राजनीति


श्रेष्ठको चीन भ्रमणका उपलब्धि : तत्काल १४ नाका खोलिने, काठमाडौँ-ल्हासा बस चलाउने

श्रेष्ठको चीन भ्रमणका उपलब्धि : तत्काल १४ नाका खोलिने, काठमाडौँ-ल्हासा बस चलाउने

नेपालखबर
चैत १९, २०८० सोमबार १३:०, काठमाडौँ

कोभिड महामारीका बेला बन्द भएका १४ वटा परम्परागत व्यापार नाका खोल्न चीन तयार भएको उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।

थप नाका खोल्ने सहमतिलाई उनले आफ्नो चीन भ्रमणको मुख्य उपलब्धि भनेका छन्।

चैत ११ गते चीनका लागि प्रस्थान गरेका मन्त्री श्रेष्ठ सोमबार फर्किएका हुन्। स्वदेश फिर्तीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमण उपलब्धिबारे जानकारी दिएका थिए।

रसुवागढी, तातोपानी, यारी तथा नेचुङ नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका र अब १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको उनको भनाइ थियो। यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको पनि उनले बताए।

नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको जानकारी पनि उनले दिए।

उनका अनुसार, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे पनि छलफल भएको छ।

चीन भ्रमण गर्न चाहने नेपालीलाई भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको र त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए। चिनियाँ पर्यटकलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ।

मन्त्री श्रेष्ठका अनुसार, चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ।

नेपालको काठमाडौँ र चीनको स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा पुनः सुचारु गर्न दुवै पक्ष सकारात्मक भएका छन्।

राँगाको मासु, घाँस तथा औषधीय जडिबुटीका उत्पादन, तरकारी तथा फलफूलजस्ता नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको र यसमा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री श्रेष्ठले बताए।

नेपाल चीन सीमाका केही क्षेत्रमा बहुउपयोगी प्रयोगशाला स्थापना गर्न नेपालको अनुरोधलाई पनि चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।

नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी उनले दिए।

मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, नेपालका काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन्। यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा छ।

काठमाडौँमा हुने तेस्रो नेपाल लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको र यसमा उच्चस्तरीय नेतृत्वले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका जानकारी पनि मन्त्री श्रेष्ठले दिए।

श्रेष्ठको चीन भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले पूर्वलगानी सम्मेलन पनि आयोजना गरेको थियो। त्यहाँ पनि मन्त्री श्रेष्ठले नेपालको लगानी सम्मेलनमा भाग लिन अनुरोध गरेका थिए।

चीनमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक मनाउन दुई देशका सम्बन्धित निकायहरूले मिलेर काम गर्ने सहमति भएको छ। यसबाट नेपालमा चिनियाँ पर्यटकहरू बढ्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गरे।

उनका अनुसार, अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारणलाइन आदिको विस्तार गरी नेपाल चीन बीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्। नेपालको औद्योगीकरण गर्न, उत्पादनशीलता बढाउन र जनशक्ति विकास गर्न संयुक्त रूपमा काम गर्ने बारेमा महत्त्वपूर्ण छलफल भएको छ।

मन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिट्ब्युरो सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीलाई मैले नेपाल भ्रमणका लागि निम्ता पनि दिएका थिए। वाङ यीले यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराएको श्रेष्ठले बताए।

भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल, छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .