नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्नेगरी कार्यसम्पादन गर्न पनि निर्देशन दिए।
‘मेरोतर्फबाट धेरै भनिरहनुपर्ने जरुरी ठान्दिन । तपाईंहरूसँग लामो अनुभव र विज्ञता छ । जुन ढङ्गले काम गरिरहनुभएको छ, यो भन्दा गतिदिने गरी काम गरौँ, खानेपानीको हाहाकार छ, जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ,’ उनले भने।
यसअघि मन्त्री राईलाई मन्त्रालयमा सचिव आचार्यसहितका कर्मचारीले स्वागत गरेका थिए। मन्त्री राई यसअघि छोटो समय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री बनेका थिए।
अखिलको धनकुटा जिल्ला कमिटी अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको जिल्ला अध्यक्ष, किसान महासङ्घको केन्द्रीय सदस्य र नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। विसं २०७८ मा एमालेको दशौँ महाधिवेशनबाट नवनियुक्त मन्त्री राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
विभिन्न राजनीतिक गतिविधिमा सरिक भएबापत करिब साढे दुई वर्ष जेल जीवन व्यतित गरेका नवनियुक्त मन्त्री राई आन्दोलका क्रममा पटकपटक प्रहरी हिरासतमा परेका छन्। रासस
Shares

प्रतिक्रिया