राजनीति


‘बाबुराम एक्लियो’ भन्नेहरूलाई बाबुरामको सुझावः चिन्ता त्यता हैन, यता गरौँ

‘बाबुराम एक्लियो’ भन्नेहरूलाई बाबुरामको सुझावः चिन्ता त्यता हैन, यता गरौँ

नेपालखबर
चैत ११, २०८० आइतबार ६:५५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई एक्लियो, हरायो भन्नेहरूको ध्यान मोड्ने प्रयास गरेका छन्। 

वर्तमान राजनीतिक परिस्थितिको आलोचना गर्दै डा. भट्टराईले सार्वजनिक बहसलाई व्यक्ति होइन, मुद्दा केन्द्रित गर्न आग्रह गरेका छन्। 

तीन बुँदामा प्रश्न राख्दै उनी लेख्छन्, ‘अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन, मुद्दा-केन्द्रित बनाउने कि? बाबुरामहरू त इतिहासमा आउँछन्, जान्छन्। इतिहासले सबैको हिसाब राखिहाल्छ नि!’

यस्तो छ उनको पूरा भनाइ-

धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।

चिन्ता त्यता हैन, यता गरौँ-

१.वर्षमा तीनचोटि गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन,गफाष्टक,आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजिनरी नेतृत्वसहितको राजनीतिक स्थीरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थिरताबिना देश कसरी सुशासित र समृद्ध हुन्छ? यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने?

२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अर्बौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भइसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संसथाहरूमार्फत भ्रष्टाचारीलाई कारबाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउँला’ भनेजस्तै हुन्न र? अधिकार-सम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने?

३. दशकौँदेखि ३/४ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको, व्यापार घाटा र वैदेशिक ऋण बर्सेनि चुलिँदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुँदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भइरहेको आदि गम्भीर अर्थ-राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान्? आदि इत्यादि!

अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन, मुद्दा-केन्द्रित बनाउने कि? बाबुरामहरू त इतिहासमा आउँछन्, जान्छन्! इतिहासले सबैको हिसाब राखिहाल्छ नि!

हालै नेसपा पार्टी दुई समूहमा विभाजन भएको छ। यसका अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ भने बाबुराम पक्षले त्यसमा संलग्न नेताहरूलाई बर्खास्त गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .