राजनीति


पूर्वराष्ट्रपति भण्डारीले सम्झाइन् स्थानीय तहलाई संविधानले दिएको अधिकार

पूर्वराष्ट्रपति भण्डारीले सम्झाइन् स्थानीय तहलाई संविधानले दिएको अधिकार

फाइल फोटो


नेपालखबर
साउन २९, २०८१ मंगलबार २२:७, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै विकासमा लाग्न आग्रह गरेकी छन्।
    
आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर यहाँका विकासको गतिविधिबारे जानकारी लिँदै उनले भौतिक विकाससँगै मानसिक विकासमा पनि लाग्न सुझाव दिइन्।   

‘संविधानले स्थानीय पालिकालाई धेरै अधिकार र जनतासँग जोडिएर काम गर्ने अवसर दिएको छ। जनतासँग सरोकार रहेका र आफ्ना गाउँघरका समस्या स्थानीयस्तरमै समाधान गर्ने अवसर दिएकाले यसको सदुपयोग हुन आवश्यक छ। भौतिकसँग मानसिक विकासमा पनि स्थानीय तहले जोड म आग्रह गर्न चाहन्छु।’

पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्यायको क्षेत्र भएको बताइन्। उनले सबै जनता अड्डा अदालत धाउन सक्दैनन् भन्ने ध्येयले स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्न संविधानमा यस्तो व्यवस्था राखिएको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले जनतासँग सुमधुर सम्बन्ध बनाएर कसरी जनतालाई सुख, शान्ति र समृद्धि दिन सकिन्छ भनेर जनप्रतिनिधिले बढीभन्दा बढी काम गर्नुपर्ने सुझाव दिइन्।

‘पालिकाले भौतिक विकास मात्रै नभई मानसिक विकास र सीपयुक्त जनशक्ति उत्पादनका लागि शिक्षा, स्वास्थ्यका साथै दिगो विकासको लक्ष्य हासिल गर्नेगरी अगाडि बढ्नुपर्छ। स्थानीय स्रोत र साधनको उचित प्रयोग एवं संरक्षण गर्दै यहाँका सम्पदाको संरक्षणमा पनि चासो दिनुपर्ने आवश्यकता देखेको छु’, उनले भनिन्।

नगरपालिकाको कर्यकक्षमा भएको कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र विकासका बारेमा जानकारी गराएका थिए। उनले पूर्वराष्ट्रपति भण्डारीलाई यहाँको विकास, शिक्षा, स्वास्थ्य एवं सम्पदाको अवस्थामा जानकारी दिइन्।
    
नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाको स्थापनाकालदेखि हालसम्म भएको प्रगति र नगरपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराए। नगरपालिकामा प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, नगरकार्यपालिकाका सदस्य र कर्मचारीलगायतले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा डालेश्वरको दर्शन
पूर्वराष्ट्रपति भण्डारीले आजै भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गरिन्।

डोलेश्वर मन्दिर पुगकी उनले डोलेश्वर पूजा, दर्शन, आरती गर्नुका साथै मन्दिरको अवलोकन गरेकी थिइन्।

मन्दिरमा उनलाई नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजा, नगरप्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रवीन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad