नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेरको हदबन्दी तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्णय गर्न आज (पुस १३ गते) देशभर मतदान भइरहेको छ।
संगठनकी निवर्तमान अध्यक्ष पञ्चा सिंहका अनुसार संगठनात्मक संरचनाअनुसार भौगोलिक र गैरभौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा उमेरहद ३२ लगाउने वा खुला गर्नेबारे मतदान भइरहेको हो।
उनले अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपटक विधानउपर मतदान भइरहेको बताएकी छन्।
उनले भनेकी छन्, ‘लोकतन्त्रको हिमायती संगठनमा पूर्ण लोकतान्त्रिक अभ्यास स्वाभाविक र महत्त्वपूर्ण छ।’
बिहान १० बजे सुरु मतदान अपराह्न ४ बजेसम्म चल्ने संगठनले जनाएको छ।
उमेर हदको टुंगो लागेपछि यही पुस १७ गते केन्द्रीय नेतृत्व चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरमा मतदान हुनेछ।
गत असोज १० देखि १५ गतेसम्म भएको अखिल क्रान्तिकारीको सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि बन्द सत्र स्थगन भएको थियो।
अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतले दाबी गरेका छन्।
तर ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।
Shares

प्रतिक्रिया