प्रदेश २ को नामाकरण मतदानबाट टुंग्याउन नसकेको प्रदेश सभाले स्थायी राजधानीको टुंगो लगाउने गरी मतदानको तयारी थालेको छ।
प्रदेश राजधानीका लागि तीनवटा प्रस्ताव पेश गरिएको छ।
ती प्रस्तावहरु मध्ये सांसदहरु सत्यनारायण मण्डल, रामसरोज यादव र परमेश्वर यादवले प्रदेशको राजधानी जनकपुरधानमा प्रस्तावित गरेका छन्। जसको सीमा मिथिला माध्यमिक परिक्रमा, ढल्केवर पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजासम्म रहेको छ। यो प्रस्तावलाई परमेश्वर शाहले पेश गर्नेछन्।
अर्को प्रस्तावमा सांसद सिंगासन साह कलवारले प्रदेश राजधानी विरगंज (विन्दावासिनी, पोखरिया, सखुअवा, पर्सागढी, जितपुर, निजगढ हुँदै सिम्रौनगढ) तोक्ने प्रस्तावित गरिएको छ।
त्यस्तै, तेस्रो प्रस्तावमा सांसद राजेश्वर प्रसाद साहले प्रदेशको राजधानी विरगंज महानगरपालिका तोक्ने प्रस्ताव पेश गरेका छन्।
नाम र राजधानीको टुंगो लगाउन छलफलको लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित समितिमा जनकपुरलाई स्थायी राजधानी कायम गर्न सबै दलबीच सहमति भएको थियो। सोही सहमतिअनुसार नै प्रस्ताव पेश गरिएको हो।
मंगलबार साँझ अबेरसम्म प्रदेशको नामाकरणका लागि चारवटा प्रस्तावमा मतदान भएपनि कुनैमा पनि दुई तिहाई बहुमत नपुगेका कारण नामाकरण हुन सकेको थिएन। नामाकरणबारे अब नयाँ प्रक्रिया सुरू गरिनेछ।
तर, दलहरुबीचको सहमतिअनुसार नै प्रदेश राजधानीका लागि हुन लागेको मतदानमा राजधानीको भने टुंगो लाग्ने विश्वास गरिएको छ।
राजधानी ताेक्नका लागि प्रदेश सभामा मतदान सुरू भइसकेकाे छ।
Shares

प्रतिक्रिया