष्ट्रिय सभाका सदस्यको निर्वाचनअघि सत्ता गठबन्धनमा अध्यक्षको पद कांग्रेसलाई दिनुपर्ने समझदारी भएको भनिएको थियो। तर, कोसी प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवारमध्ये माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि माओवादीले कांग्रेसमाथि औँला उठाउन थालेको छ। 

कोसीमा सरकार बनाउँदा नै कांग्रेससँग बिच्किएको माओवादी राष्ट्रिय सभाको निर्वाचनमा थप सशंकित भएको थियो। अहिले उसले संवैधानिक परिषद्मा भोलि उपस्थितिविहीन हुन सक्ने सम्भावनालाई देखाएर राष्ट्रिय सभा अध्यक्षका लागि अडान राख्नुपर्ने बहसलाई प्राथमिकताका साथ उठाएको छ।

कांग्रेसको हालै सकिएको महासमिति बैठकमा प्रस्तुत दस्तावेज र केही निर्णयले पनि माओवादीलाई सतर्क बन्नुपर्ने ठाउँमा पुर्याएको नेताहरूको भनाइ छ।

कांग्रेसले जनयुद्धलाई ‘ध्वंसात्मक घटना’ भनेपछि 
माघ ११ मा भएको राष्ट्रिय सभा चुनावमा कोसीमा माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी रुकमिणी कोइराला निर्वाचित भएकी थिइन्। त्यसअघि माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने गठबन्धनको निर्णयविपरीत कांग्रेसको विद्रोही खेमाले एमालेसँग मिलेर केदार कार्कीलाई अघि सारेको थियो। 

यस पृष्ठभूमिमा ललितपुरको गोदावरीमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्तावले माओवादीलाई थप तरंगित बनाएको छ।

आगामी चुनावमा कुनै दलसँग पनि गठबन्धन नगर्ने, रुख चिन्हमै मत हाल्न दिने थापाको प्रस्ताव केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी सर्वसम्मतिले पारित भएको घोषणा महासमितिबाट गरिएको थियो। 

यस्तै, कांग्रेसको महासमिति बैठकस्थल बाहिरपट्टि हिन्दुराष्ट्रको माग गर्दै हस्ताक्षर संकलन भएको थियो। जसमा केन्द्रीय सदस्य शशांक कोइरालासहित १२ सयले हस्ताक्षर गरेका छन्। यसले माओवादी नेताहरू थप झस्किएका छन्।

नेपाली कांग्रेससँग माओवादी नेताहरू कतिसम्म असन्तुष्ट छन् भन्ने कुरा मंगलबार बसेको स्थायी समिति बैठकमा देखियो। पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे तीन घण्टा बसेको बैठक कांग्रेस महासमिति बैठक (फागुन ७–१०) का नीतिगत निर्णयमा केन्द्रित रह्यो। 

स्थायी समिति सदस्य ओनसरी घर्तीका अनुसार बैठकमा गम्भीर रूपमा कांग्रेसको निर्णयको भित्री आशय प्रष्ट पार्न नेतृत्वको ध्यानाकर्षण भएको छ। 

माओवादी जनयुद्धलाई ‘ध्वंसात्मक घटना’ भनेर कांग्रेसका केही नेताको अभिव्यक्ति स्वाभाविक नभएको कुरा पनि बैठकमा उठेको उनले बताइन्। 

‘संविधानविरुद्ध धावा बोल्ने गरी कांग्रेसले निर्णय गरेको छ, यसले गठबन्धनको सहमति र सहकार्य ब्रेक गर्ने काम गर्यो,’ घर्तीले भनिन्, ‘२०६३ सालमै माओवादीको जनयुद्ध स्वीकार गरेर कांग्रेसले माओवादीसँग सहकार्य गरेको होइन? त्यसबेला जनयुद्ध मान्ने, अहिले नमान्ने हुन्छ? यसले कांग्रेसले निहुँ खोजेको देखियो, यसबारे प्रष्ट धारणा आउनुपर्छ।’

स्थायी समिति सदस्यहरूले कांग्रेसका पछिल्ला गतिविधिबाट सतर्क रहन प्रचण्डको बारम्बार ध्यानाकर्षण गराएका थिए। 

५९ सदस्यीय राष्ट्रिय सभामा १८ सांसद रहेको माओवादी पहिलो दल हो। त्यही भएर पनि माओवादी नेताहरू अध्यक्ष पाउनुपर्ने बताइरहेका छन्। 

‘कृष्ण सिटौलाको नाममा माओवादी तयार भएको हो’
नेपाली कांग्रेसका नेताहरू भने यसअघि नै राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भइसकेकाले तलमाथि गर्न नहुने तर्क गर्छन्।

यतिसम्म कि कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने गरी राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाइएको उनीहरूको दाबी छ।

नेता सिटौलाका सहायोगी किरण सिटौलाले नेपालखबरलाई बताए अनुसार राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउँदा नै अध्यक्षबारे सहमति भएको थियो।

‘पहिल्यै शीर्ष तहमा भइसकेको सहमति ब्रेक होलाजस्तो लाग्दैन,’ किरणले भने, ‘कृष्ण दाइ आउने सर्तमा माओवादी तयार भएको हो।’

‘ढोक्सा थाप्ने’ एमालेको रणनीति
गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष दाबी गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुई खालका रणनीति अपनाएको देखिन्छ।

पहिलो, गठबन्धन टुटाउने उपयुक्त अवसरलाई उपयोग गर्ने, अर्थात् ढोक्सा थाप्ने।

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका शेखर कोइराला पक्षीय नेता केदार कार्कीलाई समर्थन गरेर एमालेले ‘ढोक्सा’ थापेको थियो।

यद्यपि, गठबन्धन फुटाउने त्यो योजना त्यसै घटनाबाट सफल हुन सकेन। गठबन्धन दलले कार्कीलाई नै समर्थन गरेपछि एमाले कोसी सरकारबाट बाहिरिसकेको छ।

यसपटक एमालेले माओवादी वा कांग्रेस कुनै दलका उम्मेदवारलाई मत दिने सम्भावना छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्ला दिन भइरहेको भेटले ‘मिल्न सक्ने बाटो’को खोजी भइरहेको देखिन्छ।

त्यसकै लागि एमालेका नेताहरू संवैधानिक परिषद्मा माओवादी रिक्त हुन नहुने भन्दै ‘लबिङ’ गर्न थालेका छन्। एमाले महासचिव शंकर पोखरेलले संवैधानिक परिषद्मा शक्ति सन्तुलन हुनुपर्ने माओवादीको अडान जायजै रहेको प्रतिक्रिया नेपालखबरलाई दिए।

‘एकैतिर शक्ति केन्द्रित हुने कुरा अहिलेका लागि उपयुक्त नहुन सक्छ,’ पोखरेलले मंगलबार नेपालखबरसँग भने, ‘दूरगामी हिसाबले के गर्दा मुलुकलाई हित हुन्छ र शक्ति सन्तुलन मिल्छ भनेर हामी हेर्छौं।’ 

कांग्रेस–माओवादी दुवैले दाबी नछोडे गठबन्धनमा समस्या पर्छ। त्यसबेला कुनै दललाई समर्थन गरिदिने एमालेको तयारी छ।  

‘सहकार्यको तहमा हामीले कुनै छलफल गरेका छैनौँ। सत्तापक्ष कुन रूपमा आउँछ, अनि मात्र हाम्रो रणनीति तय हुन्छ,’ महासचिव पोखरेलले थपे, ‘गठबन्धन मिलेर आए हाम्रो उम्मेदवार उठाउँछौँ, यदि गठबन्धनमै फरकफरक उम्मेदवार भए उपयुक्तताको खोजी हुन्छ।’

माओवादी–एमाले मात्र मिल्दैमा राष्ट्रिय सभा अध्यक्ष चुनाव जित्न भने सम्भव छैन। राष्ट्रिय सभा अध्यक्ष जित्न कम्तीमा ३० मत ल्याउनुपर्छ। माओवादीका १८ र एमालेका १० सांसद छन्। नपुग्ने मत जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादीलगायतलाई मिलाउनुपर्छ।

एमाले अध्यक्ष ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मिल्न तयार हुने सम्भावना क्षीण छ। यस्तो बेला उपेन्द्र यादव नेतृत्वको जसपाको साथ लिन सकिने एमाले विश्लेषण छ। 

एमालेको दोस्रो रणनीति हो, राष्ट्रिय सभा अध्यक्षमा जुन उम्मेदवार भए पनि मत दिने। त्यसो गर्दा भोलिका लागि सहकार्यको वातावरण बन्ने एमाले बुझाइ छ।त्यही भएर पनि एमालेले गठबन्धनबाट अध्यक्षको उम्मेदवार कसरी चयन हुन्छ, कुरिरहेको छ। कांग्रेस–माओवादीबीच टकराव चुलिएमा लाभ लिन सकिने विश्लेषण एमालेले गरेको छ। 

त्यसो त माओवादी नेताहरू गठबन्धन तलमाथि हुने गरी कुनै निर्णय नहुने दाबी गर्न छाडेका छैनन्। प्रचण्ड राष्ट्रिय सभा अध्यक्षको अडानमा टिकिरहने सम्भावनाबारे पनि धेरै माओवादी नेता विश्वस्त छैनन्।

तसर्थ, माओवादी अडान कहिलेसम्म कायम रहन्छ र त्यसमा कांग्रेसको प्रतिक्रिया के हुन्छ भन्नेमै एमाले रणनीतिको उपादेयता निर्भर गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .