प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन्।
आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसद्मार्फत नै सरकारले विधेयक अगाडि नबढाए बिरोध गर्ने बताए। ‘संसद्लाई यसरी छल्ने कुरा सरकारका लागि बेठिक छ,’ उनले भने, ‘हामीले यसको विरोध गरेका छौं। यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन। छिटो संसद् चलाउनुपर्छ। संसद्मा हामी जनताका कुराहरुलाई उठाउँछौं।’
अध्यादेशमार्फत ल्याइएका विधेयकहरु जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने भन्दै पाण्डेले संसद्को हिउँदे अधिवेशन छिटो बोलाउन माग समेत गरे।
‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन्, अनि हामी निरन्तर समितिहरुमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं,’ उनको धारणा छ, ‘तर सरकार जसरी अध्यादेश ल्याइरहेको छ, यो बेठिक छ। यसले ठिक ढंगले जनताका आवाजहरुको सम्बोधन गर्न सक्दैन। त्यसकारणले छिटोभन्दा छिटो संसद् बोलाउनुपर्छ। संसद्मै बसेर सरकारले विधेयकहरु अगाडि बढाउनुपर्छ।’
माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया