ad ad

राजनीति


इलाम पुगेर गगनले भने : पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नु पर्छ

इलाम पुगेर गगनले भने : पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नु पर्छ

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार १४:८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यतिबेला इलाम क्षेत्र नम्बर २ को मैदानमा छन्।

त्यहाँ वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार डम्बर खड्काको पक्षमा माहोल बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै थापा पनि जुटेका छन्।

उनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित कांग्रेसको कोणसभालाई सम्बोधनका क्रममा पूर्वी पहाडमा उठेको पहिचानको आवाजलाई सम्मानका साथ सम्बोधन गर्नुपर्ने बताए। 

‘उत्तेजना र भडकावको राजनीति गर्नेले एकछिन जुरुक्क उचाल्न सक्छ। म यहाँ आएर उत्तेजक भाषण गरेर मानिसलाई उचाल्न सक्छु। झापा झरेर त्यहाँका मान्छेलाई पनि उचाल्न सक्छु। मैले मात्रै होइन अरुले पनि उचाल्न सक्छन्’, उनले भने, ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ।’

महामन्त्री थापाले कांग्रेसले पटक पटक घाउ खाएको पनि बताए। ‘संविधानसभापछि दुईतिहाइ बहुमत थियो कांग्रेसको। तर कांग्रेसले कहिले पनि उत्तेजक कुरा गरेन’, उनले भने, ‘अहिलेको संविधान बनाउने क्रममा माओवादी साथीहरूले उपद्रव गरेका थिए। त्यो बेलामा एमालेले माओवादीलाई ठेगान लगाऊँ भनेको थियो। तर कांग्रेसले देशलाई सम्हालेर अगाडि बढायो।’

त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालीन कांग्रेस सभापति सुशील कोइरालालाई देखाउँदै माओवादीलाई ठेगान लगाउनुपर्ने बताएको दाबी थापाले गरे।

‘त्यसबेला हाम्रा सभापति सुशील कोइरालालाई देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई ठेगान लगाइदिऊँ भन्नु भएको थियो’, उनले भने, ‘उहाँको भनाइअनुसार कांग्रेसले पनि माओवादीलाई देखाइदिऊँ भनेर हिँडेको भए देशले दु:ख पाउँथ्यो। तर हामीले सम्हालेर आयौँ।’

अहिले पूर्वी पहाडमा उठेको पहिचानको मुद्दालाई पनि त्यसैगरी सम्हालेर अघि बढाउँदै सम्बोधन गर्नु आवश्यक रहेको थापाले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .