अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबारदेखि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय पनि सम्हालेका छन्।
सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले भने, ‘सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्छु। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सुम्पिनुभएकोमा आभार प्रकट गर्छु। यो ठूलो मन्त्रालय हो।’
अलि अलि अनुभूति अर्थमन्त्रीलाई हुने भए पनि मन्त्रालयको बारेमा संक्षेपमा केही जानकारी पाएको उनले बताए। उनले भने, ‘यो एकदमै गहन जिम्मेवारी हो। प्रेसप्रति सरकारको धारणा मैले केही रुपमा राख्नैपर्ने हुन्छ। संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र लोकतन्त्रको आधारस्तम्भ सञ्चारमाध्यम नै हो। यो स्वतन्त्र हुनैपर्छ।’
सञ्चारमाध्यमको बढी जिम्मेवारी आम नागरिकप्रति हुने भन्दै उनले जे कुरा हुन्, ती कुरा पुर्याउने, भएको कुरा पुर्याउने नभएको कुरा नपुर्याउनेलगायतका कुरा पुर्याउने सञ्चारमाध्यमको नियामक निकायको जिम्मेवारी एकदमै गहन भएको बताए।
सरकारको प्रवक्ताको बारेमा मन्त्रिपरिषदले छुट्टै निर्णय गर्ने सञ्चारमन्त्री खतिवडाले बताए। उनले भने, ‘मैले सुनेको छु। यही हलमा हरेक हप्ता प्रेस मिट हुन्छ। सञ्चारमन्त्रीले सरकारको प्रवक्ता भएको कारण यहाँ निर्णय सार्वजनिक हुने गर्छ। प्रवक्ताको विषयमा मन्त्रिपरिषदले छुट्टै निर्णय गर्ला नै, तर मैले आज यहाँ हाम्रा नीति कार्यक्रम, कसरी अगाडि बढ्दै छौँ भन्ने यही मौकामा राख्न चाहन्छु।’
उनले सरकारको दुई वर्षबारे जानकारी गराएका थिए। नागरिकलाई सुसूचित बनाउनुपर्नेमा उनको जोड थियो। सूचना प्रविधिको माध्यमबाट शासकीय प्रबन्धलाई पारदर्शी र व्यवस्थित बनाउँदै नागरिक सबलीकरण गर्नुपर्ने उनले बताए। त्यो गर्ने क्रममा सबै किसिमका सञ्चारमाध्यमलाई व्यवस्थित गर्दै अगाडि बढाउनुपर्ने खतिवडाले बताए।
सरकारी सञ्चारमाध्यमलाई के भने खतिवडाले?
‘यस सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यमले नेपाल सरकारको अनुदानमा वित्तीय हस्तान्तरणमा सञ्चालित संस्थाहरुबारे पनि मैले केही भन्नुपर्ने हुन्छ’, उनले सरकारी सञ्चार संस्थालाई इंगित गर्दै भने, ‘कुनै बेला मुलुकमा निजी क्षेत्रका सञ्चारमाध्यम सीमित थिए। कम भएको बेला सरकारले अग्रणी भूमिका खेलेको थियो। इतिहास साक्षी छ। आजको दिनमा निजी क्षेत्र आएको छ, प्रतिस्पर्धी हुनुपरेको छ, गुणस्तरका लागि काम गर्नुपर्नेछ। सार्वजनिक जवाफदेहिता पनि अलिकति बढी हुने नै भयो। त्यसो हुनाले सञ्चारमन्त्रालय मातहतका हामी आमसञ्चारका क्षेत्रहरुमा थप जिम्मेवारी छ।’
‘एउटा सरकारको संस्था भएको हुँदा यसका केही विधिविधान र मान्यता छन्। स्वायत्तता कायम गर्ने चुनौती र निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ’, उनले भने, ‘आमरुपमा सरकार आफूले गरेका राम्रा काम राम्रै र नराम्रा काम नराम्रै पुर्याइदिनुस्। तर राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर नपुर्याइदिनुस्। हामी पनि भरसक राम्रै गर्ने हो। हामीलाई पनि उत्साह हुन्छ। तपाईंहरु स्वतन्त्र, निष्पक्ष र व्यावसायिक भएर काम गर्नुहुन्छ। सञ्चारमन्त्रालय मातहतका सञ्चारमाध्यमहरु सञ्चारमन्त्रीको मात्रै हैन, मुलुकभरिका जनताको साझा सञ्चारमाध्यम हो। तपाईंहरुले हाम्रै गुणगान गाइराख्नुपर्छ भन्ने पनि छैन। तर कुन सूचना जनतामा जाँदा सुसूचित हुन्छन् भन्ने ख्याल राखिदिनुपर्छ।’

प्रतिक्रिया