सुप्रिम सहकारी ठगी अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा हाजिर भएका छन्।
लामिछानेको बयान जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा हुने प्रक्रिया अघि बढेको अदालतका स्रेस्तेदार तथा उपसचिव यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
‘उहाँको बयान पक्रिया अघि बढिसकेको छ’, उनले नेपालखबरसँग भने, ‘उहाँको बयान ५ नम्बर इजलासमा तोकिएको छ।’
बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौँबाट विमानमार्फत हिजै (मंगलबार) रुपन्देहीको भैरहवा पुगेका थिए।
आज (बुधबार) बिहान लामिछाने १० नबज्दै रुपन्देही जिल्ला अदालतमा उपस्थित भएको स्रेस्तेदार ज्ञवालीले बताए।
‘उहाँ बिहान १० बज्न १५ मिनेट बाँकी छँदा अदालत आइसक्नुभएको थियो’, उनले भने।
सुप्रिम सहकारी ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भएको हो।
तर अभियोग अदालतमा पेस गर्दा एकजना पनि प्रतिवादी साथमा थिएनन्। पूरक अभियोगमा प्रतिवादी बनाइएकामध्ये रवि नै अदालतमा उपस्थित हुने पहिलो अभियुक्त हुन्।
पूरक अभियोगमा कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी बनाइएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अभियोगमा यीमध्ये २० जना फरार रहेको उल्लेख गरेको छ। दुईजना मात्रै फरारको सूचीमा छैनन्। कुमार रम्तेल र शिवबहादुर गुरुङ कास्की कारागारमा रहेको उल्लेख छ।
अदालतले खोज्ने छ रविसँग १३ करोड हिनामिनाको जवाफ
पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूबाट सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) बमोजिम सहकारी संस्थालाई बिगो भराई पाउन माग गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम प्रतिवादीहरूको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न पनि आदेश माग गरिएको छ।
हरेक प्रतिवादीको कहाँकहाँ संलग्नता देखिएको छ भन्ने पनि अभियोगमा खुलाइएको छ। रवि लामिछाने यसमध्ये १३ करोड रुपैयाँको हिनामिनामा संलग्न रहेको अभियोग छ। यसमध्ये ४ करोडभन्दा बढी रविको भागमा बिगो कायम हुनेछ।
उनले गोर्खा मिडिया नेटवर्कमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाटै भुक्तानी भएको पाइएको छ। सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा रवि लामिछानेका नाममा रकम जम्मा भएको सहकारी संस्थाको लेखा हिसाब राख्ने जीसीएस बैंकिङ सफ्टवेयर प्रणाली, डे बुक तथा आन्तरिक भौचर र ऋण सम्बन्धी आन्तरिक पत्र समेतबाट खुलेको अभियोग छ।
लामिछाने समेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न मितिमा गरी कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेर हिनामिना गरेको आरोप छ। उक्त रकम सहकारी संस्थालाई फिर्ता गरेको नदेखिएको अभियोगमा भनिएको छ।
रविले सहकारी संस्थामा रकम तिर्न पर्ने थिएन भनेर बयान दिए पनि उनकै दस्तखतबाट सञ्चालन हुने गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको चेक मार्फत २०७८ पुस २२ गते ४० लाख ९२ हजार रुपैयाँ सहकारीका नाममा जारी गरेको प्रमाण प्रहरीले फेला पारेको थियो।
सहप्रतिवादी कुमार रम्तेलले बयान गर्दा गोर्खा मिडिया नेटवर्कमा रकम लैजाने मानिस र रवि लामिछानेको नाममा रकम लैजाने व्यक्ति एकै हुन् भनी पोल खोलेका छन्।
रविले सहकारी संस्थाबाट रकम जम्मा भएको भौचरमा रकम जम्मा गर्ने व्यक्ति रवि लामिछाने र रोशनी गुरुङ उल्लेख छ।
रोशनीले मूल अभियोग पत्रको बयानमा रवि लामिछानेको नाम राखेको भनी लेखाएको, गोर्खा मिडिया नेटवर्कमा २०७८ वैशाख ५ गते ग्लोबल आईएमईआई बैंकको भौचरमा एक करोड जम्मा भएको बैंक स्टेटमेन्टबाट देखिने उल्लेख छ।
यसअघि प्रहरी र सरकारी वकिलसमक्ष बयान गर्दा आफ्नो संलग्नता इन्कार गरेका रविले बुधबार अदालतमा पनि यी प्रश्नको सामना गर्नुपर्नेछ।
यसअघि रविको बयान र प्रहरीले फेला पारेका प्रमाण
उनीसँग बयान लिँदा अनुसन्धान अधिकारीहरूले केवाईसी फाराम र दस्तखत समेत देखाएका थिए। त्यसक्रममा भने रविले आफ्नै दस्तखत भएको स्वीकार गरेका थिए।
केवाईसी फाराम भर्दा र दस्तखत गर्दा लामिछाने गोर्खा मिडियामा सक्रिय भइसकेका थिएनन्। उनले बयानका क्रममा पनि यो स्वीकार गरेका छन्।
‘त्यस समयमा म उक्त कम्पनीमा सक्रिय भइसकेको थिइनँ। तर सहमति र सम्झौताले प्रतिबद्ध भइसकेको थिएँ। टेलिभिजन सञ्चालन प्रयोजनार्थ र समझदारी बमोजिम म न्युज २४ टीभी छाडी सहकार्य गर्न आउने कुराको सुनिश्चितता र त्यसको प्रतिबद्धता स्वरुप यो खाता गोर्खा मिडिया नेटवर्क प्रालि सञ्चालनको प्रयोजनार्थ खोलिएको हुनुपर्छ। सम्बन्धित बैंकसँग भेरिफाइ गरेर सवालमा राखिएको हो भने देखिएको हस्ताक्षर र तस्बिर मेरो हो,’ उनले बयानमा स्वीकार गरेका छन्।
अभियोगमा उनको बयानसँगै उनीसँग सम्बन्धित चेकहरू र फोटोसहितको केवाईसी फारम पनि राखिएको छ।
यो पनि :
Shares

प्रतिक्रिया