राजनीति


ओली सरकारबारे प्रचण्ड- पाँचै वर्ष टिकोस् भनेर पूजा गरेर हिँड्ने कुरा भएन

ओली सरकारबारे प्रचण्ड- पाँचै वर्ष टिकोस् भनेर पूजा गरेर हिँड्ने कुरा भएन

नेपालखबर
पुस १८, २०८१ बिहिबार १८:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी र संगठन निर्माणमै खटिने बताएका छन्।

बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थिति र कांग्रेस–एमाले गठबन्धनबारे बोल्दै माओवादी अध्यक्ष प्रचण्डले सरकार गिराउन नहिँड्ने तर आफ्नै कारणले ढले धेरै चासो नदिने भनाइ राखेका हुन्। 

बिहीबार बसेको स्थायी समिति बैठकमा बोल्दै उनले पार्टी पुनःनिर्माणमै केन्द्रित हुन सबैलाई निर्देशन दिए।

‘सरकार फेर्ने, बदल्ने भनेर हिँड्ने हाम्रो एजेन्डा होइन, संगठन निर्माण गर्ने अवसर हो,’ बैठकमा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने, ‘उनीहरूको कारण सरकार गिर्ने, भत्किने भयो भने त्यो आफ्नो ठाउँमा छ।’

अहिले आफ्नो चिन्ता संगठन र पार्टी निर्माणमा रहेको भन्दै उनले पार्टी पुनर्निाणको अभियानलाई प्रभावकारी बनाउने बताए। 

‘सरकार पाँचै वर्ष टिकोस् भनेर पूजा गरेर हिँड्ने कुरा पनि भएन। तर, अहिले हामीले सरकारको बारेमा केही सोचेका छैनौँ। सरकार बनाउन हिँड्ने, यताउता गर्ने हामीलाई फुर्सद पनि छैन। त्यो काम पनि होइन,’ प्रचण्डको भनाइ छ, ‘सरकार आफ्नो किसिमले जान्छ जाओस्, आफ्नो किसिमले जाँदा जहाँजहाँ जान्छ, भड्खालामा परे नि परोस्! यो उम्रेर अगाडि आए पनि आओस्।’

बैठकमा एक घण्टासम्म बोलेका प्रचण्डले केन्द्रीय समितिका एजेन्डा प्रस्ताव गरेका छन्।

उनले केन्द्रीय समिति बैठकको लागि राजनीतिक प्रतिवेदन लेख्ने काम गरिरहेको र पर्सिसम्म सक्ने पनि बताए।

उनले प्रतिवेदनको सारांश मौखिक रूपमा सुनाएका थिए।

‘अहिलेको विश्व परिस्थिति जसरी आइरहेको छ, त्यसले हाम्रो देशमा पनि असर पारेको छ,’ प्रचण्डले सुनाएको निचोड उल्लेख गर्दै ती नेताले भने, ‘यस्तो अवस्थामा असंलग्न परराष्ट्र नीतिलाई अँगालेर जानुको विकल्प छैन। हामी ठूला अर्थतन्त्र भएका दुई देश चीन र भारतबीचमा छौँ। हामी संवेदनशील ठाउँमा छौँ। त्यसैले पनि हामीले असंलग्न परराष्ट्र नीतिलाई मुख्य आधार बनाएर अगाडि जानुपर्ने, मैले सोचेको छु।प्रतिवेदनमा त्यही रूपमा आउँछ भन्ने कुरा गर्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad