सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि रास्वपाले बौद्धिक र शान्तिपूर्ण प्रतिकार गर्ने नीति बनाएको छ।
रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राज्यले अराजनीतिक कदम चालेको भएपनि आफूहरू शान्तिपूर्ण प्रतिवादमा उत्रने नेपालखबरलाई बताए।
‘रास्वपाले जनभावनाअनुसार काम गर्न थालेपछि केही सीमित व्यक्तिहरूलाई आफ्नो राजनीतिक भविष्यमाथि चिन्ता परेको देखियो,’ बुर्लाकोटीले भने, ‘सोही कारण कुनै ठोस प्रमाणबिनै सभापतिलाई पक्राउ गरिएको हाम्रो ठहर छ।’
प्रतिशोधका कारण मात्रै सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै आफूहरूले अदालती प्रक्रियालाई सम्मान गर्ने पनि उनले बताए।
सभापति लामिछानेलाई शुक्रबार मात्रै पक्राउ गरेर अहिले प्रहरीले पोखरा लाँदैछ। पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो।
बुर्लाकोटीका अनुसार, पार्टीले बौद्धिक प्रतिकार गर्नेबाहेक अन्य कुनै गतिविधि अघि बढाउने छैन।
रविका साथमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल लगायतका नेताहरू पनि पोखरा गएका छन्।
Shares

प्रतिक्रिया