ad ad

राजनीति


बागमतीको सत्ता हेरफेरका लागि प्रधानमन्त्रीको विश्वासको मत कुर्दै दलहरू

बागमतीको सत्ता हेरफेरका लागि प्रधानमन्त्रीको विश्वासको मत कुर्दै दलहरू

फाइल तस्बिर


सुनिता विष्ट
फागुन २७, २०८० आइतबार १७:५१, हेटौंडा

बागमती प्रदेश सरकार गठनको प्रक्रिया चैत लागेपछि मात्रै हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दालाल (प्रचण्ड) ले आउँदो बुधबार विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल हुने बागतमी प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताए। 

पहिला केन्द्रमा विश्वासको मत लिएपछि मात्रै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुने उनको भनाइ छ। 

हालसम्म प्रदेशमा सरकार गठनका बिषयमा केन्द्रबाट कुनै निर्देशन नआएको मुख्यमन्त्री जम्मकट्टेल बताउँछन्।

यता, प्रदेशमा नेतृत्व परिवर्तनकै चर्चा चलिरहेका बेला माओवादी केन्द्रका मुख्यमन्त्री जम्मकट्टेलले नै निरन्तरता पाउँछन् कि? एमाले अथवा एकीकृत समाजवादीको भाग आउँछ भन्ने अन्यौल छ। 

केन्द्रमा प्रधानमन्त्री नफेरिएको उदाहरण दिँदै माओवादीबाट निर्वाचित प्रदेश सांसदहरुले प्रदेशको नेतृत्वले पनि निरन्तरता पाउने बताउँदै आएका छन्। 

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् सांसद प्रेमबहादुर पुलामीले बागमतीको नेतृत्व माओवादीको हातबाट अन्त नजाने बताउँछन्। 

‘केन्द्रमा जसरी प्रधानमन्त्री प्रचण्ड नै कायम भए त्यसैगरी बागमतीमा पनि जम्मकट्टेलकै नेतृत्वमा सरकार गठन हुन्छ,’ उनले भने।

यता, एमाले पनि केन्द्रको विश्वासको मत कुरिरहेको एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया बताउँछन्। 

‘पहिला प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। अनि केन्द्रको गठबन्धन पाको भएपछि मात्रै प्रदेशतिरको चहलपहल सुरु हुने हो,’ उनले भने, ‘सरकार विस्तार मात्रै होइन, मुख्यमन्त्री नै फेरिन सक्ने सम्भावना अधिक छ। केन्द्रबाटै मुख्यमन्त्रीको भागबन्डा भएर आउँछ। त्यसपछि मात्रै सरकार गठन प्रक्रियाको गाँठो फुक्छ।’ 

उनले थपे, ‘केन्द्रमा टुंगिएपछि प्रदेशमा गृहकार्य गर्छौं। प्रधानमन्त्रीको विश्वासको मतपछि सरकार गठनमा तीव्रता दिन सुरु हुन्छ।’

पहिलो सरकार गठनका बेला एमाले, माओवादी र राप्रपाको गठबन्धन बन्दा बागमतीमा एमालेकै समर्थनमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। 

त्यसबेला जम्कट्टेल २ वर्ष मुख्यमन्त्री रहने र त्यसपछिको दुई बर्ष एमालेले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको थियो। 

त्यही सहमतीलाई पछ्याउने हो भने अहिले नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्रीकै विषयमा छलफल हुनुपर्ने एमालेका सांसदहरु बताउँछन्।

११० सांसद रहेको बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ। बागमती सरकारका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ। हाल गठबन्धनको एमालेसँग २७, माओवादीसँग २१ र एकीकृत समाजवादीसँग ७ सिट छ। जुन संख्या ५५ मात्रै हुन आउँछ। 

यस अवधिसम्म मुख्यमन्त्री जम्मकट्टेलले दुई पटक विश्वासको मत लिइसकेका छन्। गत ३ माघ २०७९ मा १०५ सांसदको समर्थन रहेको उनले दोस्रो पटक ६७ मत पाएका थिए। 

दुवै पटकको विश्वासको मतमा हाम्रो नेपाली पार्टी (हानेपा) ले समर्थन गरेको थियो। यदी जम्मकट्टेलले नै निरन्तरता पाए। अन्य दलको नेतृत्वमा सरकार बने हानेपाले पुनः विश्वासको मत दिनेमा तीन राजनीतिक दल विश्वस्त देखिएका छन्। 

हानेपाको बागमती प्रदेश सभामा दुई सिट छ। हानेपाले सघाएको खण्डमा ५७ सांसदको मत आउँदा सरकारलाई बहुमत पुग्छ। नत्र सरकार गठनमै अन्योल लम्बिने सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .