जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई अभियानमा खटाएको छ।
ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।
‘पार्टीका दुई सय १५ केन्द्रीय सदस्यलाई देशभरीका विभिन्न पालिका समितिको अभियन्ताको रुपमा खटाएको हो,’ उनले भने, ‘सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेशसभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म सङगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ।’
अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने एवं पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनका लागि खटाइने सो पार्टीले जनाएको छ। तोकिएका अभियन्तालाई प्रदेशस्तरिय अभिमुखीकरणको आयोजना गरिने जनाइएको छ।
विराटनगरमा आगामी भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौँैमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते र टीकापुर तथा धनगढीमा भदौँ २५ गते प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम हुने केन्द्रीय सदस्य बस्नेतले बताए।
अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्य, अभियन्ता, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्य, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा जनसङ्गठनका पदाधिकारी सहभागी हुने छन्। उक्त अभियान भदौदेखि सुरु भई मङ्सिर मसान्तसम्म सञ्चालन हुनेछ। रासस
Shares

प्रतिक्रिया