प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचारको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मातहत निकायका कर्मचारीप्रति कडा टिप्पणी गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा मातहत निकायको तीन महिने कार्यप्रगति समीक्षाका क्रममा उनले विभिन्न निकायमा खुलेआम घुस चलिरहेको र त्यो नियमजस्तै बनिरहेको बताए।
आफ्ना सल्लाहकार तथा प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूलाई सामुन्नेमा राखेर उनले घुसको कथा सुनाउँदै भनेका छन्, ‘अनि सुशासन कहाँबाट आउँछ?’
सुधारका लागि भइरहेका बैठक बैठकमै सीमित भएका र बैठक नै अर्कोपटकको उपलब्धिमा राख्ने गरिएको उनको भनाइ थियो।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू तथा मातहत कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘आज यहाँ बसेपछि भोलि के फरक पर्छ भन्दा केही पनि फरक पर्ने देख्दिनँ। केही पनि फरक पर्दैन । एमड्याक (राष्ट्रिय विकास समस्या समान समिति)को एउटा बैठक बस्यो, कार्यप्रगति भयो। एउटा बैठक गरियो नि त। थप उपलब्धि त्यही भयो। ठूलो उपलब्धि।’
उनले कतै पनि सुध्रिने र सुधार्ने प्रवृत्ति नदेखिएको भन्दै भन्सारको प्रसंग झिकेर भने, ‘भरेदेखि भन्सारमा के फरक पर्छ या भोलिदेखि भन्सारमा के फरक पर्छ त, हामी यहाँ बसिसकेपछि? भन्सारमा त कर्मचारीहरूले खाएको खायै छन्। गेटपालेहरूको भाग यति, फलानाको भाग यति, ढोका खोल्नेको यति, चिट टाँसिदिनेको यति भन्ने त कानुनबमोजिमजस्तो भएको छ।’
कर्मचारीसँग व्यापारी एवं सेवाग्राहीले बेहोरिरहेको हैरानीबारे प्रत्यक्षदर्शीजस्तै गरी प्रधानमन्त्रीले यसरी बयान गरे, ‘व्यापारी बानी परिसकेको छ। यदि बानी नपरेको रहेनछ भने त्यसको थुतुनो मजाले डढ्छ। त्यसका ट्रक पारिपट्टि बस्छन्। अथवा अनलोड हुन्छन्। अनेक समस्या हुन्छ। तत्काल ५० हजार क्षति पुग्छ भने त्योभन्दा १० हजार खुसुक्क पारिदिएर (कोटको भित्री खल्तीमा हात हाल्दै) हिँड्नु सजिलो हुन्छ। अनि सुशासन कहाँबाट आउँछ?’
भन्सार चुहावटको समस्यामा पनि कर्मचारी प्रमुख दोषी भन्दै उनले प्रश्न गरे, ‘अनि भन्सार कहाँबाट उठ्छ?’
भन्सारको बेथितिबारे टिप्पणी गर्ने क्रममा एउटा उखान पनि भने, ‘टकासेर बाजी, टकासेर खाजा, जेसुकै होस्, १० हजार। यसमा सुधार के गरी हुन्छ?’
उनले विमानस्थलतिर औँलो सोझ्याएर त्यहाँभित्रको बेथिति र यात्रुले बेहोर्ने हैरानीको पनि चित्रण गरे, ‘इमिग्रेसनको लेख्नुभएको छ, त्यहाँ ब्याग हराउँछन्, च्यातिएका भेटिन्छन् भनेर। त्यति मात्र हो र? सोझै पैसा मागिन्छ।’
उनले एकजना अमेरिकाको सियाटल बस्ने इन्जिनियरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेपेको हैरानीको पनि बेलिबिस्तार लगाए।
सियाटलमा बस्ने नेपाली इन्जिनियर तीर्थ खनालसँग विमानस्थलमा घुस मागिएको र नदिएपछि क्यामेराको बिल देखाउन भनेर नियन्त्रणमा लिइएको उनले बताए।
आफूले फोन गरेपछि सम्बन्धित हाकिमले ‘यस्तो त हुनै नसक्ने’ भन्दै छाडेको उनको भनाइ थियो। ती हाकिमको नामचचाहिँ प्रधानमन्त्री ओलीले खुलाएनन्।
श्रीलंकाका एक मन्त्री तीनपल्ट नेपाल आउँदा तीनैपल्ट ब्याग गायब भएको घटना पनि उनले उल्लेख गरे।
मन्त्रीको नाम उल्लेख नगरी उनले हुलिया बताउँदै भने, ‘श्रीलंकाका एक सेतै जुँगा भएका एक मन्त्री थिए नि? उनी तीनपल्ट नेपाल आउँदा तीनैपल्ट ब्याग गायब। मसँग उनले भनेका थिए– मेरो यो अन्तिमपल्ट हो नेपाल आगमन। श्रीलंकामा ब्याग भित्र हालेर आउँछु, नेपालमा आइपुग्दा हुँदैन। सधैँ म नेपाल एयरपोर्टलाई ब्याग...। यसरी म नेपाल आउन सक्दिनँ।’
उनी त्यसपछि १५ वर्ष बाँचे पनि नेपाल नआएर बितेको कुरा ओलीले दुःखी भावमा सुनाए।
करिब ३२ मिनेटको वक्तव्यमा उनी अधिकांश समय कर्मचारीको काम नगर्ने, सेवाग्राहीलाई हैरानी दिने र भ्रष्टाचार गर्ने प्रवृत्तिमा केन्द्रित भएका थिए।
उद्योगहरू बन्दै हुँदै गएकामा पनि उनले कर्मचारीमाथि नै दोष थोपरे। सचिवहरू र विभागीय प्रमुखहरूतर्फ हेरेर उनले भने, ‘तपाईँहरूलाई नियुक्ति, सरुवा, बढुवा हुन पैसा लाग्दैन भने तपाईँले किन खानुपर्यो? हामी सबैले नखाने प्रेरणा तलसम्म दिनुपर्यो, हौसला दिनुपर्यो।’
काम नगर्न बहानाबाजी हुने गरेकोप्रति लक्षित गर्दै उनले भने, ‘यसो गर्दा पनि हुँदैन, त्यसो गर्दा पनि हुँदैन। यस्तो तरिका ननिकालौँ। त्यस्तो खालको तरिका निकाल्नुहुँदैन। हाम्रो काम भनेको कारोबारी, व्यापारी, उद्यमी, शिक्षक, कर्मचारी सबैलाई सजिलो बनाइदिने हो। अप्ठ्यारो पारिदिने होइन।’
प्रधानमन्त्री ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतीकरण सुनेपछि ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश दिएका हुन्।
प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरूपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए।
‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नूस्। बैठकहरूको औचित्य सिद्ध गर्नूस्। अर्काे बैठकमा आउँदा यो-यो परिवर्तन भयो भन्ने लिएर आउनूस्। सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ।’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ। हाम्रो स्रोतसाधन जति छ, तिनीहरूको वैज्ञानिक ढंगले उपयोग गर्नुपर्छ। सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ।’
Shares

प्रतिक्रिया