पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूले माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा असन्तुष्टि जनाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानसभाबाटै माओवादी जनयुद्ध भनेर पारित गरेको बताए। म यो सम्मानित सदनको ध्यान विशेषरुपले आकर्षित गर्न चाहान्छु,’ प्रचण्डले भने, ‘अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ। माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ। जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ।’
उनले संविधान र त्यसको व्याख्यात्मक टिप्पणीमा समेत माओवादी जनयुद्ध लेखिएको भन्दै त्यसलाई पढेर समेत सुनाए। ‘संविधानसभाबाट पारित संविधान र त्यसको व्याख्यात्मक टिप्पणीमा, प्रस्तावनाको अनुच्छेद ३ मा रहेको ऐतिहासिक र शस्त्र संघर्ष भन्नाले वि.स. १९९७ साल, २००७ साल, २०१८ साल, २०२८ साल, २०३५/२०३६ साल, २०४२/२०४६ सालमा भएका संघर्ष र आन्दोलन र वि.स. २०६२/२०६३ मा भएको ऐतिहासिक जनआन्दोलन, माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाती आन्दोलन, थरुहट आन्दोलन, महिला, दलित, मजदुर, किसान, युवा विद्यार्थी, मुस्लिम समाज लगायतका सामाजिक समूह र विभिन्न तह र तप्काका जनताले गरेका सम्पूर्ण ऐतिहासिक आन्दोलन र सशस्त्र संघर्ष जनाउँछ भनि व्याख्यात्मक टिप्पणीमा राखिएको छ,’ प्रचण्डले भने।
Shares

प्रतिक्रिया