प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति असंवैधानिक दाबी गरी सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध असार ३१ गते सर्वोच्चमा रिट दायर भएको थियो।
रिटमा प्रधानमन्त्री ओलीको नियुक्ति र शपथ बदर गरी धारा ७६(३) अनुसारको सरकार गठनको माग गरिएको थियो।
धारा ७६ (२) मा दुई वा बढी दलको समर्थनमा सरकार बनाउन मिल्छ भने ७६ (३) मा संसदको सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छन्।
संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो भने कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा छन्।
ओलीले कांग्रेसकै समर्थनमा प्रधानमन्त्री नियुक्ति र विश्वासको मतसमेत लिइसकेका छन्।
उनी असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
Shares
प्रतिक्रिया