पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई बिहीबार (मंसिर २० गते) नै पदाधिकारी बनाउने तयारीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखे।
खुमलटारस्थित प्रचण्ड निवासमा बसेको त्यो बैठकको एजेन्डामा पदाधिकारी थप गर्ने पनि थियो।
बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पनि सहभागी थिए। तर उनले कुनै धारणा राखेनन्। उनी पार्टीको औपचारिक निर्णयको प्रतीक्षामा थिए।तर बैठक पदाधिकारी थप्ने एजेन्डामा प्रवेश गर्न सकेन।
किन त?
उक्त बैठकमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा उपस्थित नभएकाले पदाधिकारी थप गर्ने निर्णय हुन नसकेको नेताहरू बताउँछन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि मुलुकबाहिर छन्। उनी बुधबार चीन गएका छन्।
बिहीबारको पदाधिकारी बैठक भने नन्दकिशोर र अमिकलाई फेरि राजनीतिमा फर्काउनकै लागि प्रचण्डले राखेका थिए। उनीहरूलाई पार्टी पदाधिकारीमा थप्ने निर्णय गरी यसलाई स्थायी र केन्द्रीय समितिबाट अनुमोदन गराउने उनको योजना थियो।
तर, पार्टीमा प्रभावशाली पकड जमाइरहेका पुन र शर्मा नै नभएपछि त्यसबारे कुनै निर्णय नभएको एक पदाधिकारीले जानकारी दिए।
नन्दकिशोरलाई उपाध्यक्ष बनाउन माओवादी केन्द्रभित्र लगभग समझदारी जुटिसकेको छ। तर वरीयताबारे टुंगो लागिसकेको छैन।
प्रतिनिध सभाको सभामुख भइसकेर पनि सक्रिय पार्टी राजनीतिमा फर्किएका अग्नि सापकोटा माओवादी केन्द्रमा तेस्रो वरीयताको उपाध्यक्ष छन्।
अब उपराष्ट्रपति भइसकेका नन्दकिशोरलाई पार्टीमा फर्काउँदा के गर्ने भन्ने निर्णय लिनकै लागि बिहीबार माओवादीको पदाधिकारी बैठक बसेको थियो।
माओवादी नेताहरूका अनुसार अध्यक्ष प्रचण्ड बिहीबारकै पदाधिकारी बैठकबाट पुन र शेरचन दुवैको जिम्मेवारी तोक्न चाहन्थे।
‘हिजो (बिहीबार) कै बैठकमा पासाङको जिम्मेवारीलाई ‘औपचारिकता दिने’ र अमिक शेरचनको कार्यविभाजनको निर्णय गराउने एजेन्डा थियो’, माओवादीका एक नेताले नेपालखबरसँग भने, ‘तर, उपमहासचिव ‘जनार्दनजी र वर्षमानजी उपचुनावका लागि गृहजिल्लामा भएकाले बैठकमा उपस्थित हुन सक्नुभएन, त्यही भएर पासाङजी र अमिकजीको जिम्मेवारी बाँडफाँटको निर्णय भएन।’
माओवादी पार्टीले भने २१ जना पदाधिकारी उपस्थित हुन नसकेको भन्दै बिहीबारको पदाधिकारी बैठकलाई ‘अनौपचारिक’ भनेको छ।
सचिव दिनानाथ शर्माले पनि बिहीबारको पदाधिकारी बैठकले दुवैको जिम्मेवारी तोक्न नसकेको बताए।
‘पासाङजी बैठकमा सहभागी हुनुभएको थियो तर, उहाँहरूको जिम्मेवारीबारे हिजो कुनै निर्णय भएन’, शर्माले नेपालखबरसँग भने।
बिहीबारको पदाधिकारी बैठकमा वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएका भए निर्णय हुन सक्ने सम्भावना उच्च रहेको नेताहरू स्वीकार गर्छन्।
यो कुरा किन पनि पुष्टि हुन्छ भने ‘अनौपचारिक’ भनिएको त्यो बैठकले अन्य विभिन्न निर्णय भने गरेको छ।
पूर्वडेपुटी कमान्डर
जनयुद्धका बेला माओवादीले गठन गरेको जनमुक्ति सेनाका डेपुटी कमान्डर थिए- जनार्दन, वर्षमान, नन्दकिशोर र चक्रपााणी खनाल बलदेव।
अन्तिमसम्म जनमुक्ति सेनाको प्रत्यक्ष फौजी नेतृत्व भने नन्दकिशोर पुनले गरेका थिए। उनी जनमुक्ति सेनाको पहिलो उच्च तहमा पुग्ने कमान्डर थिए।
शर्मा, पुन र खनाल भने पार्टीकै राजनीतिमा बढी केन्द्रित भए। हाल शर्मा र पुन उपमहासचिव छन् भने खनाल सचिव।
मुख्यगरी पार्टीमा बलियो पकड शर्मा र पुनले जमाइरहेको नेताहरू बताउँछन्।
तर, नन्दकिशोर उपराष्ट्रपति भएका कारण ७ वर्ष राजनीतिमा निष्क्रिय रहे।
अब बस्ने स्थायी समिति बैठकले नन्दकिशोर र अमिकलाई पदाधिकारी बनाउने निर्णय गर्ने माओवादी नेताहरूको दाबी छ।
पदाधिकारी बैठकले गरेका निर्णय
बिहीबार बसेको माओवादीको पदाधिकारी बैठकले स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक राख्ने मिति तोकेको छ।
जसअनुसार यही मंसिर २७ र २८ गते पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी समिति र आगामी पुस २ देखि ७ सम्म केन्द्रीय समिति बैठक राखिने सचिव शर्माले जानकारी दिएका छन्।
यस्तै उक्त बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी तयारी थाल्न पालिका अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।
यही मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनको समीक्षा गर्दै माओवादी पदाधिकारी बैठकले पार्टी एकढिक्का भएर खटिनुपर्ने निष्कर्ष निकालेको छ।
त्यसका लागि विभिन्न घटकमा छरिएका माओवादी पार्टीबीच एकतामा जोड दिने निर्णय भएको जानकारी सचिव शर्माले दिए।
यस्तै पदाधिकारी बैठकले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र पुन: सञ्चालन अहिले नगर्ने निर्णय पनि गरेको छ।
‘विद्यार्थीको २४ गते सुचारु गर्ने भनिएको बन्दसत्र तत्कालका लागि स्थगित गरिएको छ,’ सचिव शर्माले भने, ‘ तत्कालीन निर्वाचन कमिटी, अध्यक्षमण्डल, पूर्व अध्यक्ष बसेर प्रतिनिधि चयनमा देखिएको विवाद समाधान गर्ने अनि नयाँ मिति तोक्ने निर्णय भएको छ।’
Shares

प्रतिक्रिया