राजनीति


अप्रत्याशित लाग्ने गरी बनेको गठबन्धन टिकाउन चुनौती छ : प्रदीप ज्ञवाली

अप्रत्याशित लाग्ने गरी बनेको गठबन्धन टिकाउन चुनौती छ : प्रदीप ज्ञवाली

फाइल फोटो


नेपालखबर
फागुन २८, २०८० सोमबार १४:५६, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्।

नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनै पनि खालको बाह्य शक्तिको दौडधुपबिना नै नयाँ समीकरण बनेको बताएका हुन्।

उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरूले, स्वदेशकै खेलाडीहरूले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रूपमा रहेको भने स्वीकार गरे।

ज्ञवालीले भने, ‘विगतमा भन्दा तपाईँहरूले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरूको दौडधुप भएको देखिएन। एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो। भन्नुको तात्पर्य चाहिँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरूले निर्माण गरेको एउटा सहकार्य हो। अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौति हामीसँग छ।’

उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्सन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए।

उपमहासचिव ज्ञवालीले कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको पनि दोहोर्याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .