राजनीति


पर्वतीय मुलुकले प्राकृतिक समस्या भोग्नुमा धनी देश जिम्मेवार : राष्ट्रपति पौडेल

पर्वतीय मुलुकले प्राकृतिक समस्या भोग्नुमा धनी देश जिम्मेवार : राष्ट्रपति पौडेल

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १३:४१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। 

अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप-२९ सम्मेलनका क्रममा बुधवार  किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई  सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा त्यस क्षेत्रका गरिव महिला, बच्चाबच्ची र वृद्धवृद्धा अझ बढी जलवायु प्रभावमा परेका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिवी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्वोधन गर्नुपर्ने हुन्छ’, राष्ट्रपति पौडेलले भने।

पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई त्यो त द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनका कारण भएको उनको धारणा थियो। ‘उनीहरुलाई जलवायु न्याय दिनमा कोप–२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ’, राष्ट्रपति पौडेलले भने।

जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्दो रहेको र त्यसले नयाँ रेकर्ड कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उनको भनाइ थियो। 

गत अगस्टमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा थामे गाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौको हानीनोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उनले गत मनसुन सिजनमा आएको वाढी पहिरोमा नेपालका ५०० बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिए।

‘यसको पीडा अझै सन्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिने छ र विकराल अवस्था सृजना गर्ने छ भन्ने आंकलन अहिले नै गरेनौ र उपयुक्त सावधानी लिएनौ भने भोलि अझ बढी हानिनोक्सानी व्यहोर्नु पर्ने छ’, राष्ट्रपति पौडेलले भने। 

उनले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकोले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान रहेको बताए।  साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा पनि सँगै काम गरेको अनुभव रहेको स्मरण गरे।सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मंगेलियाका राष्ट्रपति, अजरबैजानका विदेशमामिला मन्त्रीलगायतले सम्बोधन गरेका थिए।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप-२९) अन्तर्गत मङगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad