राजनीति


जसपा नेपालले क्रियाशील सदस्य संख्यालाई ५ लाख बनाउने गरी जनअभियान चलाउने

जसपा नेपालले क्रियाशील सदस्य संख्यालाई ५ लाख बनाउने गरी जनअभियान चलाउने

नेपालखबर
साउन २९, २०८१ मंगलबार २१:१८, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पार्टीको क्रियाशीश सदस्य संख्यालाई ५ लाख बनाउने लक्ष्यका साथ जनअभियान चलाउने भएको छ।

मंगलबार ललितपुरमा बसेको केन्द्रीय समिति बैठकमा जनस्तरमा जनअभियान चलाउने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मनीष सुमनले पार्टीका सबै केन्द्रीय सदस्यहरू बृहत् तयारीका साथ आम जनतामा जाने बताए।

उनले भने, ‘पार्टीको वडा समितिदेखि केन्द्रीय समितिसम्म प्रत्येक स्तरका समितिको बैठक गर्ने, आफ्नो विचारसँग नजिक भएकालाई पनि पार्टीप्रति आकर्षित गर्नु, हाम्रो पार्टीको क्रियाशील सदस्य संख्यालाई ५ लाख बढी बनाउने गरी पार्टीले ठूलो जनअभियान जनस्तरमा चलाउँदै छ। पार्टीका सबै केन्द्रीय सदस्यहरू बृहत् तयारीका साथ आम जनतामा जानेछन्।’

नेता सुमनका अनुसार जसपा नेपालले अहिले २१५ जना केन्द्रीय सदस्यलाई अभिमुखीकरण तालिम दिइरहेको छ। पार्टीकै र बाहिरका केही विज्ञहरूले तालिम दिइरहेको र सबै केन्द्रीय सदस्यहरू प्रशिक्षित भइसकेपछि राजनीतिक, शिक्षा, स्वास्थ्य, कृषि, संविधान संशोधनसम्बन्धी ठोस धारणा बनाउने उनले बताए।

उनका अनुसार, आगामी ४ महिनासम्मका लागि सबै केन्द्रीय सदस्यलाई कुनै न कुनै भूगोलको जिम्मेवारी दिएर पार्टीका सांगठनिक काममा खटाइनेछ।

जसपा नेपालको केन्द्रीय समितिको बैठक २७ गतेदेखि ललितपुरमा बसिरहेको छ। यो महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक पनि हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad