राजनीति


देशको अवस्था गम्भीर बन्यो, सरकारका गलत कामलाई गलत भन्नुपर्‍यो : शेखर कोइराला

देशको अवस्था गम्भीर बन्यो, सरकारका गलत कामलाई गलत भन्नुपर्‍यो : शेखर कोइराला

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०८१ शनिबार २०:७, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारका गलत कामहरूलाई गलत भनेर सच्याउँदै अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। 

उदयपुरको त्रियुगा नगरपालिका समितिले शनिबार आयोजना गरेको बीपी कोइरालाको सालिक अनावरण कार्यक्रमपछिको सभालाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले सरकारले पछिल्लो सय दिनमा संविधान सुधारका कुनैपनि काम अघि बढाउन नसकेको भन्दै असन्तुष्टि पोखे। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच समझदारीपछि बनेको सरकारलाई असफल हुने छुट नभएको भन्दै गलत कुराहरूलाई भन्न सक्नुपर्ने उनको भनाइ थियो। 

‘हामीहरूले नै बनाएको हो यो सरकार। हामीहरूले बनाएको सरकारलाई त्यो पनि दुईवटा ठूला दललाई कुनै पनि छुट दिन मिल्दैन,’ कोइरालाले भने, ‘त्यो छुट नदिनका लागि गलत कुरालाई गलत गरेका छौ भनेर भन्नुपर्‍यो। अनि सच्याउँदै अघि बढ्नुपर्ने अवस्था छ। तपाईंहरूले पनि हामीबाट कमीकमजोरी भएका छन् भने भन्नुपर्‍यो।’

उनले देशको अहिलेको अवस्था र भोलि कसरी अघि बढ्छ भन्ने कुरा अत्यन्तै गम्भीर विषय बनेको र यसले आफूलाई चिन्तित तुल्याएको पनि बताए। 

‘देशको जुन अवस्था छ, त्यसले भोलिको दिन कसरी जान्छ भन्ने कुरा अत्यन्त गम्भीर विषय बनेर गएको छ। चिन्ता लाग्छ, कतै देश असफल राष्ट्रतिर त जाँदैन भनेर,’ कोइरालाले भने।

‘प्रधानमन्त्रीजीले नै त्यो सात बुँदेको विषयमा संसद्‌मा आफ्ना विचारहरू पोखिसक्नुभयो। त्यसमा संविधान सुधारका कुराहरू पनि अघि बढेको भन्नुभएको छ उहाँले,’ नेता कोइरालाले अघि भने, ‘तर, अहिलेको सय दिनमा संविधान सुधारका कुनैपनि कुराहरू अगाडि बढ्न सकेको छैन। हामीहरूले सहकार्य गरेर अघि बढ्नुबाहेक अर्को विकल्प हुन सक्दैन, संविधान सुधारको विषयमा।’

साथै, उनले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएको भएपनि अहिलेको अवस्थाबारे भनिराख्नुपर्ने अवस्था नभएको घुमाउरो तर्क पेस गरे।

‘भ्रष्टाचार र सुशासनले हामीहरू पीडित छौँ। तपाईंहरू सबै पीडित हुनुहुन्छ। देश पीडित भइसक्यो। भ्रष्टाचारका विषयमा पटकपटक प्रधानमन्त्रीजीले भनिराख्नुभएको छ, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्नुभएको छ। तर, कस्तो अवस्था छ भन्ने कुरा मैले भनिराख्नुपर्ने छैन,’ नेता कोइरालाले भने। 

कोइराला नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। पार्टीभित्र इतर समूहको नेतृत्व गरेका कोइराला पछिल्लो समय सरकारका कामहरूबारे आलोचना सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad