राजनीति


पश्चिमाहरूले संसारभर फैलाएको निजीकरणको असरले नेपाल प्रभावित बन्यो : केसी

पश्चिमाहरूले संसारभर फैलाएको निजीकरणको असरले नेपाल प्रभावित बन्यो : केसी

नेपालखबर
चैत १, २०८० बिहिबार २१:४७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको अर्थतन्त्र कमजोर हुनाको कारण पश्चिमाहरूको प्रभाव रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै अध्यक्ष केसीले पश्चिमाहरूले फैलाएको निजीकरणको असर नेपालमा परेका बताए।

पश्चिमाहरूले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निजीकरणको अवधारणा संसारभर फैलाएको र नेपाल पनि प्रभावित भएको केसीको भनाई थियो ।

‘जब पश्चिमाहरूले सरकारले त्यो देशको जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा लिन हुन्न, त्यो व्यापारीलाई दिने भने’ उनले भने, ‘नेपालको अहिलेको अर्थतन्त्रको अवस्थाको मुख्य सैद्धान्तिक कारण यहाँनेर छ।’

उनले नेपाल पूर्णरुपमा स्वतन्त्र राष्ट्र नरहेको पनि बताएका छन्।

नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको भन्दै केसीको यहाँको जलस्रोतलगायत उत्पादनका साधन विदेशीको पोल्टामा पुगेको स्पष्ट पारे।

उनले निरंकुश पञ्चायतकालमा बरु नेपाल अहिलेभन्दा आत्मनिर्भर रहेको चर्चा गरे। केसीले त्योबेला उद्योगधन्दा र कलकारखाना अहिलेभन्दा धेरै रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षाको जिम्मा पनि धेरै हदसम्म राज्यले लिएको बताए।

पश्चिमाहरुको प्रभावका कारण नेपाल अहिले पनि अर्ध औपनिवेशिक अवस्थामा रहेको सांसद केसीले स्पष्ट पारे।

‘अहिले पनि हामी पूर्ण रूपले स्वतन्त्र छैनौं। नेपालका प्राकृतिक साधन स्रोतमाथि हाम्रै स्वामित्व छ कि छैन?’ अध्यक्ष केसीले प्रश्न गरे, ‘नेपालको सबैभन्दा ठूलो स्रोत जलस्रोत हो। यसमाथि कब्जा कसको छ? छातीमा हात राखेर भन्नुस् त– नेपालका ठूला नदी नालामाथि कसको कब्जा छ? कोशी कसको कब्जामा छ? महाकाली कसको कब्जामा छ? माथिल्लो कर्णाली कसको कब्जामा छ?’

नेपालले लिएको वर्तमान अर्थतन्त्र सम्बन्धी नीतिमै पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ । नेपाली स्रोतमाथि नेपालकै स्वामित्व स्थापित हुने गरी राज्यले नीति लिनुपर्ने केसीको सुझाव छ।

यस्तै, शिक्षामा उदारीकरण भएसँगै नेपालको पाठ्यक्रममा विदेशी प्रभाव परेको पनि उनले बताए।

नेपाल पूर्ण स्वतन्त्र हुन नसकेको वा अर्ध औपनिवेशिकतामा रहेकाले यस्तो भएको अध्यक्ष केसीको जिकीर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .