राजनीति


प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको होः देउवा

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको होः देउवा

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १५:४४,

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन्।

सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उनले फागुन ७ गते नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका छन्। विसं २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले बताएका छन्।

‘प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो’, विज्ञप्तिमा उल्लेख छ। यसले जातजाति, धर्म, लिंग वा वर्गको आधारमा हुने भेद्भाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको सभापति देउवाले उल्लेख गरेका छन्।

प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उनको भनाइ थियो। देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उनले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने बताएका छन्। प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad