सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विराजभक्त श्रेष्ठलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। हाल उनी रास्वपा दलको उपनेता छन्।
संसद् सचिवालयले सभापति रवि लामिछानेको सांसद पद गुमेको पत्र सोमबार साँझ टाँस गरेको छ।
सांसदबाट निलम्बन भएसँगै उनी पार्टी सभापति र दलको नेता समेत रहने छैनन्। रास्वपाका एक पदाधिकारीले नेपालखबरलाई बताएअनुसार श्रेष्ठलाई नै दलको नेता बनाउने वचन रविले दिइसकेका छन्।
सोमबार रास्वपाले सचिवालय बैठकमा कानुनविद्सँग पनि बैठक गरेको थियो। उनीहरूले कानुन, नियम र संसदीय विधि विधान अनुसार चल्न सुझाव दिएका छन्।
‘उहाँ अहिले दलको उपनेता पनि हो, संसदीय विधि र पद्धतिका हिसाबले अहिलेसम्म विराजजीको भूमिका राम्रो रहेकोले दलको नेता बनाउन सभापतिजीले परामर्श पनि गर्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘यसमा कुनै फेरबदल नआए अहिलेसम्मको समझदारी यही हो।’
तर, यसको निर्णय केहीदिनपछि मात्र गर्ने सम्भावना छ।
‘केन्द्रीय समितिबाट यसको निर्णय हुन्छ,’ अर्का नेताले भने, ‘अब केही दिनमै सचिवालय र त्यसपछि केन्द्रीय समिति बैठक बस्छ।’
अर्काे, रविविरुद्धको मुद्दाबारे अदालतमा केहीदिन बहस हुनेछ। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेपछि मात्र यता दलको नेता बदल्ने निर्णय हुनसक्ने ती नेता बताउँछन्।
रास्वपा विधानमा पनि दलको नेताको अनुपस्थितिमा उपनेताले कार्य गर्ने उल्लेख गरिएको छ।
‘साथीहरूसँग छलफल भइसकेको छ, सभापतिज्यूले पनि विराजजीकै नाम लिनुभएको छ, यसमा तलमाथि नहोला,’ ती नेताले भने।
आइतबार सभापति एवं दलका नेता रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उनले कार्यावाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकेका छन्। सोमबार बसेको सचिवालयको जुम बैठकले त्यसलाई अनुमोदन गरिसकेको छ।
‘उपसभापति दुईजना भएकोले यसको निर्णय गर्न केही समय लाग्यो, तर संसदीय दलका नेताको अनुपस्थितिमा उपनेताले सो जिम्मेवारी पूरा गर्ने भएकाले यसमा तलमाथि नहोला,’ ती पदाधिकारीले थपे।
कार्यवाहक सभापति तोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी गतिविधिलाई तीव्रता दिने नेताहरूले बताएका छन्।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन आरोपमा पक्राउ परेपछि रास्वपाको पार्टी गतिविधि ठप्प भएको छ।
कात्तिक २ गते रविलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेर कास्की लगेको थियो। त्यसयता उनलाई पोखरा, बुटवल, काठमाडौं, चितवन र पर्सा लगायत पुर्याइएर बयान लिएको थियो।
रविको अनुपस्थितिमा पार्टी गतिविधिले गति लिन नसकेको नेताहरू नै स्वीकार गर्छन्। मंसिर १६ गतेको उपचुनावमा पनि प्रभावशाली रुपमा नेताहरूले प्रचार–प्रसार गर्न सकेनन्।
रास्वपामा दुईजना उपसभापति छन्– डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल। कसको नेतृत्वमा जाने भन्ने निर्णय गर्न नसक्दा पार्टी गतिविधि अघि बढ्न नसकेको नेताहरू बताउँछन्।
सोमबार अर्यालले औपचारिक रुपमा कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि पार्टी गतिविधि अघि बढ्ने ती नेताले बताए।
‘आजबाट (कार्यबाहक सभापति तोकेपछि) पार्टीभित्र सचिवालय बैठक र केन्द्रीय समिति बैठकलाई निरन्तरता दिएर जाने बाटो खुलेको छ। अब हरेक निर्णय छलफलबाट हुन्छ,’ उनले भने, ‘अब हामी केही दिनमै भर्चुअल रुपमा केन्द्रीय समितिको बैठक बस्छौँ, त्यसपछि भौतिक रुपमै सचिवालय बैठक बस्छ र फेरि भौतिक रुपमा केन्द्रीय समिति बैठक बसेर हरेक निर्णय गर्छाैँ।
Shares

प्रतिक्रिया