राजनीति


‘वडाको बालेन’ खोजिरहेको काठमाडौँ १६

‘वडाको बालेन’ खोजिरहेको काठमाडौँ १६

मत मागिरहेका नेमकिपा उम्मेदवार। तस्बिर : सरोज बैजु


गीता चिमोरिया
मंसिर १३, २०८१ बिहिबार २१:१, काठमाडौँ

बिहीबार बिहान ११ बजेतिर काठमाडौँ–१६ को बालाजु चोकमा पुग्दा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक मतदाता भेट्दै हिँडेका भेटिए। आजै रातिदेखि प्रचारप्रसार बन्द हुने भएकाले उनी हतारोमा थिए। 

यसअघिका वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन हुन लागेको महानगरको सबैभन्दा ठूलो १६ नम्बर वडामा यसपटक पनि कांग्रेसले चुनाव जित्ने उनको दाबी थियो। रिजाल यसअघि दुईपटक १६ नम्बर वडामा नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका थिए। 

‘जन्मदेखि मृत्युसम्म काम पर्ने ठाउँ वडा कार्यालय हो, त्यो वडा कार्यालयको नेतृत्व चुन्नको लागि मतदाता उत्सुक देखेको छु मैले,’ अघिल्लोपालि रिजाललाई जिताउन चुनावी अभियानको कमान्डर भएर हिँडेका पाठकले भने, ‘मुकुन्द दाइको पालामा केही कामहरू बाँकी थिए। त्यो काम सम्पन्न गर्न मतदाताले हामीलाई सुझाव दिनुभएको छ। अहिले मतदाताको आवश्यकता पनि सिफ्ट हुँदै गएको छ। अहिले बाटोहरू धेरै निर्माण भइसक्यो। वडा ठूलो भएकोले ठाउँ अनुसार यहाँ फरक आवश्यकता छ।’ 

पुरानो नेवारी बस्ती तथा नुवाकोट, धादिङ र गोरखाबाट बसाइँ सरेकाहरूको मिश्रित बसोबास रहेको वडा नम्बर १६ मा ८ दलीय र १० स्वतन्त्र उम्मेदवार छन्। नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिस्पर्धामा छन्। राप्रपा, नेपकिपा, राप्रपा नेपाल, जसपा लगायतका दलका उम्मेदवार पनि वडा अध्यक्षको दौडमा छन्। स्वतन्त्र उम्मेदवारहरू पनि मत माग्दै हिँडिरहेका छन्। 

गत स्थानीय निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा रहेका कांग्रेस, एमाले र एकीकृत समाजवादीलाई उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ। रास्वपाले यस क्षेत्रमा प्रभावशाली महिला रोजिना श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ। दल बाहेक यहाँ १० जना स्वतन्त्र उम्मेदवार छन्।  

स्वतन्त्र उम्मेदवारले पुराना दललाई थ्रेट महसुस भएको हो भन्ने प्रश्नमा कांग्रेसका उम्मेदवार पाठकले भने, ‘स्वतन्त्रहरू थपिएका छन्, अहिले यो वडामा हेर्नुभयो भने स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी छ। जस्तो मान्छे पनि चुनाव लड्ने खालको वातावरण देखिएको छ। हिजो काठमाडौँको मेयर, धरानको मेयर स्वतन्त्र व्यक्तिहरूले जितेका कारणले स्वतन्त्र उठेपछि भोट पाइन्छ भन्ने सोच राखेर उम्मेदवारी दिएको देखियो। दलबाट उठे पनि, स्वतन्त्र उठे पनि राम्रो मान्छे आउनुपर्छ। स्वतन्त्र सबै राम्रा अनि दलका चाहिँ सबै खराब भन्ने होइन।’ 

आफू विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएको भन्दै पाठकले एकपटक काम गर्ने अवसर पाए वडाबासीको चाहना अनुुसार काम गर्ने बताए। 

उनले भने, ‘पार्टीभित्रको युवाले पनि एकपटक त अवसर पाउनुपर्‍यो नि। हामीलाई टेस्ट नै नगरी पार्टीका मान्छे खराब हुन्छन् भन्ने धारणा पछिल्लो समय जनतामा जुन देखिएको छ, त्यो गलत हो भन्ने लाग्छ। यो उपचुनावमा जितेर अबको साढे २ वर्ष मैले वडाबासीका लागि राम्रो काम गर्न सकिनँ भने पार्टीको मान्छे खराब छ भन्ने सोच राख्नु ठिक हुन जान्छ। तर, एकपटक त हामीले अवसर पाउनुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ पनि आज दिनभर प्रचारप्रसार र मतदाता भेटघाटमा व्यस्त भइन्। वडाका विभिन्न ठाउँमा आयोजना भएका कार्यक्रममार्फत् उनले भोट मागिन् भने मतदातासँग भेटघाट गरिन्। 

वर्षौंसम्म पुराना दलहरूलाई विश्वास गरेका काठमाडौँ १६ का मतदाताले यसपटक नयाँ अनुहारलाई जिताउने रोजिनाको दाबी छ। उपनिर्वाचनको दौडमा वडा नम्बर १६ का मतदाताले रास्वपाप्रति देखाएको विश्वासले आफू उत्साहित रहेको उनले बताइन्। 

श्रेष्ठले भनिन्, ‘अहिले माहोल एकदमै राम्रो छ, मैले सबै ठाउँमा सकारात्मक प्रतिक्रिया पाइरहेको छु। पुरानोलाई धेरै हेर्‍यौँ हामीले, यसपाली घण्टीलाई भोट हालेर नयाँले गर्ने काम हेर्छौं भन्नुभएको छ। एकदम साथ छ।’

श्रेष्ठलाई स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले समर्थन गरेका छन्। 

नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधर यसपटक काठमाडौँ १६ मा एमालेले चुनाव जित्ने दाबी गर्छन्। चुनाव प्रचारप्रसारका क्रममा एमालेको पक्षमा माहोल देखिएको भन्दै उनले अघिल्लोपटक चारजना सदस्य जिताएका काठमाडौँ १६ का बासीन्दाले उपनिर्वाचन मार्फत् वडा अध्यक्ष पनि एमालेबाटै जिताउने दाबी गरे। 

‘चुनावमा मात्रै होइन, हामी सामाजिक कामसँग पनि जोडिएर यहाँको बाटो बिग्रदा होस् या त ढल जाम हुँदा, कुनै विवाद भयो भने पनि हरेक कुरामा यहाँका नागरिक सँगसँगै छौँ, तुलाधरले भने, ‘वडा नम्बर १६ का मतदातले यसपटक मलाई राम्रो व्यक्ति उठ्नुभएको छ, एमालेले राम्रो मान्छे उठायो भनेका छन्। चुनाव हामीले जित्छौँ।’

एमालेबाट वडा सदस्य निर्वाचित पुष्प महर्जनले वडाअध्यक्ष रिजालको निधनपछि कार्यवाहक वडाअध्यक्ष भएर गरेको कामले पनि यसपटक काठमाडौँ १६ मा एमालेलाई चुनाव जित्न सहज हुने तुलाधरको भनाइ छ। 

वडा अध्यक्ष रिजालको निधनपछि कांग्रेसबाट वडाको चुनाव उठ्न रिजालको परिवार आकङ्क्षी थियो। तर, कांग्रेसमा मनोनयनको दिनसम्म पनि उम्मेदवार टुङ्ग्याउन सकस पर्‍यो। मुकुन्दकी श्रीमती कविता रिजालले टिकट पाएको भए आफूहरूलाई चुनाव जित्न कठिन ठानेको एमाले अहिले नतिजा आफ्नो पोल्टामा पर्नेमा आश्वस्त छ।    
 
वडा नम्बर १६ को नयाँ बजार क्षेत्रमा पुग्दा चुनावी अभियानमा हिँडिरहेका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार न्हूजः महर्जन भेटिए। २३ वर्षका महर्जन काठमाडौँ १६ का वडा अध्यक्षका उम्मेदवारहरूमध्ये सबैभन्दा कान्छा हुन्। 

उनी मादल चिन्हमा भोट हालेर आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग भोट मागिरहेका थिए। 

आफूले वडाअध्यक्ष जितेमा नेपकिपाको इमानदार छविलाई कायम राख्दै नागरिकको दैनिकी सजिलो बनाउन काम गर्ने उनले बताए। पछिल्लो समय मतदाताले युवाहरूलाई अवसर दिएको भन्दै उनले यसपटक १६ नम्बर वडाबासीले आफूलाई अवसर दिने विश्वास राखे।   

‘अहिलेसम्म मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु। युवाले काम गर्ने अवसर पाउनुपर्छ भन्नेमा नै हुनुहुन्छ उहाँहरू, महर्जनले भने, ‘हाम्रो पार्टीले भक्तपुरमा गरिरहेको काम धेरैलाई थाहा नै छ। मैले मतदातालाई धेरै ठूलो सपना बाँडेको छैन, निःशुल्क पाउनुपर्ने स्वास्थ्य, फोहोरको व्यवस्थापन र पुरातात्विक संरचनाको संरक्षण मेरो प्राथमिकताको विषय हो। जेष्ठ नागरिकले पाउने भत्ता घरघरमै पुर्‍याउने र शिशु स्याहार केन्द्रको आवश्यकता पनि देखेको छु मैले।’

एकीकृत समाजवादीका मानन्धरले यसपटक मतदाताले एकीकृत समाजवादीलाई जिताउने दाबी गरे। 

आफू समाजसेवी भएकाले पनि चुनाव जित्न सजिलो हुने उनको भनाइ छ। 

मानन्धरले भने, ‘म यहाँको पुरानो मान्छे, धेरै कुरा बुझेको पनि छु। सामाजिक काममा लामो समयदेखि रहँदै आएको छु। मतदातले यसपालि तपाईंले जित्नुहुन्छ भनेका छन्।’ 

के भन्छन् मतदाता?
काठमाडौँ वडा नम्बर १६ को बालाजु, वनस्थली, नयाँ बजार, सोह्रखुट्टे लगायतका क्षेत्रमा घुमेर मतदातासँग कुराकानी गर्दा अधिकांश दलहरूप्रति क्रुद्ध देखिए। आफूहरू ‘वडाको बालेन’को खोजीमा रहेको उनीहरूको भनाइ थियो।

काठमाडौँ १६, बालाजुका ७४ वर्षका प्रेम श्रेष्ठ यसपटक काठमाडौँ १६ मा स्वतन्त्रले चुनाव जित्ने आकलन गर्छन्। उनले यसपटक आफूले स्वतन्त्रलाई भोट दिने बताए।    

‘स्वतन्त्रले काम गर्न सक्ने रहेछन्, नपत्याए बालेनलाई हेर्नु त। हामीलाई पनि त्यस्तै वडाध्यक्ष चाहियो। दलकालाई हामीले धेरैपटक दियौँ, एकपटक स्वतन्त्रलाई दिनुपर्छ भन्ने लागेको छ, बालाजु चोकमा चिया खाँदै गफिइरहेका श्रेष्ठले भने, ‘मेयर स्वतन्त्र, वडामा पनि स्वतन्त्रले जित्यो भने अलि विकास हुन्छ कि।’

बालाजु चोकमै भेटिएका ५९ वर्षका भगवान् महर्जनले पनि यसपटक स्वतन्त्रलाई मत दिने संकेत गरे। 

‘दलको उम्मेदवारलाई भोट दिँदा काम गर्ने बेलामा धेरैतिरबाट दबाब आउने रहेछ। स्वतन्त्रलाई त कसैले दबाब दिन सक्दैन नि, आफूले चाहेजस्तो काम गर्न सक्छ,’ उनले भने। 

बालाजुकै ५५ वर्षका कृष्ण प्रजापतिले भने यसपटक पनि काठमाडौँ १६ मा कांग्रेसले नै चुनाव जित्ने अड्कल काटे। 

‘यहाँ पहिला पनि कांग्रेसले नै जितेको हो, यो पटक पनि कांग्रेसले नै जित्छ भन्ने लाग्छ, उनले भने, ‘हामी त पहिलेदेखि नै कांग्रेसलाई नै हालिरहेका छौँ।’

५८ वर्षका साइँला प्रजापतिले पनि यो पटक काठमाडौँ १६ मा कांग्रेसले चुनाव जित्ने सम्भावना रहेको बताए। 

प्रजापतिले भने, ‘ठ्याक्कै त भन्न सक्दिनँ तर सम्भावना कांग्रेसको छ।’

वनस्थलीका ३५ वर्षीय रवीन्द्र महर्जनले यसपटक एमालेको राम्रो सम्भावना रहेको बताए। उनले भने, ‘यो पटक एमालेको राम्रो सम्भावना देखिएको छ। स्वतन्त्रमा पनि राम्रा उम्मेदवारहरू हुनुहुन्छ, हेरौँ अब कसले जित्छन्।’

वडा नम्बर १६ को नयाँ बजारमा भेटिएका स्थानीय ४० वर्षका जसवन्त अधिकारीले यसपटक वडा अध्यक्षमा रास्वपाले बाजी मार्ने बताए। 

उनले भने, ‘यसपटक पुरानोले जित्ने कम सम्भावना देखेको छु, यो पटक नयाँ अनुहारको सम्भावना छ।’

नयाँ बजारमै भेटिएकी ४९ वर्षिया यानुमाया श्रेष्ठले यो पटक काठमाडौँ १६ मा रास्वपाले चुनाव जित्न सक्ने बताइन्। 

गोरखाकी स्थायी बासिन्दा उनी २ वर्षदेखि नयाँ बजारमा बसोबार गर्दै आइरहेकी छन्। उनले भनिन्, ‘स्वतन्त्रबाट रोजिना श्रेष्ठ उठ्नुभएको छ, उहाँको सम्भावना राम्रो देखेको छु।’

नयाँ बजारमा ४० वर्षदेखि व्यवसाय गर्दै आएका उपेन्द्रबहादुर अमात्य भने चुनावप्रति सकारात्मक सुनिएनन्। वडामा सर्वसाधरणको काम समयमा नहुने भन्दै उनी असन्तुष्ट थिए। 

अमात्यले भने, ‘हामी काम गरेर खाने मान्छेलाई जसले जिते पनि के? एउटा कागज बनाउन गयो भने ४/५ दिन झुलाइदिन्छन्। बिहान ३ बजेदेखि उठेर पसलको काम गर्नुपर्छ, न हामी कार्यक्रममा हिँड्न भ्याउँछौँ, न नेता चिनेको हुन्छ।’

स्थानीय दमन्ता निरौलाले काठमाडौँ १६ मा कसले चुनाव जित्छ भनेर अहिले नै भन्न नसकिने बताइन्। 

सोह्रखुट्टेमा चुनावी गफ गर्दै गर्दा भेटिएका ५५ वर्षका कृष्ण श्रेष्ठले काठमाडौँ १६ मा यसपटक ४/५ जनाको मुख्य प्रतिस्पर्धा हुने बताए। स्वतन्त्र उम्मेदवार धेरै रहेकोमा गुनासो गरे। 

श्रेष्ठले भने, ‘स्वतन्त्रको भोट बाँडिन्छ, स्वतन्त्र सबै मिलेर एकजनालाई अघि सारेको भए राम्रो सम्भावना हुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad