राजनीति


नेकपाको अभियान : सदस्यता नवीकरण गर्न ३८ केन्द्र निर्धारण

नेकपाको अभियान : सदस्यता नवीकरण गर्न ३८ केन्द्र निर्धारण

नेपालखबर
चैत २, २०७६ आइतबार १२:४२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले सदस्यता नवीकरणका लागि केन्द्र (बुथ) नै स्थापना गरी अभियान चलाएको छ।

पार्टीको केन्द्र र प्रदेशको निर्देशन तथा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको निर्णयअनुसार शनिबारदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको नेकपा पश्चिम नवलपरासीले जनाएको छ।

अभियानअन्तर्गत चैत महिनाभरि सदस्यता नवीकरण गरिने जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादले जानकारी दिए। सदस्यता नवीकरणका लागि जिल्लाका सातवटै स्थानीय तहमा गरी कूल ३८ केन्द्र निर्धारण गरिएको छ। उनका अनुसार सुनवल नगरपालिकामा ११, बर्दघाट नगरपालिकामा ११, रामग्राम नगरपालिकामा सात, प्रतापपुर गाउँपालिकामा तीन, सरावल, पाल्हीनन्दन र सुस्ता गाउँपालिकामा दुई÷दुई केन्द्र निर्धारण गरिएको छ। प्रत्येक केन्द्रमा जिल्ला सचिवालय सदस्यको संयोजकत्वमा कार्यदल बनाइएको छ।

सोही कार्यदलमार्फत जिल्लामा पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान शुरु गरिएको अध्यक्ष तिवारीले बताए। हाल महामारीका रुपमा देखिएको कोरोनाको जोखिमका कारण ठूला सभा, सम्मेलनभन्दा सदस्यता अद्यावधिक र कोरोना सचेतना कार्यक्रम लिएर कार्यकर्तामाझ जान थालिएको उनले बताए।

यही चैत १ गतेदेखि शुरु भएको अभियान तीन महिनासम्म सञ्चालन हुनेछ। पार्टीले नेता, कार्यकर्ता र संगठित सदस्यको योजनाबद्ध परिचालन गर्न विशेष अभियान चलाएको जिल्ला सचिव तुलसी पासीले जानकारी दिए। कोरोना भाइरसका सम्भावित जोखिमका कारण सरकारले सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेकाले अभियानको स्वरुप परिवर्तन गरिएको बताउँदै उनले भने, ‘पार्टी एकता, सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियानअन्तर्गत समस्त पार्टी पङ्क्तिको एकीकृत परिचालनका लागि पार्टीको केन्द्रीय निर्देशनअनुसार यो अभियान शुरु गरिएको हो।’

अभियानको मूल नारा ‘समृद्ध नेपाल सुखी नेपाली’को आधार सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार तय गरिएको छ। अभियानअन्तर्गत पार्टीको सुदृढीकरण, जनसम्बन्ध विस्तारसँगै जनता र पार्टी कार्यकर्तालाई कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतना पनि सँगसँगै थालिएको प्रदेश कमिटी सदस्य बृहस्पति अधिकारीले बताए। जिल्ला सचिव पासीका अनुसार चैतभरि पार्टी सदस्यता अद्यावधिक अभियान सञ्चालन हुनेछ । साबिक एमाले र माओवादी केन्द्रका गरी जिल्लामा करीब बाह्र हजार सङ्गठित सदस्य रहेको अनुमान छ।

नेकपाले २०७७ साल वैशाख र जेठ मसान्तसम्ममा घरदैलो, पदयात्रा, टोल भेला र टोलसभा गर्नेछ। जेठ महिनाको तेस्रो सातामा स्थानीय तहस्तरमा ¥यालीसहित जनसभा गर्ने तथा अन्तिम सातामा जिल्लास्तरको ¥यालीसहितको जनसभा गर्ने सचिव पासीले बताए। अभियानका क्रममा पार्टी, पार्टी एकता, पार्टी नेतृत्व र नेकपाको सरकारलाई कमजोर बनाउन भएका सबै प्रकारका गतिविधि र षड्यन्त्रको प्रतिवाद गर्ने नेकपाले योजना बनाएको छ। अभियानका विषयमा सूचना अभिलेख र प्रवाह गर्न जिल्ला कार्यालय सदस्य अगवीर विक अडिगको संयोजकत्वमा जिल्ला सूचना डेस्क पनि स्थापना गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .