नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाटै निस्काशन र नेताहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई निलम्बन गर्नुपर्नाका कारणबारे स्पष्ट पारकोे छ।
एमालेको गत पुस तेस्रो साता (२१–२३)मा बसेको आठौं केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी गराउन अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा यसबारे प्रष्ट पारिएको हो।
समानान्तर प्रकृतिका गतिविधिहरू गरेको र स्पष्टीकरणपछि पनि त्यस्ता गतिविधि नरोको भन्दै रावलाई पार्टीबाटै निस्काशन गर्नुपरेको एमालेको तर्क छ।
‘पूर्वउपाध्यक्ष भीम रावल पार्टीको दसौं राष्ट्रिय महाधिवेशनयता पार्टीको नीति र निर्णयका खिलाफमा सार्वजनिक रूपमा नै प्रस्तुत हुँदै आउनुभएको र पार्टीको विधि र पद्दतिविपरीतका अस्वस्थ गतिविधि गर्दै आउनुभएको सर्वविदितै छ,’ अपानीमा भनिएको छ, ‘पार्टीले उक्त गतिविधिका कारणले सीर्जित समस्या समाधानका लागि संस्थागत पहल गरेको थियो। तर पार्टीले लिएको संस्थागत पहलकदमीलाई सहयोग गर्नुको साटो पार्टी नीति र नेतृत्वप्रति नै अनास्था र अविश्वास पैदा गर्ने, संस्थागत प्रक्रियालाई तोडेर समानान्तर प्रकृतिका गतिविधिहरू समेत गर्न थालेपछि पार्टीको केन्द्रीय सचिवालयले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। एक साताको समय दिएर सोधिएको स्पष्टीकरणको जवाफसमेत नदिई उल्टै पार्टीको विपक्षमा निरन्तर अभिव्यक्ति दिँदै आउनु भएकोले सचिवालयको ४२औं बैठकबाट पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय भएको छ।’
त्यस्तै पाण्डे र तिम्सिनालाई निलम्बन गर्नुपर्नाका कारणबारे पनि अपानीमा व्याख्या गरिएकोछ। संस्थागत निर्णयको खिलापमा पार्टीलाई नकारात्मक असर पुग्ने अभिव्यक्ति दिएको आरोप एमालेको छ। ‘पार्टीको संस्थागत निर्णयको खिलापमा पार्टीलाई नकारात्मक असर पुग्ने अभिव्यक्ति दिएका कारणले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधिएको थियो,’ भनिएको छ, ‘उहाँहरू दुवैजनाबाट प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नरहेकोले सचिवालयको ४२औं बैठकले पद एवं जिम्मेवारीबाट ६/६ महिना निलम्बन गर्ने र पार्टी निर्देशनमा चल्न निर्देशन दिने निर्णय भएको छ।’
हेर्नुहोस् अपानी
Shares

प्रतिक्रिया