राजनीति


नारायणकाजी मानेनन् राष्ट्रिय सभा अध्यक्ष बन्न, झक्कु सुवेदीलाई अघि सार्ने माओवादीको तयारी

नारायणकाजी मानेनन् राष्ट्रिय सभा अध्यक्ष बन्न, झक्कु सुवेदीलाई अघि सार्ने माओवादीको तयारी

माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा झक्कु सुवेदीलाई उम्मेदवार बनाउने तयारी गरेको छ


सागर न्यौपाने
फागुन २६, २०८० शनिबार १८:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा झक्कु सुवेदीलाई अघि सार्ने तयारी गरेको छ।

उपाध्यक्ष उर्मिला अर्याल र अर्का सांसद नारायण दाहाल पनि अध्यक्ष बन्ने कसरतमा छन्। तर, अर्याल र दाहाल दुवैको कार्यकाल दुई वर्ष मात्र बाँकी छ। 

माओवादीले पूरै अवधि भएकालाई उम्मेदवार बनाउन लागेको एक पदाधिकारीले बताए। तीमध्ये सुवेदी प्रमुख दाबेदार हुन्। त्यसो त नुवाकोटका श्रीकृष्ण अधिकारीको नाम पनि चर्चामा छ। नेताहरूले उनको पक्षमा लबिइङ गरिरहेकै छन्। 

यसबारे शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा पनि छलफल भएको थियो। ६ वर्षे कार्यकाल भएकै व्यक्तिलाई उठाउनुपर्ने धारणा शनिबारको बैठकमा उठेको थियो। 

बैठकमा सहभागी एक सांसदका अनुसार सुवेदीलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनेबारे मोटामोटी सहमति भइसकेको छ। 

‘६ वर्षे कार्यकाल झक्कु सुवेदीकै भएकाले विषय उहाँतिरै मोडिएको छ,’ ती सांसदले नेपालखबरसँग भने।

माघ ११ गतेको चुनावबाट माओवादीका ५ जना ६ वर्षे कार्यकालका लागि जितेर राष्ट्रिय सभामा पुगेका छन्।

‘धेरै साथीहरू अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ,’अर्का एक पदाधिकारीले भने, ‘यसपटक कार्यकाल हेरेर मात्र उम्मेदवार निश्चित हुन्छ।’ 

त्यही भएर स्थायी समिति सदस्य झक्कु सुवेदीलाई उम्मेदवार बनाउने लाइन बलियो बन्दै गएको ती पदाधिकारीको दाबी छ।

‘अध्यक्षमा अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालको सम्भावना थियो तर उहाँको कार्यकाल जम्मा दुई वर्ष मात्र बाँकी छ,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीका भाइ नारायण दाहाल पनि रेसमा हुनुहुन्छ तर उहाँको पनि दुई वर्ष नै बाँकी छ। त्यसैले ६ वर्ष पदावधि भएका झक्कुजी नै उम्मेदवार बन्नेसक्ने देखिन्छ।’

सुवेदी लुम्बिनीबाट निर्वाचित भएका हुन्।

अध्यक्षको चुनाव फागुन २९ गते तय भएको छ। हाल राष्ट्रिय सभामा ५८ सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने विज्ञ एक सिट रिक्त छ। 

राष्ट्रिय सभामा १८ सांसदसहित पहिलो दल रहेको माओवादी केन्द्रले एमाले–रास्वपा–जसपसहित नयाँ गठबन्धन बनाएपछि अध्यक्ष पाउने सहमति छ।

यो गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ।  

‘यसबारेमा पार्टीको बैठकले औपचारिक निर्णय गर्न बाँकी नै छ, सायद उम्मेदवारका विषयमा अलि बृहत् कुरा पनि होला,’ अर्का पदाधिकारीले भने, ‘प्रधानमन्त्रीले जस्तोसुकै निर्णय पनि गरिदिन सक्नुहुन्छ।’

उपाध्यक्ष अर्याललाई अध्यक्ष बनाउने मत पनि पार्टीभित्र बलियो छ।

त्यसो त पदाधिकारी बैठकमा नारायणकाजी श्रेष्ठलाई अध्यक्ष बनाउने प्रस्ताव पनि परेको थियो। तर, सक्रिय राजनीति गर्ने व्यक्ति संवैधानिक पदमा जानु नहुने भन्दै उनले मानेनन्। 

श्रेष्ठ अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री छन्। नयाँ बनेको मन्त्रिमण्डलमा नुवाकोटका हितबहादुर तामाङ पर्यटनमन्त्री बनेकोले सोही ठाउँका श्रीकृष्ण अधिकारीको सम्भावना कम भएको नेताहरु बताउँछन्। 

सिनियर नेताबाट अध्यक्ष बनाउँदा सुवेदी पर्नसक्ने उनीहरुको दाबी छ।

‘हुन त अन्तिमसम्म यही हुन्छ भनिहाल्न कठिन छ। हाम्रो अध्यक्षको मुड फ्याट्टै परिवर्तन पनि हुनसक्छ,’ अर्का नेताले ठट्टा गर्दै भने।

यसपटक प्रचण्डले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउँदा पनि जनयुद्धका घाइते, अवसर नपाएकालाई स्थान दिएका थिए।

‘पूरै अवधि पाउने भएकोले किन नगर्ने भन्ने पनि छ, किनकि आगामी ०८४ को प्रतिनिधि सभा चुनावपछि माओवादीबाट संवैधानिक पदमा कायम रहने भनेकै राष्ट्रिय सभा अध्यक्ष मात्र हो,’ ती नेताले भने।

उपमहासचिव गिरिराजमणि पोखरेलले उम्मेदवारको विषयमा सल्लाह भइनसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .