ad ad

राजनीति


एकीकृत समाजवादी : महासचिवमा घनश्यामलाई जगन्नाथले चुनौती दिने

अध्यक्षमा माधवलाई टक्कर दिने झलनाथको तयारी, सहमतिको प्रयास हुँदै
एकीकृत समाजवादी : महासचिवमा घनश्यामलाई जगन्नाथले चुनौती दिने

सागर न्यौपाने
जेठ १०, २०८१ बिहिबार २०:३१, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गएसँगै नेताहरूले नेतृत्व हात पार्ने कसरत सुरु गरेका छन्। अहिलेसम्म अध्यक्ष पदका प्रमुख दाबेदारमा माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दाबेदार देखिएका छन्। 

तर, तल्लो तहका कतिपय प्रतिनिधिले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने आवाज उठाइरहेका छन्। उनीहरूले महासचिव घनश्याम भुसाललाई अध्यक्षको तयारी गर्न सुझाव दिएका छन्। यद्यपि, भुसालले यसबारे मुख खोलेका छैनन्। 

‘घनश्यामजीले नेतृत्व लिनेगरी कुनै तयारी गर्नुभएको छैन। बाहिर भन्नुभएको पनि छैन। उहाँको मनमा के छ त कसरी थाहा पाइन्छ र?’ सो पार्टीका एक नेताले नेपालखबरसँग भने।

नेकपा एमालेसँग विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएपछि नेपाल अध्यक्ष बनेका थिए। 

यदि भुसालले अध्यक्षमा दाबी पेस नगरे महासचिव सुरक्षित गर्न निकै कठिन हुने ती नेताले बताए।

‘किनकि महासचिव बन्न उपमहासचिव जगन्नाथ खतिवडा लागिरहनुभएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘प्रचार विभाग प्रमुख भएकाले देशव्यापी नेटवर्कको फाइदा उहाँलाई छ। फेरि नेताहरू मिलाउन उहाँले जान्नुभएको छ। नेपाल र खनाल दुवैको साथ जगन्नाथजीले पाउन सक्नुहुन्छ।’

उता अर्का उपमहासचिव प्रकाश ज्वाला पनि महासचिवको दौडमा छन्। उनी सल्यानबाट निर्वाचित सांसद हुन्।

भुसाल, खतिवडा र ज्वाला नै दाबेदार भएपछि चुनावबाटै महासचिव चयन हुने सम्भावना छ। 

चुनाव भयो भने अध्यक्ष नेपालले खतिवडालाई समर्थन गर्न सक्छन्। उनी सम्मानित नेता खनालसँग पनि निकट छन्। दुवैैको समर्थन लिएर खतिवडा महासचिव बन्ने रणनीतिमा छन्।

महाधिवेशन आगामी असार १६ देखि २० सम्म  काठमाडौँमा गर्ने तय भएको छ। स्रोतका अनुसार एकीकृत समाजवादीको अध्यक्ष सहमतिबाटै चयन गर्ने प्रयास भइरहेको छ।

त्यसो गर्दा माधवकुमार नेपाललाई अघि सार्न केही नेताहरू लबिइङमा छन्। उता सम्मानित नेता झलनाथ खनाल नेपाललाई टक्कर दिएर अध्यक्ष बन्ने योजनामा छन्। उनले सोही अनुसार तयारी गरेका छन्।

तर, चुनाव नगरी नेतृत्व चयन हुने नेताहरू बताउँछन्।

‘महाधिवेशनमा सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘सबै नेताहरूलाई मिलाएर लग्ने कोसिस अन्तिमसम्म हुन्छ।’ 

तर, प्रतिनिधिहरूले यसपटक नयाँ र युवालाई अवसर दिनुपर्ने भन्दै पार्टीलाई नयाँ ढंगले चलाउने नेतालाई अघि सार्न सुझाव दिएका छन्।

‘एकीकृत समाजवादीको भविष्य नयाँ नेताले मात्र देखाउन सक्छ, अब पनि पुराना नेतालाई अघि सारियो भने यो पार्टी बन्दैन भन्ने कुरा पनि उठेको छ,’ ती पदाधिकारीले थपे।

एउटै प्रतिवेदन बनाउने प्रयास
तर, नेपाल र खनालबीच सहमति गराउन नेतृत्वमा सहमति गराउन नेताहरू खटिएका छन्। अहिले एकीकृत समाजवादीमा राजनीतिक प्रतिवेदन लेखनको कार्य भइरहेको छ।

पार्टीको आगामी कार्यदिशा, योजना र नीति समेटिएको प्रतिवेदनलाई अन्तिम रुप दिन दैनिकजसो बैठक बसिरहेको छ। सम्मानित नेता झलनाथ खनालले पुरक प्रतिवेदन पेस गर्ने तयारी गरिरहेका छन्।

त्यसो हुँदा एकीकृत समाजवादीको महाधिवेशनमा खनाल र माधवकुमार नेपालको प्रतिवेदन प्रस्तुत हुने सम्भावना पनि छ। नेताहरू सकभर एउटै प्रतिवेदन महाधिवेशनमा लैजान प्रयासरत छन्।

‘डकुमेन्टमा विवाद हुँदैन, एउटै डकुमेन्ट ल्याउनका लागि सिंगो सचिवालय खटिएको छ। एकमत बनाएर पेश गर्छौं,’ उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालखबरसँग भने, ‘अझै एक महिना बाँकी भएकोले मिल्छ।’

नेकपा एमालेबाट २०७८ भदौ ९ गते विभाजन भएर बनेको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो।

त्यसो त एकीकृत समाजवादीभित्र सचिव रहेकी रामकुमारी झाँक्री लगायतले पनि उच्च तहको पदाधिकारीमा रुचि देखाएका छन्। त्यसो गर्दा महाधिवेशनमा प्यानलै घोषणा हुन पनि सक्छ।

भुसालले अध्यक्षमा उम्मेदवारी दिएमा त्यही अनुसार प्यानल बन्न सक्छ। यस्तै, सम्मानित नेता खनालले अध्यक्षमा उम्मेदवारी दिएमा उनको पनि प्यानलै बन्ने नेताहरू बताउँछन्।

माधव नेपालले पनि आफ्नो पक्षका नेताहरूलाई मिलाएर प्यानलै बनाउन सक्छन्। 

संसदमा १० सिट रहेको एकीकृत समाजावादी सत्तारुढ दलको गठबन्धनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .