प्रतिनिधिसभाको आजको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुने भएको छ।
बिहान ११ बजे बस्ने बैठकमा सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले यो प्रस्ताव पेश गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ।
अधिकारीले ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदले जानकारी गराएको छ।
सांसद रामकुमारी झांक्रीले सो प्रस्तावको समर्थन गर्नेछन्।
यस अघिकै बैठकमा यो विषय कार्यसूची थियो। तर, समय अभावका कारण आजका लागि सारिएको थियो।
भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिएको थियो।
कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित नेपाली भूभाग फिर्ता गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन संसदले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको हो।
राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया