राजनीति


सीके राउतलाई जब देउवाले नयाँ सरकार बनाउन हामीलाई साथ दिनूस् भने

सीके राउतलाई जब देउवाले नयाँ सरकार बनाउन हामीलाई साथ दिनूस् भने

नेपालखबर
फागुन २३, २०८० बुधबार १९:५४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले नेपाली कांग्रेसलाई सरकार बनाउने र गिराउने खेलमा नलाग्न आग्रह गरेका छन्।

दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सहभागी राउतले स्थीरताका लागि संसद्‌को पहिलो पार्टीले भूमिका खेल्नुपर्ने बताएको एक नेताले जानकारी दिए।

‘जनमत पार्टी देशमा स्थीरताका पक्षमा छ, एमाले–माओवादी–रास्वपा–जसपालगायत नयाँ गठबन्धन बनिसकेको अवस्थामा यसलाई ढाल्न खोज्नुको तात्विक असर पर्दैन,’ राउतको भनाइ उधृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘ जोड्ने, फोड्नेभन्दा कांग्रेसले मुलुकको स्थीरताका पक्षमा काम गरोस्।’

देउवाले सुरुमा सरकार गठनको प्रयास थालेको बताएका थिए।

‘अहिलेको गठबन्धन ढालेर नयाँ सरकार बनाउन सकिन्छ, त्यसका लागि प्रयत्न गरिरहेको छु, हामीलाई साथ दिनुस्,’ देउवाको भनाइ थियो, ‘तपाईं हामी एकठाउँ उभिए उता बहुमत पुग्दैन।’

त्यसपछि राउतले बरु कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए।

‘यो सरकार ढाल्नुभन्दा संसद्‌को पहिलो र दोस्रो दल मिलेर बरु सरकार चलाउनुस्,’ राउतको सुझाव उधृत गर्दै अर्का नेताले सुनाए। 

देउवा निवास बूढानीलकण्ठबाट फर्किएर जनमत पार्टीले सचिवालय बैठक राखेको थियो।

बैठकमा देउवाको प्रस्तावबारे राउतले ब्रिफिङ गरेका थिए।

त्यसपछि सचिवालय बैठकले मधेस प्रदेशमा मुख्यमन्त्री पद दिए प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिन सक्ने निचोड निकालेको छ।

जनमत पार्टीका सचिव बीपी साहले भने, ‘मधेस प्रदेशको नेतृत्व दिए सरकारमा सहभागी हुन सक्छौँ,  तर आजै ठोस निर्णय गरिसकेका छैनौँ।’

‘हामी त्यही निर्णयको पर्खाइमा छौँ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .